गृहमन्त्रीको छड्के


हनुमानढोकास्थित काठमाडौं प्रहरी कार्यालयअघि बिहीबार झन्डावाल गाडी रोकियो । मुख्य गेटमा बसेका प्रहरी अचम्म परे । अरू समयमा झन्डावाल गाडी आउँदा ढोका खोलेर गाडी पठाइने गरिन्थ्यो, कार्यालयका प्रमुख मन्त्रीको स्वागतमा आतुर हुन्थे ।
तर, मन्त्री पहिलो पटक गेटबाहिरबाट हिंडेर भित्र पसे । प्रमुखको कार्यकक्षमा नगई थुनुवा कक्षतिर गए । उनी कार्यवाहक प्रधामन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार थिए । 'थुनुवाको व्यवस्थापन कसरी हुन्छ ?' उनले सोधे ।  उत्तर दिने कोही भएन । थुनुवा कक्षको गेटमा रहेका प्रहरी कर्मचारी अत्तालिए । कसैले थाहा नपाई त्यहाँ पुगेका उनले प्रश्न दोहोर्‍याए ।
बल्ल काठमाडौं परिसरका एसपी केदार रिजाल हाजिर भए । 'सर पक्राउ गरेर ल्याएपछि अनुसन्धानमा रहेका व्यक्तिलाई अदालत र सिडिओ कार्यालयबाट म्याद थपेर राख्ने गछौर्ं ।'
थुनुवा कक्षका सईले ढोका खोलिदिएपछि उनी भित्र छिरे ।
म्याद थप्न र बयान गराउन सरकारी वकिल कार्यालय पुर्‍याउन लागिएका झन्डै १५ थुनुवा लाइनमा खडा थिए । गृहमन्त्री गच्छदारले खडा भएमध्येका एकलाई सोधे, 'किन पक्रेर ल्याएको ?' थुनुवा ईश्वर गुरुङ बोले- 'म रेस्टुरेन्टमा काम गर्ने व्यक्ति हुँ हिजो त्यहाँ झगडा पर्दा मलाई समातेर ल्याइयो । त्यहाँ झगडा गर्ने ३ जनालाई त्यसै छाडियो ।'
गृहमन्त्री नाक बन्द गर्दै दुर्गन्धित थुनुवा कक्षभित्र पसे । सबै थुनुवा कोठामा पुगेर प्रहरीको व्यवहारका बारेमा सोधेका थिए । महिला नै महिला भएको थुनुवा कक्षमा पुगेका उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेकी विष्णुमाया लामाले आफूलाई प्रहरीले दुःख दिएको बताइन् ।
१६ दिनदेखि थुनामा रहेकी उनले आफ्नो नाममा रहेको सिम हराएको र त्यही हराएको सिमबाट कसैलाई धम्की गएको भन्दै प्रहरीले पक्राउ गरेको बताइन् । 'मैले प्रयोग गरेको सिम हराएको हो, अब त्यो सिम कसले भेटेर चलायो थाहा छैन, प्रहरीले अपहरणमा प्रयोग भएको भन्दै मेरो श्रीमान्सहित मलाई राखेको छ ।'
त्यस विषयमा गम्भीर देखिएका उनले प्रहरीलाई दोहोर्‍याएर जिज्ञासा राखे । 'यिनको सिमबाट फोन गएको व्यक्ति भेटियो त ?' गृहमन्त्री गच्छदारले एसपी रिजाललाई सोधे । एसपीले अनुसन्धान जारी रहेको
बताए । 'तपाईंहरूले अनुसन्धानका लागि १७/१८ दिन थुनामा राखेपछि त्यो व्यक्ति निर्दोष देखियो भने के हुन्छ ?' मन्त्रीको जिज्ञासा थियो । परिसरका मुद्दा फाँटका डीएसपी अरुण बीसीले उत्तर दिए, 'त्यसमा प्रहरीलाई पनि कारबाही हुन्छ तर बिनासबुत र आधार हामीले पक्राउ गरेका छैनौं ।'
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले सार्वजानिक मुद्दा सानो सानो अपराधमा मात्र लाग्ने भन्दै त्यसलाई चाँडै रिहा गर्न भने । थुनुवाले प्रयोग गर्ने शौचालय कम भएको समेत उनले बताए । '३ सय जनालाई शौचालय कम भयो, थुनुवाको पनि न्यूनतम् अधिकारलाई ध्यान दिनुपर्छ, यस्तो ठाउँमा राखेपछि मानसिक यातना त हुने नै भो ।'
दैनिक २ सय ५० देखि ३ सय थुनुवा राखिने हनुमानढोका परिसरमा ५ वटा शौचालय छन् । उनले त्यसपछि त्यही भवनमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको समेत निरीक्षण गरेका थिए । त्यहाँ उसले कामका बारेमा महाशाखा प्रमुख एसएसपी हेमन्त मल्लले जानकारी गराएका थिए ।
अपराध महाशाखा निरीक्षणका क्रममा गृहमन्त्री आएको सूचना पाएका महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी कुवेरसिंह राना आइपुगेका थिए । गृहमन्त्रीले एकै भवनमा रहेका दुई कार्यालयको निरीक्षणपछि प्रहरीले मुद्दा अदालतमा बुझाउन ढिलाइ गरेको बताएका
थिए । 'निर्दोषलाई राखेर थुन्नु ठीक होइन, प्रहरीले पक्रेपछि सामान्य व्यक्ति अपराधी बन्छ, त्यस्तो स्थिति आउन दिनुहुँदैन,' उनले भने 'सार्वजनिक मुद्दा चाँडै बुझाउँदा भार कम हुन्छ ।'
प्रहरीलाई सार्वजनिक अपराध ऐनमा अनुसन्धानका लागि २४ दिनसम्म थुनामा राख्ने अधिकार छ । उनले काठमाडौंभरिका मुद्दा जिल्लाले नै हेर्ने गरेकाले चाप बढी भएको बताएका थिए । तर काठमाडांै प्रहरी मातहतमा डीएसपी कार्यालय प्रमुख रहेका ५ वृत्तले मुद्दा आपै+m हेर्छन् । त्यहाँबाट हिंडेका गच्छदार सोझै राजधानी भित्रिने मुख्य नाका नागढुंगा पुगेका थिए । उनले त्यहाँका प्रहरीलाई सवारी चेकिङका बारेमा सोधेका थिए । आश्विन ६, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :