मिस नेपाल बहस - अनुहार र बौद्धिकताको सवाल
Posted by
purwanews
Published on
Saturday, September 3, 2011
सुन्दरी प्रतियोगिता अनुहारको व्यापार मात्र रहेको आरोप लगाउँदै आएका साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौंला र नयाँ मिस नेपाल मलिना जोशीसँगको अन्तर्वार्ता :
विज्ञापनमा टाँस्ने अनुहारको खोजी : संग्रौला
विज्ञापनमा टाँस्ने अनुहारको खोजी : संग्रौला
कुनैवेला मिस नेपाल सुन्दरीबारे म र अरू साथीहरूले असहमति जनाउँदा त्यो समाचार बन्थ्यो । त्यसले समाजमा एउटा बहस र विमर्शको सिर्जना गथ्र्यो । तर, अहिले सुन्दरी प्रतियोगिता कुनै समाचारै बन्न छाडे । ती झिनामसिना झारजंगलजस्ता बने । यो कर्पोरेट पुँजीवादको व्यापार हो । ठूला व्यापारीले आफ्ना सामान बेच्न विज्ञापनको अभियान चलाउँछन् र ती विज्ञापनमा अनुहार टाँस्न उनीहरूले युवतीको खोज्छन् । यो त्यही अभियानको सानो पाटो मात्रै हो । अहिले समाजमा आदर्श, नैतिकता, त्याग, कल्याणकारी भावना एकदमै कम भएर गएको छ । सुन्दरी प्रतियोगिता पनि अब विरोध गर्नुपर्ने हैसियतमा छैन । नेपाली समाजमा अहिले त्यसले कहीँ-कतै प्रभावै पार्दैन । पुँजीवादलाई विश्वदर्शन वा विश्वव्यवस्थाको रूख मान्ने हो भने मिस नेपाल भनेको त्यसको सानो पात मात्रै हो । हिजो टेलिभिजनमा तामझामका धेरै कार्यक्रम थिएनन् । त्यतिवेला चर्चामा यही प्रतियोगिता मात्रै हुन्थ्यो, यही प्राथमिकतामा पथ्र्यो । अहिले यो त्यही स्तरमा विरोध गर्न लायकको घटनै रहेन ।
हिजो सडकमा प्लेकार्ड बोकेर जुलुस गर्ने लेखकले अहिले छोटो लेखसम्म पनि लेख्नुभएन त ?
अहिले सुन्दरी प्रतियोगिता टिप्पणी गर्न लायकको समाचारै रहेन । जनजातिका सुन्दरी, मधेसका सुन्दरी, बाहुनका सुन्दरी, कर्पोरेटका सुन्दरी, ठाउँठाउँका सुन्दरी छानिन्छन् आजभोलि । यो अहिले आमघटनाको एउटा सानो समाचार हो । मिस नेपाललाई मिस नेपालवालाहरूले नै कति सस्तो, चुत्थो र पत्रु बनाए भने त्यो अब विचार/विमर्शको तहमै छैन । त्यसमाथि के टिप्पणी गरिरहनु ? यसले हामीलाई सजिलो बनाइदियो ।
दिनदिनैजस्तो काँटीकाँटीका सुन्दरी प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगिता बढ्नाको कारण के होला ?
अहिले जुन समाजमा छौँ, यो उपभोक्तावादी समाज हो । यहाँ सबैलाई छिटो चिनिनु छ, छिटो नामी हुनु छ, छिटो पैसा कमाउनु छ, छिटै मोजमस्ती गर्नु छ । उपभोग गर्नेलाई पनि छिटै उपभोग गर्नु छ, बेच्नेलाई पनि छिटोछिटो बेच्नु छ । माल उत्पादन गर्ने साहुलाई छिटोछिटो गरिने विज्ञापनमा टाँस्ने सुन्दर अनुहार चाहिएको छ । त्यसैको प्रभाव हो सुन्दरी प्रतियोगिताको वृद्धि पनि । अहिलेको कर्पोरेट मिलिभगत पुँजीवादी विश्वमा उपभोक्तावादी बजार आँधीका रूपमा फैलिइरहेको छ । यही बजारले मान्छेको भाग्यको निर्धारण गर्छ । ठूला माछाले सानो माछालाई खाइरहेको छ । समाजमा ठूला मान्छेले साना मान्छेलाई खाइरहेका छन् । समाजवाद र समानताको कुरा गर्ने कम्युनिस्ट पार्टीमै पनि ठूलाले सानालाई हेपिरहेका छन् । नेपालको ठूलो कम्युनिस्ट पार्टीभित्रै पनि आपसमा कुटाकुट भइरहेको छ । त्यो कुटाकुट त्यही पैसा र उपभोगका लागि नै हो । आदर्श र नैतिकता
स्खलित भइसक्यो । हामीले आदर्श खोज्ने भनेको राजनीतिक दलहरूमा हो । तर, तिनै दलहरूमा सिर्जनशीलता, श्रमको सम्मान, परोपकारी भाव, त्याग, निष्ठाको स्खलन हुँदै गइरहेको छ । अनि त टोलटोलमा पुँजीपतिहरूको र उपभोक्तावादीहरूकै चकचकी हुने भइहाल्यो । सुन्दरी प्रतियोगिताको विस्तारको कारण पनि त्यही हो ।
तपाईं त साहित्यकार, सौन्दर्यको पारखी हुनुहुन्छ । तपाईंको सौन्दर्यपरख र सुन्दरी प्रतियोगिताको सौन्दर्यबीच के फरक छ ?
सौन्दर्य भनेको मान्छेको उत्पादनशीलता, सिर्जनशीलता, करुणा, परोपकार, त्याग, निष्ठा र बौद्धिकताबाट निर्माण हुन्छ । साहित्यले आत्मिक सौन्दर्य निर्माण गर्छ । तर, सुन्दरी प्रतियोगिताले बाहिरी रूपाकृति, मांसल, ठाँटबाँट र हाउभाउलाई सौन्दर्यको मानक ठान्छ । यो सौन्दर्य होइन, बाह्य आडम्बर हो । अहिले नेपालमा झमक घिमिरेको चर्चा छ । उनी शारीरिक हिसाबले कति सुन्दर हुन् र सिर्जनाले कति ? झमक घिमिरे कठोर संघर्ष र मिहिनेतले निर्माण भएको सिर्जनशील सौन्दर्यको दृष्टान्त हुन् । झमककुमारीको सौन्दर्य नै साँच्चैको सौन्दर्य हो । शरीरमा बुट्टा भरेर, अनुहार रंग्याएर वा अर्धनग्न शरीर देखाएर मात्रै मान्छे सुन्दर हुँदैन ।
यसअघि वामपन्थीहरूले यस्तो प्रतियोगिताको बढी विरोध गर्थे । तर, अहिले त सबै चुपचाप लागेको देखियो नि !
होइन, यो देशका कम्युनिस्ट पार्टीसम्बद्ध संस्कृतिकर्मी र लेखक/साहित्यकारहरू चुपचाप छैनन् । उनीहरू एकदमै सक्रिय छन् । पार्टीभित्र गुटहरू छन्, आफ्नो गुटको नेताको देवत्वकरण र अर्को गुटको नेताको दानवीकरणमा उनीहरू खुवै सक्रिय देखिन्छन् । यस्ता सुन्दरी प्रतियोगिता-स्रतियोगितामा ध्यान दिने उनीहरूलाई फुर्सदै छैन ।
भर्खरै चुनिएकी मिस नेपाल मलिना जोशीलाई तपाईं केही सुझाब वा सन्देश दिन चाहनुहुन्छ ?
उनलाई नै व्यक्तिगत रूपमा भन्नुभन्दा पनि सबै किशोरी बहिनीलाई जीवन भनेको आडम्बर र रंगरोगन मात्रै होइन, यो सिर्जनशीलता पनि हो भन्न चाहन्छु । हामी कसैको पनि पुनर्जन्म छैन । जे गर्ने हो, यही जुनीमा गर्ने हो । जीवन भनेको जीवनको अर्थको खोजी हो । जीवनमा सीप, बौद्धिकता र सिर्जनाको निर्माण गर्ने हो, यो लोकलाई सक्दो सुखी बनाउने हो । साहुका विज्ञापनका लागि अनुहार बेच्ने चुरिफुरीमा रमाउनुभन्दा बौद्धिकतामा, उत्पादनमा, सिर्जनामा लाग्नु राम्रो होला ।
होइन, यो साँच्चै सुन्दरीहरूकै खोजी हो - मलिना जोशी
मिस नेपाल बन्नुभयो । कस्तो अनुभूति गर्नुभएको छ ?
एकदमै खुसी लागिरहेको छ । मेरो मिस नेपाल बन्ने चाहना थियो, त्यो पूरा भयो । जीवनमा अहिलेजति खुसी कहिल्यै पनि भएकी थिइनँ । अब मेरा काँधमा थुप्रै दायित्व बढेका छन् र त्यो पूरा गर्न सक्छु भन्ने आशा पनि छ । मिस नेपालको ताज लगाएपछि म रातारात सेलिब्रेटी बनेँ, बधाईका थुप्रै एसएमएस र फोन आइरहेका छन् ।
मान्छे अनुहार/शरीरका आधारमा सुन्दर हुन्छ कि बौद्धिकता र सिर्जनाले ?
मिस नेपालमा शारीरिक सुन्दरता र बौद्धिकता दुवै हेरिन्छ । मान्छे छाला मात्र गोरो र राम्रो भएर हुँदैन उसको मन पनि सफा हुनुपर्छ । अनुहार त 'गड गिफ्ट' मात्रै हो । उसमा सुन्दर हुनलाई बौद्धिकता चाहिन्छ नै ।
मिस नेपाल त साहुहरूले विज्ञापनमा टाँस्ने युवती खोज्ने प्रक्रिया मात्रै हो भन्छन् नि ?
त्यो म मान्दिनँ । यदि मलाई त्यस्तो लागेको थियो भने म यो प्रतियोगितामा भाग लिन्नथेँ । मिस नेपाल भइसकेपछि आत्मविश्वास बढ्दोरहेछ । नयाँ अनुभव बटुल्न पाइँदोरहेछ । विज्ञापनमा टाँस्ने युवती खोज्ने प्रतियोगिता हो भन्नेहरूले यसको फराकिलो संसारमा प्रवेश गरेर हेर्नुपर्छ । प्रतियोगिताको फेयरनेस हेर्नुपर्छ । यो प्रतियोगिता साँच्चै सुन्दरीहरूको खोजी हो ।
पुँजीपतिका सामानको विज्ञापन खेल्ने अफर आइसक्यो ?
अहिलेसम्म आएको छैन । आएपछि भन्छु नि ल ।
पारिजात र झमककुमारीलाई चिन्नुहुन्छ ?
उहाँहरू 'पोयट' होइन र ? मलाई त्यस्तै जस्तो लाग्छ । पारिजातबारे सानैमा स्कुलको किताबमा पढेकी थिएँ, उहाँका बारेमा अरू थाहा छैन । उहाँका किताब पनि पढेकी छैन । झमककुमारीलाई चाहिँ टाढैबाट देखेजस्तो लाग्छ । तर, गफ गर्न पाएकी छैन । उहाँहरू मलाई राम्रै लाग्छ ।
तपाईंको आदर्श व्यक्ति को हो ?
मेरी दिदी नुकिना । मेरो जीवनमा उहाँले मलाई थुप्रै कुरा सिकाउनुभएको छ । उहाँको सहयोगले नै म यहाँसम्म आइपुगेकी हुँ ।
भविष्यको योजना के छ त ?
मैले मार्केटिङ विषयमा एमबिए गरेकी हुँ । यसमै केही गर्ने सोचेकी छु । अब केही समयपछि मिसवल्र्डमा भाग लिएर यो देशको प्रतिनिधित्व गर्नेछु । nayapatrika
प्रतिक्रिया दिनुहोस् >>
