खसीबोका किन्ने भो सरकारले
Posted by
purwanews
Published on
Sunday, September 4, 2011
मागभन्दा आपूर्ती कम हुँदा खसीबोकाको मूल्य अत्याधिक बढ्ने र उपभोक्ताहरु समस्यामा पर्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल सरकारले दशैंको अवसरमा खसीबोका किनेर बेच्ने भएको छ ।यसपालि दसैंमा खसीबोका नकिन्ने योजनामा रहेको खाद्य संस्थानले तालुक मन्त्रालय वाणिज्य तथा आपूर्तिको निर्देशनपछि किन्ने तयारी सुरु गरेको छ।
संस्थानले कम्तीमा ३ देखि बढीमा ४ हजारसम्म खसीबोका किन्ने तयारी गरेको हो। खसीबोका किन्न संस्थानले तराई क्षेत्रमा रहेका शाखा परिचालन गर्ने तयारी गरिसकेको छ। हामीले खसीबोका नल्याउने हो भने उपभोक्ता महँगीमा पर्ने भएकाले ल्याउनैपर्ने अवस्था छ, संस्थानका महाप्रबन्धक हरिनारायण साहले भने। संस्थानले ३ हजार खसीबोका ल्याउँदा काठमाडौंमा बिक्री हुने ५० हजार खसीबोकाको मूल्यलाई प्रभावित पार्ने उनले बताए।
संस्थान सञ्चालक समितिका सदस्यले खसीबोकाका विषयमा वर्षेनी विवाद आउने गरेकाले यो वर्षदेखि कारोबारै नगर्ने तयारी गरेका थिए। यो विषयलाई एकपल्ट बोर्ड बैठकबाट फिर्ता पनि गरिएको थियो। गत वर्ष किनेको ३ हजार ८ सय खसीबोकामध्ये २ सय ५० वटा मरेपछि यसपालि विवादमा नपर्न संस्थान सञ्चालक समितिका सदस्यबीच नकिन्ने सहमति भएको थियो।
सञ्चालक समितिका सदस्यको अडानविपरीत वाणिज्य मन्त्रालयले दसैंका लागि जसरी भए पनि किन्न निर्देशन दिएकाले संस्थान अगाडि बढेको हो। बोर्ड बैठकले किन्ने निर्णय अझै गरेको छैन, तर सबै सदस्यबीच किनौं भन्ने सहमति चाहीँ भएको छ, महाप्रबन्धक साहले शनिबार नागरिकसँग भने।
मन्त्रालयले जनतालाई तत्काल राहत दिन सुरु गर्न शुक्रबार प्रधानमन्त्री कार्यालयमा पठाएको कार्यक्रममा खसीबोका ल्याएर बिक्री गर्ने उल्लेख छैन। मन्त्रालयले उपभोक्तालाई राहत दिन आठ बुँदे कार्यक्रम बनाएर शुक्रबार प्रधानमन्त्री कार्यालयमा पठाएको थियो।
संस्थानलाई हामीले विगत वर्षजस्तै खसीबोका ल्याएर जनतालाई राहत दिन निर्देशन दिइसकेका छौं, मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले भने।
गत वर्ष दसैंमा ल्याइएकामध्ये २ सय ५० खसीबोका मरेपछि संस्थानलाई ३६ लाख रुपैयाँ घाटा लागेको थियो। यसैलाई आधार मानेर संस्थानका बोर्ड सदस्यहरूले यो वर्ष नकिन्ने सहमति गरेका थिए। मन्त्रालयले ुजसरी भए पनि ल्याउनु निर्देशन दिएको छ।
गत वर्ष मरेको भनिएका खसीबोकाका विषयमा अनियमितताको शंका गरिएको थियो। राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस विषयमा परेको उजुरी फछर्यौट भएको छैन। सतर्कताले मरेका खसीबोका पुरेको भनिएको ठाउँमा डोजर लगाएर खोतले पनि वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
त्यति ठूलो संख्यामा खसीबोका नमरेको र माथिल्ला तहका अधिकारीले अनियमितता गरेको संस्थानका कर्मचारीबीच चर्चा छ।
संस्थानले यसपटक स्वस्थ खसीबोका मात्र किन्ने तयारी गरेको छ। गत वर्षजस्तो मर्न नदिन यसपालि पशु चिकित्सकबाट जाँच गरेर स्वस्थमात्र किन्ने तयारी गरिरहेका छौं, महाप्रबन्धक साहले भने। यस पटक तराईका विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने तयारीमा संस्थान छ। nagariknews
प्रतिक्रिया दिनुहोस् >>
