घुमुवा कारवाही पछि समातिए भीमसिंह

प्रहरीलाई भुमीगत तथा आपराधिक संगठनसँग मिलेर चन्दा आतंक मच्चाएको र आपराधिक काम गरेको आरोप लाग्ने गरेको छ । प्रहरी संगठनहरु खुलेरै आरोपको न त समर्थन गर्न सक्छन् न त खण्डन नै । नजराना उठाउन खप्पिस घुमुवाहरुलाई पछिल्लो समयमा कारवाही गर्ने सरकारको निर्णयले व्यवशायी र सर्वसाधारण उत्साहित भइरहेकै बेलामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत् एक घुमुवा प्रहरीलाई कारवाही थालेपछि मात्र बम आतंक मच्चाउने गिरोहको नाइकेलाई पक्रन जिल्ला प्रहरी कार्यालय सुनसरी सफल भएको छ ।
घटनासँगै एकातिर प्रशासनको अपराधिहरुसँगको साँठगाँठ कतिसम्म छ भन्ने तथ्य उदांगिएको छ भने अर्कोतर्फ कारवाहीको शृंखला अपराधिबाट नभइ प्रहरीबाटै सुरु गर्नुपर्ने पाठ समेत सिकाएको छ ।
इनरुवालाई आधार बनाएर लामो समयदेखि बम आतंक मच्चाउँदै आएको आपराधिक गिरोहलाई पक्राउ गर्न सुनसरी प्रहरीले एक घुमुवा प्रहरीलाई कारवाहीको प्रक्रिया अघि बढाएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत् एक घुमुवालाई कारवाहीस्वरुप मोबाइल खोसिदिएर कडा निगरानीमा राखेपछि मात्र प्रहरीले जनतान्त्रिक तराई मधेसी मुक्ति पार्टीका जिल्ला इन्चार्ज भीमसिंह भनिने रामलाल मेहतालाई पक्राउ गर्न सफल भएको प्रहरी उच्च स्रोतले जनाएको छ । तथापी यस विषयमा प्रहरी कार्यालयले भने कुनै आधिकारीक कुरा बाहिर ल्याएको छैन ।
सुनसरी प्रहरीको विशेष टोलीले लामो समयको खोजी र अनुसन्धान पछि बुधबार दिउँसो मेहतालाई पक्राउ गर्न सफल भएको हो । विभिन्न स्थानमा बारम्बार बम भेटिइरहनु र बम राख्ने संगठनका कसैलाई पनि पक्राउ गर्न नसक्नुले सुनसरीका प्रहरी प्रमुख मानन्धर सरुवा हुने सम्भावना समेत बढ्दै गएको थियो ।
मेहतालाई खोज्न जब प्रहरी टोली कार्यालयबाहिर निस्कन्थ्यो, ती घुमुवाले फोनमार्फत् मेहतालाई जानकारी दिन्थे । फलस्वरुप सुराकीको सुराक समेत गलत सावित हुन्थ्यो र मेहता हातबाट उम्कन्थे । बारम्बारको प्रयासपछि पनि मेहता नसमातिएपछि प्रहरीभित्र पनि खैलाबैला भएको थियो । जिल्ला प्रहरी कार्यालय, शशस्त्र सुरक्षा बेस छेउछाउ नै बम राखिनु र बम राख्ने फेला नपर्नु प्रहरीको लागि समेत टाउको दुःखाइ बनिसकेको थियो ।
प्रहरी कार्यालय भित्र दही खाँदै भीमसिंह
सोलगत्तै प्रहरीले आफ्ना गोेप्य सुचना ती घुमुवा मार्फत् बाहिरीने थाहा पाइसकेपछि ती घुमुवालाइृ कडा निगरानीमा राखी मोबाइल समेत खोसिदिएको स्रोतले बताएको छ । कारवाही प्रक्रिया अघि बढाइसकेपछि र ती घुमुवालाई प्रहरीको अपरेशन टोलीबाट हटाइसकेपछि मात्र सुचना चुहिन पाएन । फलस्वरुप प्रहरीले बुधबार भीमसिंहलाई पक्रन सफलता पायो ।
सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरले कल डिटेलका आधारमा मेहतालाई पक्राउ गरिएको जानकारी दिए । फोन नेटवर्कको जाँच गर्दा कहिले भारत त कहिले नेपालका विभिन्न स्थानमा भेटिएका थिए । उनी घरमा रहेको मौका पारेर सुतिरहेको समयमा पक्राउ गरिएको मानन्धरले जनाएका छन् ।
मेहता जिल्ला इन्चार्ज रहेको संगठनले सुनसरीको इनरुवालाई केन्द्र बनाएर विभिन्न स्थानमा बम राखेर आतंक मच्चाएको थियो । इनरुवाको सुपरमार्केट, सरस्वती बोर्डिङ छेउ, सिम्याक्स फुड प्रालि लगायतका स्थानमा बम राखिएको थियो । प्रहरीले उनको गिरोहकै खोजी गरिरहेको छ ।
यता पक्राउ परेका मेहताले भने आफ्नो नाममा अरुले नै बम विष्फोट गराएको दावी गरेका छन् । आफू बिरामी रहेको जनाउँदै आफू निर्दोष रहेको समेत दावी गरेका छन् ।
असोज ५, पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :