सेप्टेम्बर ११ देखि आजसम्म ... (एक्स्क्लुसिभ न्युज र तस्वीरसहित)

आज सेप्टेम्बर ११ : विश्वशक्ति साम्राज्यको रुपमा रहेको अमेरिकामा आजको ठीक १० वर्ष अघि आतंककारी आक्रमण गरिएको थियो । अलकायदाले अमेरिकाका दुई ठूला व्यापारीक भवनमा विमान ठोक्काएपछि हजारौं मानिस मारिएका थिए । उक्त विमान आक्रमणका योजनाकार मानिएका अलकायदा नेता ओसामा विन लादेन अमेरिकी सेनाको कारवाहीका क्रममा ३ महिना अघि मारिए । 
अमेरिकाको खोजी सुचीको नम्बर १ स्थानमा रहेर पनि आफूलाई झण्डै दश वर्षसम्म जोगाउन सफल भए लादेन । उनको मृत्युसँगै अलकायदा र कट्टर इस्लामवादी संगठनहरुले अमेरिका र अमेरिकालाई सहयोग गर्ने देशमा आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । हालसम्म त्यस्तो कुनै अप्रिय घटना नभएपनि संसार अझैपनि त्रासमुक्त हुन सकेको छैन । ध्वस्त भएका भवनबाट निस्किएको स्टीलबाट एउटा लडाकु विमान बनाइएको छ भने ध्वस्त विमानको खण्डहरमा स्वतन्त्रता भवन निर्माण भइरहेको छ । सम्पूर्ण रुपमा बम प्रुफ रेको उक्त भवन हिराको रुपमा रहने अमेरिकी भनाई छ । (भवनको संरचना हेर्नुहोस्) यो भवन पूर्णरुपमा बनिसकेपछि कस्तो देखिएला, त्यो हेर्न संसार आतुर छ । 
दुःखद् दिनका रुपमा अमेरिकाले आजको दिन सम्झिरहँदा अलकायदा र कट्टर इस्लामी संगठनहरुले भने ऐतिहासिक विजयउत्सवको रुपमा आजको दिनलाई सम्झिने गर्छन् । अमेरिका र अलकायदा बिचको लडाईँ जारी छ । अमेरिकाका हजारौं मानिस मारिए, अलकायदाका नेता पनि मारिइसकेका छन् । तर प्रतिशोधको आगोले संसार अझै तातिइरहेको छ । त्यसैले आज फेरी पनि आक्रमण हुनसक्ने सुचनाका आधारमा अमेरिकामा अत्यन्त कडा सुरक्षा अपनाइएको छ ।
खैर, यस्ता आतंकवादी आक्रमण चाहे जुनसुकै उज्ञेश्यले गरिएको होस्, संसारलाई कदापी मान्य छैन । मानव सभ्यतामा स्वभाविक मृत्युबाहेकको मृत्युको अवस्था आउनु हुँदैन । सेप्टेम्बर ११ फेरी नदोहोरियोस् । यही कामनाका साथ सेप्टेम्बर ११ को सेरोफेरोमा कुन पत्रिकाले के लेखे, प्रस्तुत छ, आतंकवादी हमलादेखि यताका केही महत्वपूर्ण समाचारहरु पूर्वन्युजले संकलन गरेको छ :

सेप्टेम्बर ११ पछिको लागत
जोसेफ स्टिगलिज - अलकायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकालाई क्षति पुर्‍याउने उद्देश्यले आक्रमण गरेको थियो। ओसामा बिन लादेनले यसमा नसोचेको सफलता पाए। जवाफमा तत्कालीन राष्ट्रपति जर्ज बुसले जे गरे त्यसले अमेरिकाको आधारभूत सिद्धान्तमाथि प्रहार गर्‍यो, अर्थतन्त्रलाई गौण र सुरक्षा व्यवस्थालाई झनै कमजोर बनायो।
सेप्टेम्बर ११ पछि अफगानिस्तानमा भएको आक्रमणलाई बुझ्न सकिन्छ, तर इराकमाथि भएको अतिक्रमणसँग राष्ट्रपति बुसले स्थापित गर्न खोजेजस्तो अलकायदाको कुनै सम्बन्ध थिएन। राष्ट्रपति बुसले रोजेको त्यो युद्ध निकै महँगो साबित भयो। सुरुमा त्यसको खर्च ६० अर्ब डलर बताइएको थियो। यो आंकडा भयंकर अक्षमता तथा बेइमानीको प्रतिबिम्ब हो।
तीन वर्षअघि लिन्डा बिल्मेस र मैले हिसाब गर्दा युद्धको लागत जम्माजम्मी ३० देखि ५० खर्ब डलर निकालेका थियौं। यो लागत अझै बढ्दो छ। इराकबाट फर्किएकामध्ये ५० प्रतिशत सैनिक कुनै न कुनै किसिमको अपांगता क्षतिपूर्तिका लागि योग्य छन् भने ६ लाखलाई हालसम्म औषधोपचार सुविधा दिइएको छ। यसका लागि हामीले ६ देखि ९ खर्ब खर्च हुने अनुमान गरेका छौं। फिर्ता आएका सेनाको आत्महत्या (पछिल्लो वर्ष दैनिक १८ जना) र पारिवारिक विग्रहजस्ता सामाजिक लागतको हिसाबै गर्न सकिन्न।
अमेरिका र बाँकी विश्वलाई भ्रममा पारेर युद्धमा होम्ने र त्यसको गलत लागत दिने राष्ट्रपति बुसलाई माफ गर्न सकिएला, तर उनले जुन तरिकाले खर्च गरे त्यसमा उनलाई उन्मुक्ति दिन मिल्दैन। उनले इतिहासमै पहिलोचोटि ऋण लिएर युद्ध गरेका थिए। बुसले नै सन् २००१ मा धनीलाई कर छुट दिएकाले सरकारी खर्च घाटामा चलिरहेका बेला अमेरिका युद्धमा होमिएको थियो। त्यतिमात्र होइन, राहतका नाममा उनले फेरि अर्को कर छुटको योजना ल्याए।
अहिले अमेरिका बेरोजगारी र घाटासँग जुधिरहेको छ। अमेरिकाको भविष्यमा देखा परेको खतरा अफगानिस्तान र इराक युद्धसँग जोडिएको तथ्यलाई सामान्य रूपमा लिन सकिँदैन। बढ्दो सुरक्षा खर्च र बुसको कर छुटले नै उनी राष्ट्रपति निर्वाचित हुने बेलाको अमेरिकालाई कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रहेको बचत बजेटलाई अहिलेको डरलाग्दो ऋणको भार र घाटामा डुबाएको हो। सरकारले ती दुई युद्धमा प्रत्यक्ष २० खर्ब डलर खर्च गरिसकेको छ। यो प्रत्येक अमेरिकी परिवारको भागमा १७ हजार डलर पर्न आउँछ। अझै थुप्रै बिल भुक्तानी हुन बाँकी छ जसले यो खर्चलाई ५० प्रतिशत बढाइदिनेछ।
बिल्मेस र मैले लेखेको किताब 'द थ्री टि्रलियन डलर वार' मा ती दुई युद्धले अमेरिकाको समग्र अर्थतन्त्रलाई कमजोर बनाउँदै अहिलेको घाटा र ऋणको भार थोपरिदिएको तर्क गरेका छौं। त्यतिबेला मध्यपूर्वमा अस्थिरता नआएको भए अहिले तेलको मूल्य यति चर्को हुने थिएन। अमेरिकीहरूले तेलमा गर्ने खर्च देशभित्रै उत्पादन हुने कुनै वस्तु किन्न सक्ने थिए।
त्यति नै बेला अमेरिकी केन्द्रीय बैंकले 'हाउजिङ बबल'का नाममा यो कमजोरी लुकायो। अहिले शिखरमा पुगेको घरजग्गाको मूल्यलाई वास्तविक तहमा ल्याउन र ऋणको भार कम गर्न वर्षौं कुनुपर्ने स्थिति आएको छ।
अचम्मलाग्दो के छ भने, ती युद्धले अमेरिका र बाँकी विश्वलाई बिन लादेनले पनि कल्पना नगरेको सुरक्षा चुनौती थपिदिएको छ। एउटा अलोकप्रिय युद्धले कुनै पनि अवस्थाका लागि सैन्य भर्नालाई कठिन बनाइदिएको छ। बुसले अमेरिकीहरूलाई युद्धको लागतबारे ढाँटेका मात्र होइनन् उनले अमेरिकीहरूको ज्यान जोगाउन आवश्यक बारुदी सुरुङ प्रतिरोधी सवारीजस्ता आधारभूत साधन, फर्किएर आउने सेनाको औषधोपचारका लागि पर्याप्त पैसा पनि दिएनन्। हालै एक अमेरिकी अदालतले अवकासप्राप्त सेनाको अधिकार उल्लंघन भएको फैसला गरेको छ। स्मरणीय छ, ओबामा प्रशासनले अवकाशप्राप्त सैनिकले याचना गर्न पाउने अधिकार सीमित गर्नुपर्ने दाबी गरेको छ।
सैन्य विस्तारले उल्टो सैन्य शक्तिको प्रयोग नै अप्रभावकारी हुने चिन्ता बढाएको छ। यस प्रकारको जानकारी सर्वसाधारणमाझ पुग्दा अमेरिकी सुरक्षा व्यवस्थाको विश्वसनीयतामै प्रश्न उठेको छ। अमेरिकाको वास्तविक शक्ति सैन्य र आर्थिकभन्दा यसको 'सफ्टपावर' हो, यसको नैतिक बल हो। बन्दी प्रत्यक्षीकरण गर्नुपर्ने, यातना दिन नपाइने लगायत अन्तर्राष्ट्रिय कानुनप्रतिको बफादारीलाई अमेरिकाले तोडेको छ। आधारभूत मानवअधिकार उल्लंघन गरेर यसलाई पनि कमजोर बनाइएको छ।
अफगानिस्तान र इराकमा अमेरिका र उसको सहयोगी गठबन्धनलाई थाहा थियो, दिगो विजयका लागि सर्वसाधारणको मनमस्तिष्क जित्नुपर्छ। तर लडाइँ सुरु हुँदा गरिएका गल्तीले पहिल्यै जित्न कठिन युद्धलाई झनै कठिन बनाइदियो। युद्धमा ठूलो संख्यामा धनजनको क्षति भएको छ। युद्धकै कारण १० लाख इराकी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मारिएको अनुमान केहीले गरेका छन्। यसैगरी अफगानिस्तानमा १ लाख ३७ हजार सर्वसाधारण मारिएको तथ्यांक सार्वजनिक भएको छ। १८ लाख इराकी शरणार्थी भएका छन् भने १७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित भएका छन्।
युद्धका नतिजा सबै भताभंुग पार्ने खालको पनि होइनन्। अमेरिकाले ऋण लिएर लडाइँ गरेपछि बढेको बजेट घाटाले वास्तविकता अगाडि ल्याइदिएको छ। यसले सबैलाई बजेटको सीमितता छर्लङ्याइदिएको छ। शीतयुद्ध सकिएको दुई दशकपछि पनि अमेरिकाको सैन्य खर्च झन्डै संसारका सबै मुलुकको खर्च बराबर छ। यसमध्ये धेरै खर्च अफगानिस्तान र इराकमा गएको छ। हुँदै नभएको शत्रुविरुद्ध 'ग्लोबल वार अन टेरोरिजम' का नाममा कामै नलाग्ने अस्त्रमा ठूलो खर्च भएको छ। अब अमेरिका कम खर्च गरेर बढी सुरक्षित हुने गरी स्रोतको उपयोग हुने संकेत देखा परेको छ।
अलकायदालाई जितिइसकेको छैन तापनि सेप्टेम्बर ११ को जस्तो खतरायुक्त अब रहेन। तर उसलाई यो स्थितिसम्म ल्याउन अमेरिका र बाँकी विश्वले जुन मूल्य चुकायो त्यो अथाह छ। त्यसलाई हटाउन सकिन्थ्यो। यो नजिर लामो समयसम्म हामीसँगै रहने छ। कुनै कुरा गर्नुभन्दा अघि सोच्दा राम्रै हुन्छ भन्ने पाठ यसले सिकाएको छ। sep 10, nagarik



ओसामाको अन्त्यसँगै बदलिँदो समीकरण
पाकिस्तानको सैनिक इलाकामा पर्ने एब्बोट्टाबादको एउटा अनपेक्षित घरमा ओसामा बिन लादेन बसेको निश्चितप्रायः भएपछि अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक लियोन पनेट्टाले राष्ट्रपति बाराक ओबामालाई तीनवटा विकल्प सुझाए : पाकिस्तानी हवाईसेनाको राडारमा नदेखिने बी-२ स्टिल्थ विमानबाट वम खसाउने, विशेष टोलीबाट अनपेक्षित हमला गर्ने वा अमेरिका-पाकिस्तानको संयुक्त टोलीबाट आक्रमण गर्ने । ओबामाले दोस्रो विकल्प रोजे । त्यहीअनुसार जल-थल-वायु तीनै क्षेत्रको युद्ध लड्न जानेका 'सिल' टिमका ७९ कमान्डो र एउटा तालिमप्राप्त कुकुर राडारमा नदेखिने स्टिल्थ हेलिकप्टरमार्फत त्यहाँ उत्रेर लादेनको हत्या गरे र शव लिएर फर्के ।
यो प्रकरणले राष्ट्रिय सुरक्षा मामिलामा शक्तिराष्ट्रले सार्वभौमिकताका सीमारेखा ख्याल गर्दैनन् भन्ने यथार्थ दोहोर्‍याएको मात्र छैन, पाकिस्तानको दोहोरो भूमिकाबाट अमेरिका आजित हुन थालेको समेत देखाएको छ । सीआईएले सूचना चुहिन्छ भनेरै पाकिस्तानी पक्षलाई खबर नगरी अफगानिस्तानबाट सुटुक्क कमान्डो पठाएर लादेनको सफाया गरेको थियो । यसअघि पूर्वसूचना दिँदा लादेन भागेको घटनाबाट सायद अमेरिकाले पाकिस्तानको दोहोरो खेल बुझेको थियो । आतंकवादविरुद्धको लडाइँमा आफूबाट अबौर्ं बराबरको धनराशि लिने, अर्कातिर आतंकवादको जरालाई पनि मलजल गरिरहने द्वैध नीति अब नचल्ने स्पष्ट सन्देश यसपालि वासिङ्टनले इस्लामावादलाई दिएको छ ।
लादेनको हत्यासँगै अल-कायदाको सांकेतिक सर्वोच्च नेतृत्व मात्र समाप्त भएको छैन, यसले दक्षिण एसियाको सामरिक समीकरणमा समेत दीर्घकालीन असर पार्ने देखिन्छ । खासगरी अमेरिकाको पाकिस्तानसँगको सम्बन्धमा संशय थपिने, भारतसँग गुणात्मक निकटता बढ्ने र क्षेत्रीय राजनीतिमा हुने बदलावको बाछिटा नेपालजस्ता शक्तिहीन राष्ट्रसम्म आइपुग्ने सम्भावना छ ।
पाकिस्तानी सत्ताको लगाम अहिले पनि राजनीतिक नेतृत्वभन्दा मूलतः सेनाका हातमा छ जसको एउटा अंगका रूपमा त्यहाँको गुप्तचर संयन्त्र आईएसआईले समानान्तर सत्ता चलाउने गर्छ भनिन्छ । सारा विश्वले खोजिरहेका बिन लादेन वषौर्ंदेखि पाकिस्तानी भूमिमा सुरक्ष्ाित बस्न पाउनुमा त्यहाँ हावी रहेको 'सत्तामाथिको सत्ता' कै हात हुन सक्ने अमेरिकी अधिकारीहरूको बुझाइ छ ।
पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीले चाहिं सोमबार संसद्मा सम्बोधन गर्दै बिन लादेन पाकिस्तानमा लुकेर बस्नुमा आफ्नो सुरक्षा संयन्त्रको मात्र नभई अमेरिकालगायत 'पूरै विश्वको गुप्तचरी असफलता' जिम्मेवार रहेको जवाफ फर्काएका छन् । त्यहाँको राजनीतिक नेतृत्वलाई लादेनको गुप्तवासबारे जानकारी दिइएको थियो/थिएन, त्यो अलग कुरा हो तर अमेरिकी नजरमा पूरै पाकिस्तान आतंकवादको आधारभूमि बन्दै गएको छ । यो त्यही बिन्दु हो जसको व्यावहारिक पुष्टिको प्रतीक्षामा भारत थियो ।
विगतमा मुस्लिम कट्टरपन्थलाई बढावा दिने काम अमेरिका र पाकिस्तान दुवैले गरेका थिए । सन् १९७९ मा तत्कालीन सोभियत संघले अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेपछि सीआईए र आईएसआईले विश्वभरिका मुस्लिम मुजाहिद्दीनलाई अफगानिस्तान आएर लड्न सघाएका/उत्प्रेरित गरेका थिए । लामो युद्धपछि त्यो मिसन त सफल भयो, तर अर्को कालखण्डमा तिनै मुजाहिद्दीन अमेरिकाविरुद्ध खनिए । अफगानिस्तानमा लड्दाको विश्व संयन्त्र समेटेर बिन लादेनले अल-कायदा खडा गरे । सेप्टेम्बर ११ को प्रहारपछि अमेरिकाले अल-कायदा र लादेनविरुद्ध निणर्ायक युद्ध प्रारम्भ गर्‍यो । पाकिस्तानले त्यसलाई आधिकारिक रूपमा साथ दिए पनि सेना र आईएसआईका एकथरी तत्त्वले कट्टरपन्थी धारलाई प्रोत्साहन वा संरक्षण दिने काम गरिरहे । त्यसैको परिणाम थियो- लादेनले पाएको आश्रय ।
पाकिस्तानी संस्थापनमा सदा एउटा सोचाइ रह्यो- कट्टरपन्थीहरूको प्रयोगबाट आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सकिन्छ । अफगानिस्तानमा तालिवानको पुनरोदय भयो भने त्यहाँ आफ्नो पकड पुनः मजबुत हुन्छ अनि भारतलाई तह नलगाई अगाडि बढ्न सकिन्न वा भारतले नै बढ्न दिँदैन भन्नेजस्ता सोच त्यहाँ हावी हुनुको कारण यही हो । अमेरिका त आउँछ-जान्छ, तर छिमेकी परिवर्तन हुँदैन, त्यसैले आतंकवादी तत्त्वलाई प्रयोग गरेर भए पनि आफ्नो परम्परागत दुस्मन भारतलाई कमजोर बनाउनुमै पाकिस्तानी हित निहित रहेको उनीहरूको बुझाइ छ ।
अमेरिकासँग पाकिस्तानको मत यहीँनेर टकराएको हो । उनीहरूबीच दशकौंअघि जोडिएको सामरिक डोरी तत्कालै नचुँडिए पनि अब पहिलेजस्तो हार्दिक सम्बन्धचाहिं रहने देखिन्न, बरु भारतसँग अमेरिकाको रणनीतिक निकटता बढ्नेछ ।

भारत-अमेरिका निकटता
सन् १९९० अघि शीतयुद्धकालमा तत्कालीन सोभियत संघसँग भारतको निकट सम्बन्ध थियो । खासगरी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पूरै राज्ययन्त्रमा 'रूसीकरण' बढाएकी थिइन् । सोभियत धुरीको पतनपछि भारतको रूससँग एक स्तरको सामरिक सम्बन्ध कायम रहे पनि रणनीतिक निकटताचाहिं अमेरिकासँग हुन गयो । दक्षिण र दक्षिणपूर्वी एसियामा अमेरिकालाई यस्तै दीर्घकालीन साझेदार पनि चाहिएको थियो । भारतको विशाल मध्यमवर्गीय बजारदेखि संयुक्त लगानी एवं द्विपक्षीय व्यापारका अनेक सम्भावनाले समेत यी दुई शक्तिराष्ट्रलाई नजिक ल्याउँदै गयो । भारत-अमेरिका नजिकिनुका दुइटा खास वस्तुगत कारण पनि छन् ।
पहिलो, आतंकवादविरुद्धको सहकार्य नै हो जसमा उनीहरूको १० वर्षदेखि घनिष्ट सहकार्य छ । अहिले जो अमेरिकाका शत्रु हुन्, भारतका पनि तिनै हुन थालेका छन् । २००१ सेप्टेम्बर ११ मा न्युयोर्कमा विमान- आक्रमण गर्ने अल-कायदालाई भारतले पनि जसरी दुस्मन मानेको छ, २००८ नोभेम्बर २६ मा मुम्बईको होटलमा हमला गर्ने लस्कर-ए-तोइबालाई अमेरिकाले पनि उस्तै आतंककारी ठानेको छ । अनि अल-कायदादेखि लस्करसम्मको 'कमान्ड सेन्टर' पाकिस्तानमा रहनु दुवै मुलुकका निम्ति टाउको दुखाइ बनेको छ । त्यसैले आतंकवाद उन्मूलन गर्ने एजेन्डामा उनीहरू एक ठाउँमा उभिएका छन् ।
दोस्रो कारण, विश्व राजनीतिमा चीनको उदय हो, जसलाई लिएर भारत-अमेरिका दुवै चिन्तित छन् । अमेरिकाले भारतलाई चीनविरुद्ध एसियाली सन्तुलनको 'कार्ड' बनाउन चाहेको छ भने भारतले चाहिं अमेरिकी आडमा चीनको चुनौती सामना गर्न खोजेको देखिन्छ । अमेरिकी राष्ट्रपति ओबामा गत वर्ष नयाँदिल्ली आउँदा भारतलाई 'विश्वशक्ति' का रूपमा चित्रण गर्दै उसलाई नयाँ रणनीतिक साझेदार बनाउन चाहेको स्पष्ट सन्देश दिएका थिए । त्यस क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई देशको 'साझा मान्यता' र 'स्वार्थहरूको बढ्दो मिलन' लाई त्यस्तो साझेदारीको जग मानिएको थियो । यसमध्ये 'साझा मूल्य-मान्यता' दुवै मुलुकले अपनाएको लोकतान्त्रिक शासन प्रणालीसँग सम्बन्धित छ, जसलाई पछिल्ला दिनमा द्विपक्षीय सम्बन्धको मुख्य आधार बनाउन खोजिएको छ, जुन चीनमा नरहेको उनीहरूको अप्रत्यक्ष सन्देश छ ।

चीनको सन्तुलन प्रयास
अमेरिका चीनलाई चुनौती दिने अन्तर्राष्ट्रिय गठबन्धनमा भारतको सक्रिय भूमिका चाहन्छ । एक हदसम्म भारत र अमेरिकाबीच चीनको मामिलामा सहकार्यसमेत भइरहेको छ, तर त्यसले पूर्ण आकार ग्रहण गरिसकेको देखिन्न । त्यसका पछाडि भारतीय संस्थापनमै जीवित रहेको शीतयुद्धकालीन 'अमेरिकाविरोधी' अभिमतले काम गरेको हुन सक्छ, जसले आफू अमेरिकी शिविरमा बसेर चीनविरुद्ध किन प्रयोग हुने, बरु चीनसँगै समानान्तर सम्बन्ध राखेर विश्वशक्ति बन्नेतिर अग्रसर हुनुपर्ने ठान्छ ।
आउँदो १५/२० वर्षभित्र अमेरिकालाई उछिनेर विश्वको नम्बर एक शक्ति बन्ने लक्ष्यसाथ अगाडि बढिरहेको चीन पनि अहिल्यै भारतसँग अनावश्यक झमेलामा अल्भिmन चाहन्न । बरु भारत अमेरिकातर्फ धेरै नढल्कियोस् भन्नेमा उसको ध्याउन्न देखिन्छ । अमेरिकी शिविरलाई चुनौती दिने ढंगले चिनियाँ र रूसी प्रयासमा स्थापित बि्रक -ब्राजिल-रसिया-इन्डिया-चाइना) गठबन्धनमा भारतीय सहभागिता थप दरिलो बनाउने बेइजिङ-प्रयासको निहितार्थ यही हुन सक्छ ।
पोहोर जापानलाई उछिनेर चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो । नम्बर एकमा रहेको अमेरिका पनि चिनियाँ पुँजीमा निर्भर बन्दै गएको छ । अमेरिकालाई पहिले आर्थिक र त्यसपछि सामरिक रूपमा पछार्न चीनले शक्ति प्रदर्शनको शीतयुद्धकालीन शैली पछ्याइरहेको छैन, बरु प्रत्यक्ष टकराव नगरीकनै खेल जित्ने शैली अपनाएको छ । त्यसैले उसको सबभन्दा निकट व्यापारिक घनिष्टता प्रतिस्पर्धी अमेरिकासँगै छ । चीन भारतसँग पनि 'इन्गेजमेन्ट' को यही तरिका अपनाउन चाहन्छ । अर्थात् व्यापारिक साझेदारी बढाउँदै उसलाई राजनीतिक रूपमा तटस्थ बनाउने । तर चीनले अपेक्षा राखेझैं भारत अमेरिकी प्रभावबाट मुक्त हुने निकट सम्भावना देखिन्न ।

नेपालमा असर
लादेनको हत्यापछि भारत-अमेरिकी सहकार्यबाट हामीकहाँ पर्न सक्ने सोझो प्रभाव हो- अमेरिकाले नेपाललाई अझै बढी भारतीय आँखाबाट हेर्नेछ । नेपाल भारतीय प्रभावक्षेत्रकै मामिला हो भन्ने अमेरिकी बुझाइले उसको स्वतन्त्र नीति निर्माण हुन दिनेछैन । 'स्वतन्त्र' बताइए पनि त्यो मूलतः भारतसँगै मिल्दोजुल्दो हुनेछ ।
दस वर्षअघि सेप्टेम्बर ११ को घटनापछि अमेरिकाले सैनिक सहयोग अभिवृद्धि गरेर नेपालमा राजनीतिक भूमिका बढाउन खोजेको थियो । तर त्यो तरिकाबाट उसबेला विद्रोह गरिरहेका माओवादी नियन्त्रणमा नआएपछि अमेरिकी अग्रसरता पछाडि धकेलियो । माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे सम्झौताको सहजीकरण गरेर भारत अगाडि आयो । गणतन्त्र स्थापनापश्चात् नेपाली राजनीतिमा भारतीय बर्चस्व अरू बढेको छ जसलाई अमेरिकाले सहजै स्विकारेजस्तो देखिन्छ ।
चीनको नीति यहाँनेर टकराउँछ । मित्रशक्ति राजतन्त्रको अन्त्यपछिको राजनीतिक रिक्ततामा दिल्लीले आफ्नो 'सर्वोच्च' भूमिका स्थापित गर्न खोजेकामा बेइजिङ सन्तुष्ट देखिन्न तर भारतीय शैलीमै खुलेर राजनीतिक चलखेल गर्न चाहँदैन । अझ नेपालमा हात हाल्दा भारतलाई अमेरिकासँग धेरै नजिक हुन नदिने आफ्नो बृहत्तर प्रयत्न 'सेबोटेज' होला कि भन्नेतर्फ चीन चनाखो देखिन्छ । त्यसैले नेपालको आर्थिक, सामाजिक र जनस्तरका मामिलामा संलग्नता र सहयोग बढाए पनि राजनीतिक मामिलामा निकट भविष्यमै निणर्ायक ढंगले प्रस्तुत हुनु नपरोस् भन्ने चिनियाँहरू चाहन्छन् ।
यद्यपि यो मामिला नेपालको वर्तमान संक्रमणले कुन रूप लिन्छ, त्यसमा बाह्य पक्षको संलग्नता/हस्तक्षेप कुन स्तरमा हुन्छ र त्यसले उसको सर्वाधिक संवेदनशील तिब्बतको सुरक्षामा धक्का पुर्‍याउँछ/पुर्‍याउँदैन भन्ने लगायतका विषयमा निर्भर हुन सक्छ । चीनको नेपाल चासो मुख्यतः तिब्बती मुद्दासँग जोडिएको छ जो हालको तरल राजनीतिक अवस्थामा थप जोखिमपूर्ण बन्दै गएको उसको ठहर छ ।
नेपालमा भारतको बढ्दो भूमिकाबाट तर्सेर चीनले प्रभाव बढाउने अनि चीनलाई देखेर भारत अझ सक्रिय हुने शृंखलाबद्ध कूटनीतिक प्रतिक्रियासमेत देखिँदै छ जसले नयाँखालको क्षेत्रीय शीतयुद्ध जन्माउन सक्छ । स्थिति यस्तो भएको छ, हाम्रा दुवै छिमेकी आआफ्ना सुरक्षा मुद्दामा नेपालबाट विश्वस्त हुन छाडेर आफैं सक्रिय बन्न थालेका छन् । चीन तिब्बतका कारण तानिएझैं भारत नेपाली भूमिमार्फत नक्कली मुद्राको प्रवाहदेखि आफ्नो मुलुकविरोधी आतंककारी आवतजावत भइरहेको ठान्छ । सन् १९९९ मा अल-कायदासँग सम्बद्ध आतंककारीहरूले काठमाडौंबाट भारतीय विमान अपहरण गरेझैं घटना दोहोरियो भने के होला भन्ने प्रश्न भारतीय कूटनीतिज्ञहरूले बारम्बार गर्न थालेका छन् ।
अमेरिकाले जसरी पाकिस्तानमा पसेर बिन लादेनलाई मार्‍यो, भारतीय निकायले पनि आफ्नो सुरक्षा हितविपरीत लाग्नेलाई आफैं अगाडि सरेर सखाप पार्ने त्यही अमेरिकी शैली पछ्याएका छन् । सेप्टेम्बर ११ पछि विश्वराजनीतिमा सुरक्षा मामिलालाई प्राथमिकता दिने र त्यसका लागि सार्वभौमिकताका रेखालाई मतलब नराखी कारबाही गर्ने होडबाजीमा शक्तिराष्ट्रहरू लागेका छन् ।
यस्तो अवस्थामा नेपालजस्ता मुलुकले के गर्ने ? अन्तर्राष्ट्रिय सम्बन्धको यो बदलिँदो आयामलाई ठीकसँग ठम्याउन सके मात्र पनि आवश्यक सावधानी अपनाउन सकिन्छ । लादेनको हत्याले हामीलाई सिकाएको पाठ यही हो । ekantipur, २०६८ वैशाख २८




एउटा अन्तर्राष्ट्रिय आतङ्कवादीको कथा
शत्रुहरूका लागि उनी एकजना धार्मिक कट्टरपन्थी थिए, हजारांैको रगतले आफ्नो हात लत्पताएका आतङ्कवादी जसले व्यापक रूपमा इस्लामिक संसारमा युद्ध र पीडा ल्याए । उनैले योजना बनाएको २००१ सेप्टेम्बर ११ को आक्रमणलगत्तै बढेका उनका समर्थकहरूका लागि बिन लादेन मुस्लिमहरू विरुद्धको पश्चिमा थिचोमिचो विरुद्ध लड्ने एक दूरदर्शी थिए । दुवैका लागि ५४ को उमेरमा मारिइएका ओसामा विन लादेन दुर्लभ व्यक्तित्व मध्येका एक थिए, जसले इतिहासको बाटो बदलिदिए । उनको जिन्दगी अतिपना र विरोधाभाषहरूले भरिएको थियो । अत्यन्त घनाढ्य परिवारमा जन्मेका उनी तुलनात्मक रूमपमा गरिबीमा बाँचे । सिभिल इन्जिनियरिङ पढेका उनले धार्मिक गुरुको जिम्मेदारी लिए । प्रतिभाशाली यी प्रोपोगन्डाकर्तासँग लडाइँको कमै अनुभव थियो । उनले आफूलाई धर्मयुद्धकारीका रूपमा प्रस्तुत गरे । अहिलेको संसारमा न्याय ल्याउने उपायका रूपमा सातौं शताब्दीका मूल्य र सामाजिक मान्यतामा फर्किन आग्रह गर्ने उनले इस्लामिक कानुनको जडसूत्रवादमार्फत हजारौंलाई मार्न आधुनिक प्रविधिको प्रयोग गरे । पृथ्वीका सबैभन्दा कुख्यातमध्येका एक उनी वर्षौंसम्म लुकेरै बसे, उनका अनियमित सार्वजनिक उपस्थितिहरू इन्टरनेटमा राखिने भिडियोहरूमै सीमित रहे । आफ्नालागि केही कुराको वास्ता नगर्ने र सबै कुरा अरूका लागि त्याग्ने भनी आफूलाई चिनाउने उनी आफ्नो वंश र सन्तानबारे अत्यन्त सचेत थिए ।
बिन लादेनको कथा यमनको दुर्गम, गरिब र अत्यन्य कट्टरपन्थी हाध्राम्वात जिल्लामा सुरु भयो, जहाँबाट उनका पिता मोहम्मद बिन अब्द बिन लादेन सन् १९३० मा पैसा कमाउन साउदी सहर जेद्धाका लागि निस्केका थिए । ५२ बच्चाहरूमध्येका १७ औं ओसामा सन् १९५७ मा जन्मेका थिए । त्यतिन्जेलसम्ममा उनका बाबु साउदी शासक परिवार अल-साउदसँग सम्बन्ध गाँसिसकेका अत्यन्त धनी निर्माण व्यवसायी भइसकेका थिए । शाही परिवारसँगको त्यो सम्बन्धले बाबु लादेनलाई रियादमा दरबारहरू र मदिनादेखि जेद्धासम्म राजमार्ग बनाउन आकर्षक ठेक्काहरू दिलायो । मक्कामा इस्लामको सबैभन्दा पावन मस्जिदको पुनर्निर्माण गर्न पाउनु उनीहरूको पारिवारिक कम्पनी बिन लादेन समूहका लागि सबैभन्दा ठूलो उपलब्धि थियो । ओसामाका बाबु साधा जीवन जिउने परिवारमूली थिए भने आमा सिरियाकी सुन्दर र शिक्षित महिला जसले बुर्काको साटो पश्चिमा महिलाहरूले लगाउने जस्ता सुटहरू रोजिन् । विदेशी र दसौं पत्नी भएकाले घरगृहस्थीमा उनको इज्जत कम थियो । साउदी अरेबियामा जन्मेका र जेद्धाको एउटा दरबारमा हुर्केका ओसामा सज्जन, मिलनसार, मिहेनती र सानैदेखि धार्मिक रूपमा हुर्के । ओसामा ११ का हुँदा उनका पिता हेलिकप्टर दुर्घटनामा परेर मरे ।
उनका दाजुभाइले विदेशमा पढ्दा र प्रायः पार्टीहरू गर्दा अग्ला र अत्यन्त लजालु किशोर साउदी अरेबियामै बसे । १९७४ मा आफ्नी आमाकी दाजुकी १४ वर्षे छोरी नाज्वा घानेमसँग बिहे गरे र जेद्धाको किङ अब्दुल अजिज विश्वविद्यालयमा अर्थशास्त्र तथा व्यवस्थापन शंकायमा भर्ना भए । सन् ७० को अन्त्यतिरको अरब विश्वका विश्वविद्यालयहरू व्यापक वैचारिक संघर्षमा सामेल भए । इजिप्टमा वामपन्थीहरूले शारीरिक र वैचारिक रूपमा इस्लामी सिद्धान्तका बढ्दा समर्थकहरूसँग लडे । ती इस्लामी विचारहरू १०३० को दसकदेखि नै अरब विश्वमा व्याप्त थिए, तर १९६७ मा इजरायलविरुद्ध अरब सेनाहरूको असफलताले तिनलाई थप ऊर्जा मिलेको थियो । अधिराज्यभन्दा बाहिर बाह्हावाद भनी चिनिने कडा साउदी 'सलाफिस्ट' इस्लाम परम्परामा हुर्काइएका ओसामा विश्वविद्यालयमा चाहिँ नयाँ खाले राजनीति र प्रायः धर्मगुरु विरुद्धको धार्मिक सिद्धान्तसँग परिचित भए । ती दुईको फ्युजन, विशेषगरी करिस्मादार जोर्डनी प्यालेस्टाइन अब्दुल्ला अज्जामजस्ता वक्ताहरू, युवा ओसामाको सोच विकासको आधार बन्यो । बिन लादेन दिक्षित हुने वर्ष १९७९ इस्लामिक विश्वका लागि उथलपुथलयुक्त भयो । फेब्रुअरीमा आयातोल्ला खोमेनीले इरानमा इस्लामिक गणतन्त्र स्थापना गरे । नोभेम्बरमा विद्रोहीहरूले मक्कामा मस्जिदहरू कब्जा गर्दै वास्तविक इस्लामी शासनमा फर्किन माग गरे । अन्त्यमा सेनाले उनीहरूको कब्जाबाट मस्जिदहरूलाई छुटाएर विद्रोहीहरूका नेतालाई मार्दा बिन लादेन आन्दोलित भइसकेका थिए । त्यो सैन्य कारबाहीमा उनले इस्लामको सबैभन्दा पवित्र माटोमा गरिएको अत्याचार देखे । उनका लागि विद्रोहीहरू नायक र सहिद थिए । एक महिनापछि त्यो वर्षको तेस्रो निणर्ायक घटना भयो- सोभियत सेनाबाट अफ्गानिस्तानमाथि आक्रमण ।
पछि उनले धाक लगाए पनि ओसामा तत्कालै अफ्गानिस्तानभन्दा २० माइल टाढाको पाकिस्तानी सहर पेसावर गएनन् । थुप्रै वर्षसम्म अफ्गानिस्तानको माक्र्सवादी सरकारविरुद्ध भूमिगत र खुला अभियानको केन्द्र बनेर पेसावरले शीतयुद्धको महत्त्वपूर्ण अग्रआधारभूमिको छवि बनाएको थियो । १९८१ को सुरुतिर आएर १९८६ मा निर्णयक रूपमा त्यहीं बस्नुअघि उनले केही वर्ष पेसावर र साउदी अरेबियाबीच केही यात्रा गरे । अन्य अन्तर्राष्ट्रिय लडाकुहरूकै जस्तो अफ्गानिस्तानमा सोभियतहरू विरुद्धको युद्धमा बिन लादेनको भूमिकालाई पनि अतिरञ्जिन गरिएको छ । उनको र उनीहरूको सैन्य योगदान नगन्य थियो । 'विदेशी लडाकुहरू' कहिल्यै केही हजारभन्दा बढी भएनन्, तीमध्ये पनि कतिले युद्ध देख्दै-देखेनन्, तर शरणार्थीहरू या घाइते अफ्गानी लडाकुहरूका लागि आश्रयस्थल चलाए । सात अफ्गानी मुजाहिद्दीन समूहहरूलाई मात्रै पाकिस्तानीहरूले अमेरिकी र साउदी सहयोग बाँडेका थिए, अरूलाई होइन । त्यस्तै अफ्गानीहरूलाई मात्रै प्रशिक्षण दिइएको थियो । पछि दाबी गरिए जस्तो बिन लादेनलाई अमेरिकी जासुसी संस्था सीआईएले सिर्जना गरेको होइन, सीआईएको उनीजस्ता मान्छेसँग सम्पर्कै थिएन ।
१९८७ मा ३० वर्षका बिन लादेनले जाजी भनिने सानो अफ्गान बस्ती वरिपरिका डाँडामा भएको एउटा लडाइँमा भाग लिए । अफ्गानिस्तानबाट सोभियत शासन हटेको ६ महिनापछि पूर्वी अफ्गान सहर जलालावाद सरकारी सेनाबाट खोस्न गर्न गरिएको महँगो र दुर्भाग्यशाली युद्धमा बिन लादेन सहभागी भएको प्रत्यक्षदर्शीहरूले सम्झेका छन् । त्योभन्दा एक वर्षअघि बिन लादेन, अल-जवाहिरी र १४ अन्य सहयोगीहरूले पेसावर पश्चिमको एउटा बस्तीमा भाडामा लिइएको एउटा घरमा थुप्रै बैठकहरू गरेर अल-कायदा नामको संगठन खोलेका थिए । समूहको लक्ष्य, सांगठनिक स्वरूप र नेतृत्व संरचनाबारे छलफल गर्न घन्टौं बैठक भएका थिए । संस्थापकहरूले उनीहरूको समूहको नाम छान्दा खासै धेरै सोचेजस्तो देखिँदैन, तर त्यो सही र उपयोगी थियो । 'अल-कायदा' निकै नै प्रयोग गरिने अरेबिक शब्द थियो, यद्यपि सामान्यतः 'आधार'का रूपमा अनुदित भए पनि शब्दका अन्य अर्थहरू पनि छन् । यो विविधता र लचकता, जुन आफैंमा त्यतिबेलाका लडाकु समूहहरूले प्रयोग गर्ने नामहरूभन्दा फरक धारको थियो, पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण सावित भयो ।
आफूलाई अन्तर्राष्ट्रियवादी मान्ने अल-कायद त्यतिबेला इस्लामिक विश्वमा सक्रिय अन्य थुप्रै लडाकु समूहहरूभन्दा भिन्न भयो । त्यसका संस्थापकहरूको लक्ष्य सोभियतहरू विरुद्ध लडिरहेका फरक लडाकु समूहहरूलाई एकत्रित पारेर नयाँ लक्ष्यविरुद्ध निसाना साध्न लगाउनु थियो । अल-कायदाको अभियानले मुख्यतः दुई रूप लियो- अफ्गानिस्तानकै जस्तो गुरिल्ला युद्ध र हिंसामा आउन गरिएको आह्वानलाई बेवास्ता गर्नेहरूलाई उत्तेजित पार्ने शानदार र हिंस्रक कार्यहरू शृङखलाबद्ध ढंगमा गर्ने ताकि तिनले मुस्लिमहरूका लागि नयाँ युग आएको संकेत गर्ने जनआन्दोलनहरूको सिर्जना गरुन् । दुवै रणनीतिले एकअर्कालाई सहयोग गरे ।
अफ्गानिस्तानबाट सोभियतहरू हटेपछि र परस्पर संघर्षरत समूहहरू बीचको द्वन्द्व झन् खराब भएपछि लादेन साउदी अरेबिया फर्किए । नायकका रूपमा सम्मान गरिने आशा गरेका लादेन अधिराज्यका अधिकारीहरूबाट चिसो स्वागत पाएपछि फर्किएका मुजाहिद्दीनजस्तै स्तव्ध भए । बढ्दो रूपमा उनी आलोचक हुँदै थिए, तर त्यतिन्जेलसम्ममा उनी आफ्नै भूमिका शासकहरू विरुद्ध पूर्णरूपमा गइसकेका थिएनन् । अगस्ट १९९० मा इराकले कुवेत कब्जा गरेपछि र साउदी सुरक्षामा आँच पुर्‍याएपछि लादेनले 'भगवानविहीन' सद्दामविरुद्ध लड्न अरब र अफ्गान लडाकुहरूको एउटा समूह खोल्ने प्रस्ताव गरे । उनको प्रस्ताव अस्वीकृत भयो र साउदी शासक सल-साउदहरूले बरु अमेरिकाको सहयोग पो मागे ।
जनवरी १९९१ सम्ममा करिब तीन लाख विदेशी सेनाहरू साउदी भूमिमा जम्मा भइसकेका थिए । बिन लादेनले अमेरिकीहरूलाई 'पवित्र अरब माटोलाई अपवित्र' तुल्याएको आरोप लगाउँदै अरेबियामा दुई धर्महरूलाई छिर्नै दिन नहुने कुरानका हरफहरू उल्लेख गरे । अमेरिकी सेना निम्त्याउने सरकारी निर्णयलाई स्वीकृति दिएकोमा उनले साउदी उच्च धर्मगुरु र अन्य वरिष्ठ धार्मिक नेताहरूको पनि आलोचना गरे । घरमै नजरबन्द गरिएका बेला उनी साउदी अरेबियाबाट भाग्न सफल भए । उनी सुडानको राजधानी खार्तुम पुगे, जहाँ इस्लामी चिन्तक हस्सन तुराबी केही समय अघिमात्र सत्तामा पुगेका थिए र विभिन्न इस्लामिक समूहहरूलाई सुरक्षा र सुविधाहरू उपलब्ध गराइरहेका थिए । त्यसपछिका पाँच वर्ष बिन लादेनले अल-कायदाका योजनाहरूलाई अघि बढाउन प्रयास गरे । यमनका लडाकुहरूसँग सम्पर्क स्थापना गरे र १९९२ मा त्यहाँ भएको विस्फोटमा उनको नाम जोडियो । १९९३ मा सोमालियामा भएको दुर्भाग्यशाली अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध पर्यवेक्षकहरू, लडाकु होइन, पठाए । अन्य समूहहरूसँग सम्पर्क गर्ने उनका थुप्रै प्रयास र बाल्कन लगायतका क्षेत्रमा भएका उनका प्रयास विफल भए । बिन लादेनले बाटो बिराएको जस्तो धेरैलाई महसुस हुनथाल्यो ।
तर अमेरिकी सुरक्षा एजेन्सीहरूको र्‍याडरमै थिए- लादेन, यद्यपि उनको नामको हिज्जे प्रायः गल्ती लेखिन्थ्यो र उनलाई 'लगानीकर्ता'का रूपमा वर्णन गरिन्थ्यो । १९९४ मा साउदी सरकारले लादेनको नागरिकता रद्द गर्‍यो र उनको परिवारले पनि उनलाई त्याग्यो । १९९६ मा सुडानले पनि अमेरिकी दबाबमा आफ्नो विरोधाभाषपूर्ण पाहुनालाई देशबाट निकाल्यो ।
लादेन जलालवाद गए, जहाँ तालिवान विरोधी अफ्गानी युद्धसरदारहरूले उनलाई संरक्षण दिने भए । त्यसपछिका वर्षहरूमा चाहिँ अल-कायदा साँच्चैको 'आधार' भयो, स्थापनाकालमा कल्पना गरिए जस्तो । बिन लादेनले अनुभवी सहकर्मीहरू पाए- अल-जवाहिरीसँग मिलेर प्रशिक्षण शिविरहरू खोले जहाँ स्वयम्सेवीहरूको समूह तयार गरियो । तर अल्जेरिया, इन्डोनेसिया, चेच्निया, उज्वेकिस्तानका थुप्रै लडाकु समूहहरूसँग साझेदारी गर्न अल-कायदाले गरेको प्रयास सफल भएन । यसैबीच बिन लादेनले केही छानिएका पत्रकारलाई अन्तर्वार्ता दिएर भूउपग्रहीय टीभीमार्फत धेरै मानिसहरूसम्म पुग्ने नीति लिए । उनले आफ्नै 'फत्वा' या धार्मिक विचारहरू सार्वजनिक गर्न थाले । १९९८ मा बंगलादेश, इजिप्ट, पाकिस्तानका चार समूहहरूसँग मिलेर अल-कायदाले यहुदी र अन्य धर्मयुद्धकारीहरू विरुद्धको लडाइँ गर्ने भन्दै एउटा विश्व मञ्च गठन गरे । आफ्नो प्रोपोगान्डालाई काममा बदल्दै लादेनले १९९८ अगष्टमा नाइरोवी र दार ए सलामस्थित अमेरिकी दूतावासहरूमा बम आक्रमण आयोजना गरे ।
तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले प्रत्युत्यरमा सुडान र अफ्गानिस्तानमा रहेका लादेनका थुप्रै भवन र प्रशिक्षण बिविरमा क्रुज मिसाइल प्रहार गरे । थुप्रै पाकिस्तानी र अल्जेरिन मित्रहरू मरे, तर लादेन आफैंचाहिँ सकुशल उम्किए । १९९९ मा अमेरिकाले तालिवानविरुद्ध जुलाई १९९९ मा नाकाबन्दी लगायो ।
बिन लादेनलाई सबैभन्दा बढी कुख्यात बनाउने २००१ सेप्टेम्बर ११ को न्युयोर्क र वासिङ्टन डीसीमा भएका आतङ्कारी घटनाचाहिँ उनका आफ्नै योजना थिएनन् । ती योजना खालेद शेख मोहम्मदका मनमा उब्जिएका थिए । बिन लादेन अफ्गानिस्तान पुग्ने बित्तिकै उनलाई भेट्न कुवेतमा जन्मेका पाकिस्तानी अनुभवी र कुशल लडाकु शेख गएका थिए । दर्जनौं विमानहरूलाई अपहरण गरेर तिनलाई अमेरिकी निसानाहरूमा बजार्ने शेखको महत्त्वाकांक्षी योजनालाई सुरुमा बिन लादेनले अस्वीकार गरिदिएका थिए । तर १९९९ मा अल-कायदाका वरिष्ठ नेताहरूको बैठकमा ती योजनालाई ब्युँताएर, सुधारेर लागू गर्ने निर्णय गरियो । त्यो योजनाका विरोधीहरूले त्यस्तो गरे अमेरिकाले भयंकर ठूलो प्रतिक्रिया दिने डर व्यक्त गरेका थिए । तर अमेरिका डरछेरुवाहरूको कुहिँदो देश हो भन्ने टुंगोमा पुगेका लादेनले योजना लागू गर्ने निर्णयलाई अघि बढाए । थुप्रै प्रशिक्षण शिविरबाट उक्त कार्यका लागि स्वयम्सेवकहरू छानिने निर्णय भयो ।
यतिन्जेलसम्म सीआईएले बिन लादेन शाखा नै खोलिसकेको थियो र उनलाई जिउँदै या मरेको फेला पारेर बुझाउनेलाई ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो । तर लादेनलाई लक्ष्य गर्नु एकदमै अप्ठेरो भयो । अमेरिकी सुरक्षा एजेन्सीहरू आफैं झगडा गरिरहेका थिए । सीआईए या नागरिक संस्थाहरूले बनाएको योजनालाई अमेरिकी सेनाले शंका गथ्र्यो । उता लादेनको तालिवानसँगको सम्बन्ध पनि जटिल बन्यो, दुवै एकअर्कालाई शंका गर्थे । तर तालिवानी नेता मुल्लाह मोहम्मद ओमारमा अन्तर्राष्ट्रियवादी विचार घुसाउन लादेन सफल भएका थिए । सुरुमा सुरक्षा दिने युद्धसरदारलाई तालिवानले लखेटेपछि बिन लादेन काबुर र कान्धाहारबीच ओहोरदोहोर गर्न थाले भने जलालावाद दक्षिणका तोराबोरा पहाड नजिकै आधारभूमि बनाए ।
११ सेप्टेम्बरमै चाहिँ लादेन लोगार प्रदेशका पूर्वी पहाडहरूमा थिए- लगभग त्यही क्ष्ाेत्रमा जहाँ उनी १५ वर्षअघि युद्ध लडेका थिए । सर्टवेभ रेडियोबाट उनले अमेरिकामा आफ्नो योजना सफल भएको समाचार सुने । एकैपटक जस्तो अपहरण गरिएका चार विमानहरूको संयोजन, आतङ्ककारीहरू आएको स्थान र उनीहरूको 'वीरगति', निसानाहरूको छनोट आदि सबै कुराले एउटै समूहतिर औंल्यायो- अल-कायदा । त्यो आक्रमण हुनुभन्दा केही महिनाअघि अस्पष्ट भाषमा अमेरिकी जासुसी संयन्त्रामा त्यस्तै आक्रमण हुनसक्ने बारे अनुमान गरिएको थियो ।
आक्रमणको केही घन्टामै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले त्यसको दोष लादेनलाई लगाउँदै उनको दृष्टिमा आतङ्ककारीलाई संरक्षण दिने देशविरुद्ध सैन्य कारबाहीको तयारी गरेर अमेरिकालाई सुरक्ष्ाित बनाउने अभियान थाले, जो पछि 'आतङ्कविरुद्धको विश्वव्यापी युद्ध' का रूपमा चिनियो । लादेनलाई देशनिकाला गर्न तालिवानलाई अमेरिकाले अल्टिमेटम दियो, जो तालिवानले आक्रमणमा आफ्नो सहभागिता नरहेको भन्दै अस्वीकृत गरिदियो । लगत्तै अमेरिकाले अफ्गानिस्तानमा बम आक्रमण थाल्यो, जसलाई तालिवानविरोधी समूहले साथ दिए । तालिवान सत्ता ढल्यो, नोभेम्बरमा काबुल मुक्त हुँदा काबुलवासीले पहिलोपटक अमेरिकी र बेलायती 'विदेशी' विरुद्ध होइन, पाकिस्तानी, चेचन र अरबहरूविरुद्ध असन्तोष व्यक्त गरे ।
थुप्रै अल-कायदा नेताहरू मारिए र उनीहरूको पूर्वाधार नष्ट भए पनि लादेन उम्किए, अफ्गानिस्तानमा अमेरिकी कारबाही पूर्ण भएन । अर्धस्वशासित र समस्याग्रस्त पाकिस्तानी जनजाति क्षेत्रहरूमा लादेनले बास पाए । त्यहाँबाट उनी र उनका सहयोगीले गुमेका पूर्वाधार र सम्पर्क पुनर्निर्माण गर्ने प्रयास गरे । २००५ र ०६ मा उनका ती प्रयासले केही सफलता पाउनलागे जस्तो देखियो, तर व्यापक रूपमा मुस्मिल विश्वमा आफ्नो समर्थन सिर्जना गर्न लादेन र कायदा असफल भए । हालैका केही वर्षमा अरब विश्वमा हिंसात्सक धर्मयुद्धभन्दा अहिंसात्मक जनआन्दोलनप्रति जनता बढी आकषिर्त भए, जसलाई लादेन र अल-कायदाको नीतिलाई अस्वीकार गरिएको रूपमा लिन सकिन्छ । ओसामा बिन लादेनका चार पत्नी र १९ बच्चाहरू छन् । आतङ्कवादी ओसामा बिन लादेनको जन्म १० मार्च १९५७ मा भएको थियो । उनी १ मे २०११ मा मरे ।
दी गार्जियनबाट, ekantipur, २०६८ वैशाख २०

यसरी भयो ओसामाको अन्त्य
ओसामा बिन लादेन अन्ततः डेभग्रु -नेभल स्पेसल वारफेयर डेभलपमेन्ट ग्रुप) को सिल -सि, एयर एन्ड ल्यान्ड) टिम नं ६ का हातबाट दुई गोली खाएर मारिए । २००१ सेप्टेम्बर ११ को हमलालगत्तै अमेरिकी कंग्रेसले आतंककारी देश, संगठन तथा व्यक्तिविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई दिएदेखि 'ओसामा हन्ट' सुरु भएको थियो ।
९/११ को घटनाअघि ओसामामाथि तीन असफल आक्रमण गरिएको थियो । १९९४ फेब्रुअरीमा साउदीतर्फबाट केही लिबियनहरूले सुडानमा ओसामाका घरमै आक्रमण गरेका थिए । १९९८ अगस्त २० का दिन 'अप्रेसन इनफिनिट रिच'का रूपमा युएस नेभीले अफ्गानिस्तानको खोस्तस्थित अलकायदाको तालिम केन्द्रमा ६६ वटा क्रुज मिसाइल हान्दा ३० जनाको मृत्यु भए पनि ओसामा बचेका थिए । त्यस्तै सन् २००० मा अफ्गानिस्तानकै पहाडमा गाडीहरूको एक लस्करमा रकेट उर्जित गि्रनेडहरू हान्दा श्ांकास्पद एक गाडी ध्वस्त भयो, ओसामा चलाखीपूर्वक अर्कै गाडीमा चढेकाले बचे । ट्विन टावर ध्वस्त पारिएको अढाई महिनाभित्रै लादेनको मूल क्याम्प तोराबोरा पहाडमा भयानक आक्रमणसहित कब्जा गर्दा युएस फौज पुग्नु दुई घन्टाअघि नै उनी भाग्नुमा आईएसआईको हात रहेको आशंका गरिएको थियो ।
उता लादेनचाहिँ 'दुश्मन'लाई पाकिस्तानको उत्तरपूर्वी आदिवासी क्षेत्रमा अल्मलाएर २००३ देखि अढाईर् वर्ष अब्बोतावाद नजिकको हरिपुर जिल्लाकोे चक शाह महम्मद भन्ने गाउँमा बसेका थिए । २००५ देखि हालको स्थान अर्थात् अब्बोतावादको विलाल सहरको एक घरमा ओसामाको परिवार बस्दै आएको रहेछ । अफ्गानिस्तानबाट १६० किमि टाढा सुदूर पूर्वी पाकिस्तानको उक्त विलाल सहर राजधानी इस्लामावादबाट ५६ किमिको दूरी तथा भारतीय सीमाबाट ३२ किमि दूरीमा पर्छ । पाकिस्तान सैनिक एकेडेमीभन्दा १३ सय मिटर दक्षिण-पश्चिम भागमा रहेको उक्त घरको कम्पाउन्ड वरिपरि १२ फिटदेखि १८ फिटसम्मका अग्ला कंक्रिट पर्खालमाथि काँडेतारसमेत लगाइएका थिए । दुई सुरक्ष्ाा ढोका रहेको उक्त 'किल्ला' ओसामा तेस्रो तलामा बस्थे, जहाँ उनी बस्ने ठाउँ छेकिनेगरी ७ फिटे पर्खालसमेत लगाइएको थियो ।
लादेनले आफ्नै उच्च कमान्डरबाट आफ्नो बसाइ गोप्य राख्ने र सन्देशवाहकको मात्र उपयोग गरी आदेश र सूचना लिनेदिने गर्थे । उनको खोजीको सूत्राधार सन्देशवाहकमात्रै हुनसक्थे । २००२ मै क्वान्टम बेमा एक कैदीमार्फत थाहा पाइएका कोड नेम शेख भनिने अबु अहम्मद अल क्वेटीको २०१० को अगस्तमा टेलिफोन ट्यापिङमार्फत पिछा गरी उक्त घरमा गत अगस्तमै सीआईए पुगेको थियो । त्यसैबेलादेखि नजिकको घर भाडामा लिई सीआईएले लगातार 'सर्भिलेन्स' गर्नथालेको थियो । सेफ हाउसका झ्यालमा विशेष कभरहरूको प्रयोग गरी पछाडिबाट क्यामेराहरू, इन्प|mारेड उपकरणहरू तथा टाढाको आवाज सुन्ने लिसनिङ सिस्टम लगायत लोकल जासुसहरूको व्यापक उपयोग गरेको थियो । साथै ३६ सेटेलाइटले लगातार उक्त घरको सर्भिलेन्स गरिरहेका थिए । हालसम्म गत ८ महिनादेखि सीआईएको एयर, ग्राउन्ड तथा इलेक्ट्रोनिकल सर्भिलेन्स उक्त घर तथा निज अबुमाथि लगातार भइरहेको थियो, जसबारे पाकिस्तानलाई कुनै पनि जानकारी दिइएको थिएन । ओसामाका सम्पूर्ण कमान्ड कन्ट्रोलको माध्यम तथा घरपरिवारको व्यवस्थापन र खरिदसमेत पस्तुन र उर्दूसमेत बोल्ने निज अबु क्वेटी एक्लैले गर्ने गरेका
थिए । अर्को एकजना उर्दू बोल्न नजान्नेले पनि आफूलाई पस्तुन तथा क्रमशः अर्सद खान तथा तारिक खान भनी नक्कली परिचय दिएर बसेका थिए । उक्त घरबाट अरू कोही पनि बाहिर निक्लेको कसैले देखेन । केही स्थानीय बच्चाहरूलाई भने कम्पाउन्डमा ल्याएर घरका बच्चाहरूसँग खेल्न दिइन्थ्यो । स्थानीयहरूले उक्त घरकालाई कि पागल कित तस्कर हुन् भन्ने गर्थे ।
मार्च १४ देखि अपि्रल २८ सम्म राष्ट्रपति स्वयम्ले चारपटक 'ज्वाइन्ट स्पेसल अप्स कमान्ड'का चिफ भाइस एडमिरल विलियम एच म्याकरेभनसँग विभिन्न कारबाहीहरू विषयक छलफल गरेका थिए । बी २ स्टेल्थ बम्बरले २ हजार पाउन्डको बम घरमा खसाल्नेदेखि आईएसआईसँग ज्वाइन्ट अप्रेसन गर्ने तथा ड्रोन हमलासम्मका उपायहरूमध्ये यही अप्रेसन नेप्च्युन स्पियर छानियो । मार्चमा सिल टिमले अमेरिकाको आफ्नै तालिम केन्द्रमै र अपि्रलपछि अफ्गानिस्तानको बेेग्राम मिलिटरी बेसको क्याम्प अल्फामा एक एकड जमिनमा उस्तै कम्पाउन्ड र घरसमेत बनाई वजिरिस्तान हवेली नामकरण गरी सिल कमान्डोहरूको व्यापक तालिम गराइयो । तर तालिम गर्ने-गराउने कसैलाई पनि के कसो भन्ने थाहा थिएन । अपि्रल २९ को बिहान साढे ८ बजेमात्र ओबामाले अप्रेसन नेप्च्युन स्पियर हेडको आदेश दिए । नाइटभिजन डिभाइसलाई केही लाइट भए लाभ हुनेहुँदा मे १ अर्थात् चतुर्दसीको रात डी डे -एक्सन दिन) तोकिए पनि मौसम खराब भएकोले भोलिपल्ट औंसीका दिन अर्थात् मे २ मा सारिएको थियो ।
अफ्गानिस्तानको बग्राम एयर बेसबाट सुरु गरी सबै टोली स्टेजिङ बेस जलालावादमा जम्मा भएका थिए । सबै गरी ७९ कमान्डो तथा एक कुकुरसमेतको उक्त टास्कफोर्समा घरमै मेन अप्रेसनका लागि सिलको भने १२/१२ जनाको दुई टिम खटिएको थियो । अप्रेसन बेला जमिनमा २८ जना थिए । आजसम्म कसैले नदेखेका मोडिफाइड स्टेल्थ अर्थात् रडारमा अदृश्य ब्ल्याक हक हेलिकप्टर दुइटा उक्त सिल कमान्डोका लागि उपयोग गरिएकोमा कमान्डोलाई डोरीबाट रिपेलिङ गराई खसालिसकेपछि 'हुभरिङ' गर्दा एक ब्ल्याक हकको पर्खालमा पंखा ठोकी इमर्जेन्सी ल्यान्डिङ गरिएको थियो । तर 'डेमेज' भएकोमा भोलिपल्ट मर्मत गर्न सकिने भए पनि हेलिकप्टरको यान्त्रिक गोप्यताका लागि विस्फोटक पदार्थको उपयोग गरी हिँड्नुअघि नष्ट पारियो । साथमा ब्याक अपका लागि दुई चिनोक हेलिकप्टरसमेत सँगै थिए । साथै थप मद्दतका लागि अन्य फाइटर्ज, ड्रोन तथा कम्ब्याट सर्च एन्ड रेस्कयु हेलिकप्टरका पूरै टिम थियो । हकबाहेक अन्य जहाजहरू प्ाकिस्तानी रडारबाट बच्न जमिन नजिकबाट 'न्याप अफ द अर्थ' अर्थात् धरातलको रूपअनुशार तलमाथि गरी गएकाले गोप्य रहेको थियो । तर आक्रमणपछि पाकिस्तानी फाइटर जेटलाई सक्रिय बनाइए पनि रेडमा हस्तक्षेप गरेनन् । रेडका समय विशेष ज्यामिङ उपकरणमार्फत उक्त क्षेत्रका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिङ उपकरणहरू उपयोगहीन बनाइएको थियो ।
टिम ए-ले माथि कौसीमा र टिम बी-ले तल कम्पाउन्डमा डोरीमार्फत हेलिकप्टरबाट रिपेलिङ गरी झरेको सञ्चारमा आए पनि सिलको टेक्निक गोप्यताका लागि मोडस अप्रेन्डिबारे मौन छन् । करिब १ बजे कम्पाउन्ड वालमा समेत विस्फोटकबाट छिद्र बनाइयो । गेस्टहाउसमा बसेका सन्देशवाहक सशस्त्र क्वेटी र टिम बी-बीच गोलीबारी हुँदा क्वेटी तथा उनकी पत्नी मारिए । मुख्य घरको पहिलो तलामा क्वेटीका नातेदार र भरेङमा ओसामाका छोरा हम्जा -खालिद) टिम बी-बाट मारिए । टिम बी-ले सुरुमै भेटेसम्मका बच्चा लगायत महिला र पुरुषहरूलाई प्लाष्टिक हतकडी लगाई नियन्त्रणमा राखेको थियो, जसलाई अप्रेसनपछि मुक्त गरियो । ओसामा पहिले तेस्रो तलामा भागेका र पछि आफ्नै कोठामा पसेका थिए । उनले सलवार-कमिज लगाई ५०० युरो तथा दुई टेलिफोन नम्बर लुगामा सिलाई भाग्नखोजे पनि तलमाथि चारैतिरबाट घेरिए ।  पाँचौं पत्नी यमनी अमाल अहम्मद अब्दुल फताहलाई मानवढाल बनाउन पुगेका बेला सिलले अमालको खुट्टामा गोली हानी घाइते बनाएपछि ओसामाका टाउकामा गोली हाने । हाई क्यालिवरको गोली भएकोले पहिलो गोलीले बायाँ आँखा र आधाभन्दा बढी अगाडिको खप्पर उडाई गिदी नै बाहिर निकालिसके पनि 'डबल ट्याप टेक्निक' अर्थात् ग्यारेन्टीका लागि दोस्रो गोली छातीमा हानिएको हो । वीभत्स देखिने कारण यही हाई क्यालिवर गोलीले हो । १२ वषर्ीया छोरी साफियासमेत त्यसबेला उक्त कोठामा थिइन् । ओसामाका कोठाबाट एक एके- ४७ एक तथा म्याक्रोभ पिस्तोलसहित अन्तबाट समेत गरी जम्मा एके- ४७ तीन र दुई पिस्तोल फेला परेको थियो । जम्मा ३० मिनेटको योजना बनाइए पनि ३८ मिनेट लाग्न पुगेको उक्त अप्रेसनमा ओसामासँग आमने-सामने अन्तिम १० मिनेटमा मात्र भएको थियो ।
अप्रेसनको नाम नेप्च्युन स्पियर थियो । स्पेसल वारफेयरको चिह्नमा युनानी नेप्च्युनको त्रिकोणात्मक भाला अर्थात् सी, एयर र ल्यान्डमा अप्रेट गर्ने क्षमताका प्रतीक हुन् । त्यसैबाट यस अप्रेसनको नाम लिइएको हो । ज्याकपट नाम ओसामालाई दिइएको र यदि ओसामा पक्रिए या मारिए भने जेरिनिमो भन्ने हो । ओसामा मारिँदा सुपि्रम कमान्डर इनचिफ ओबामालाई सिलले भनेको थियो, जेरिनिमो केआईए । -अर्थात् किल्ड इन एक्सन) ओसामाको लासबाट तत्कालै दुइटा सेम्पल झिकी अफ्गानिस्तानमा राखिएको ब्रेन क्यान्सरबाट मरेकी उनकी बैनीको डिएनएसँग विश्लेषण गरेको प्रमाण पुगेपछि मात्रै ओबामाले घोणणा गरेका हुन् ।
दस वर्ष लगाएर ओसामाको अन्त्य भए पनि र समुद्रमा उसका मांसपिण्ड समाधिस्थ गरिए पनि विश्व उनको छायाबाट पनि त्रस्त छ । उसको घरबाट बरामद हस्तलिखित दस्तावेज र हार्ड डिस्कमा फेला परेका विनाशकारी योजनाहरूको खुलासा भएपछि त्रास बढेको हो । महादेवले आफैंले जन्माएको भष्मासुरले उनैलाई सिद्धयाएको पुराणको अर्थ न अमेरिकाले लिएको छ, नत अन्य शक्तिहरूले लिएका छन् । आतंकले विनाशमात्र गर्छ, विकास र निकास होइन । ekantipur, २०६८ वैशाख २७

मारिए लादेन
दस वर्ष अमेरिकाको 'मस्ट वान्टेड' मा रहेका विश्व आतंकवादी संगठन अलकायदाका संस्थापक तथा नाइके ओसामा बिन लादेन अमेरिकी सेनाको विशेष टुकडीको कारबाहीमा परी पाकिस्तानको एक सहरमा मारिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार राष्ट्रको नाममा गरेको सम्बोधनमा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका हुन् । पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको अब्बोत्तवाद सहरमा आइतबार राति भएको कारबाहीमा लादेन मारिएका हुन् । ओबामाले लादेनको मृत्युबाट विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफलता हात लागेको टिप्पणी गरे ।
लादेन २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कस्थित टि्वन टावरलगायत दुई अरू ठाउँमा गरिएको आतंकवादी हमलाका प्रमुख योजनाकार थिए । उक्त हमलामा ३ हजारभन्दा बढी अमेरिकीहरूको ज्यान गएको थियो । अमेरिकी जलसेनाको नेभी सिल-६ नामक विशेष टुकडीले चारवटा हेलिकप्टरका साथ बिन लादेन रहेको घरमा मध्यरातमा आक्रमण गरेको जनाइएको छ । बिन लादेनले प्रत्याक्रमणको प्रयास गरेपछि उनलाई गोली हानी मारिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमणका बेला लादेन उच्चमध्यम वर्गीय र प्रायः सैन्य परिवार बस्ने क्षेत्रस्थित एक घरमा रहेको जनाइएको छ । उनको घर १८ फिटको पर्खालले घेरिएको र छिमेकका घरहरूको तुलनामा आठ गुणा ठूलो रहेको बताइएको छ । त्यहाँ फोन र इन्टरनेट सुविधा नरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणका क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भए पनि कोही हताहत नभएको जनाइएको छ । आक्रमणमा लादेनसहित अरू तीन जना मारिएका छन् । मानव ढालका रूपमा प्रयोग गरिएकी बिन लादेनकी पत्नीमध्ये एक पनि मारिएकी छन् ।
लादेनको शव इस्लामिक परम्पराअनुसार समुद्रमा अन्त्येष्टि गरिएको सुरक्षास्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन ।
लादेन मारिएको खबर आएको केही घन्टामै अफगान राष्ट्रपति हमिद कारजाईले उनको मृत्यु 'आफ्नै कर्तुतका कारण' भएको टिप्पणी गरे । तालिवान शासनकालमा लादेनले तालिवानलाई भरपूर आर्थिक, सैन्य र प्राविधिक सहयोग दिएका थिए । कारजाईले तालिवानलाई लादेनको घटनाबाट पाठ सिक्न आग्रह गर्दै शान्ति प्रक्रियामा आउन आग्रह पनि गरे । पाकिस्तानप्रति तिक्तता पोख्दै उनले भने, 'हामीले त भनेकै हौं नि । अफगानिस्तान आतंकवादको अखडा नभएको आजको घटनाले पुष्टि गरेको छ ।' अबदेखि नेटोलाई अफगान घरआँगनमा आतंकवादविरुद्ध युद्धको अधिकार नभएको पनि उनले बताए ।
लादेन सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा थिए । यहाँबाट उनले अलकायदा सञ्जाल विश्वभर पुर्‍याउन सफल भएका थिए । २००१ मा अमेरिकामा गरिएको आक्रमणको योजना पनि अफगानिस्तानमै बनाएको बताइन्छ ।
सीआईएले वषौर्ंसम्म उनको पिछा गरेको र कमसेकम आधा दर्जन पटक उनीमाथि कारबाही प्रयास भएको अमेरिकी पत्रकार स्टिभकोलले पुलित्जर पुरस्कार विजयी 'गोस्ट वार' किताबमा लेखेका छन् । तालिवानले अलकायदा र ओसामा बिन लादेनलाई सहयोग गरेको र सुरक्षित ठाउँ दिएको भन्दै अमेरिकाले आफूमाथि आतंकवादी हमला भएको दुई महिनापछि नोभेम्बर २००१ मा तालिवानविरुद्ध युद्ध छेडेको थियो । तालिवान सुरुमा परास्त भए पनि २००५ पछि फेरि विद्रोहमा उत्रेको थियो । गत वर्ष युद्ध सुरु भएपछिको सबैभन्दा हिंसात्मक वर्ष रह्यो, जसमा ७ सय अन्तर्राष्ट्रिय सैनिक मारिए । दुवै पक्षबाट गरी २ हजार ७ सय अफगानीको मृत्यु भएको थियो ।
अफगानिस्तानमा हाल झन्डै १ लाख ४० हजार अन्तर्राष्ट्रिय सेना तैनाथ छन् । तीमध्ये दुई तिहाई अमेरिकी हुन् । अफगानिस्तानका लागि अमेरिकी राजदूतले लादेनको मृत्यु आतंकवादविरुद्ध युद्धको अन्त्य नभएको बताए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि अफगानिस्तानमा तालिवानविरुद्धको लडाइँ नसिद्धिने बताएकी छन् ।
युद्धपरस्त अफगानीहरू हरेक सन्दर्भमा विभाजित छन् । लादेनको मृत्युको खबरप्रति पनि उनीहरू विभाजित देखिए । कतिपय अफगानी सडकमा अमेरिकी सेनालाई गाली गर्दै हिँडेको देखिए भने कतिले अब मुलुकमा केही शान्ति होला कि भन्ने आस गरे ।
काबुलका किराना पसले सायद जब्बरले भने, 'अब हाम्रो देशमा शान्ति आउँछ कि भन्ने आस छ ।' पाकिस्तानी सिमाना जलालावादका अब्दुल गफुरले भने लादेनको मृत्युले दुःख लागेको बताए ।
'आखिर जे भए पनि मुस्लिम हुन् । अमेरिकी हैकमविरुद्ध उभिएका थिए,' अर्का एक हैदर सिकन्दरले भने, 'अझ बढी आत्मघाती आक्रमण हुने पो डर छ । तालिवानले यसै सन्दर्भलाई उचालेर झन् विध्वंस मच्चाउने हुन् कि ?'
तालिवान शासनकालमा पाकिस्तानका लागि राजदूत भएका अब्दुल सलाम जाइफले भने, 'जिहादमा कोही बाँच्छ भने सफल ठहरिन्छ तर यदि कोही मर्छ भने साँच्चै बिजेता भएर निस्किन्छ । हरेक जिहादी सहिद अमर हुन्छ ।'
तैपनि यो घटनाले अफगानिस्तानमा भइरहेको युद्धमा कुनै फरक नल्याउने उनले फोनमा बताए । जिहादी वेबसाइटहरूले लादेनको मृत्युको बदला लिने घोषणा गरे पनि अलकायदाबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
तालिवानले पनि यसमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि केही तालिवान नेताहरूले भने यसले अफगान युद्धमा केही फरक नपर्ने बताए । उत्तरी कुन्दुज प्रान्तका एक तालिवान सहायक कमान्डरले यस संवाददातासँगको कुराकानीमा भने, 'हामी दुःखित छौं तर सहिद हुनु आदरणीय कुरा हो । त्यसैले हामी खुसी पनि छौं । खालि हाम्रो शंका अब महान् नेताको अनुपस्थितिमा के हुन्छ भन्ने हो । हामी जिहादलाई कायमै राख्छौं ।'
अफगान विश्लेषक हारुन मिरका अनुसार लादेन आउनुअघि अफगानिस्तानमा आत्मघाती आक्रमणको रेकर्ड थिएन । 'आफगानी राष्ट्रिय नेता अहमद शाह मसुद उनकै अलकायदाको अरब जिहादी आत्मघातीको आक्रमणमा मारिएका थिए, जसको नेतृत्वको अभाव अझै पूरा हुन सकेको छैन,' उनले भने, 'ओसामा बिन लादेनले अफगानिस्तानलाई दुःख र विध्वंस दिए । उनको तालिवानप्रतिको समर्थनले अफगानिस्तानलाई अप्ठ्यारोमा धकेल्यो । पाकिस्तानमा रहेको आतंकवादी संगठनको समाप्तिबिना अफगानिस्तानमा शान्ति प्रक्रिया सम्भव छैन ।'
अफगानिस्तानको पूर्वी र दक्षिणको हजारौं किमि सिमाना पाकिस्तानसाग जोडिएको छ । दक्षिणको कान्दाहार र हेन्मान्ड प्रान्तहरूमा नेटोले केही सफलता हासिल गरेको भए तापनि उक्त सफलता क्षणिक रहेको सैन्य अधिकारी बताउाछन् । पाकिस्तानको क्वेर्टा सहर, वाजिरिस्तान र बालुचिस्तानमा संघर्षरत तालिवान नेताहरू रहेको जनाइएको छ र तर यसलाई पाकिस्तानले इन्कार गर्दै आएको छ ।
लादेन पाकिस्तानमा मारिएपछि तनावमा रहेको अमेरिका-अफगानिस्तान सम्बन्ध अब कता जान्छ भन्ने प्रश्न उब्जिएको छ । यसै वर्ष जुलाईमा सुरु हुने सुरक्षा कार्यभार हस्तान्तरण सन् २०१४ मा सम्पूर्ण रूपले अफगान सुरक्षा निकायहरूले लिनेछन् । तर उनीहरूको कार्यक्षमताबारे धेरैको शंका छ । गत महिना मात्रै काबुलस्थित रक्षा मन्त्रालयभित्रै तालिवानका एक आत्मघातीले आक्रमण गर्दा तीन सैनिकको मृत्यु भयो । पूर्वाद्ध कुनार र नुरिस्तान प्रान्तमा अलकायदाको संगठन अझै रहेको र तालिवान बलियो रहेको समाचार विगत केही महिनामा बाहिर आएका छन् ।
अफगानिस्तानमा संघर्षतमध्ये एक हर्कानी सञ्जालको बलियो संगठन छ, जसको अलकायदासाग 'कायदाको सम्बन्ध' रहेको जानकारहरू बताउँछन् । हारुन मिर भन्छन्, 'यिनीहरू अतिवादी हुन् । मर्न डराउन्नन्् । अझ आफ्ना नेता मारिएको बदला लिन ठूलै काण्ड गर्न सक्छन् ।' हतोत्साही भएर पनि यदि अलकायदाको सांगठनिक नेतृत्व भंग गर्न सकिएन र आर्थिक सञ्जाल भत्काउन सकिएन भने लादेनको मृत्युले केही हुन्न,' उनी भन्छन्, 'सबै कुरा अब पाकिस्तानमा गएर ठोकिन्छ ।' ekantipur, २०६८ वैशाख २०




कोही सुरक्षित छैन आतङ्कवादको आगोबाट
न्यूयोर्कमा बिहान पौने नौ बजेको थियो; सधैँजस्तो अर्को एउटा व्यस्त बिहान । तर एकैछिनमा २६ भदौको त्यो बिहानी सधैँ जस्तो रहेन; ‘कालो मङ्गलबार’ भएर अमेरिकीहरूसँगै संसारभरका मानिसहरूको मनमस्तिष्कमा अङ्कित भयो । बस्टनबाट लसएन्जेलस जान उडेको अमेरिकन एअरलाइन्सको एए ०११ यात्रुवाहक विमानलाई अपहरणकारीले न्युयोर्कको मुकुट; वल्र्ड ट्रेड सेन्टरको गगनचुम्बी भवनमा लगेर ठोक्काइदियो । स्पष्टतः यो कुनै आत्मघाती आतङ्कवादीको काम थियो । मुटु हल्लियो तुलनात्मक हिसाबले आफ्नो देशलाई ‘सुरक्षित’ ठान्ने अमेरिकीहरूको । यो अकल्पनीय घटनाले सन्न बनायो उनीहरूलाई, जसरी १९ जेठको शाही–संहारले नेपालीहरूलाई बनाएको थियो ।
धेरै मुटुहरू न्यूयोर्कभन्दा झ्ण्डै ९ घण्टा ४५ मिनेट समय फरक रहेको काठमाडौँमा पनि हल्लिए । सीएन्एन् र बीबीसी जस्ता २४ घन्टै समाचार प्रसारण गर्ने टीभी च्यानलका क्यामराहरू जसरी वल्र्ड ट्रेड सेन्टरतिर लक्षित थिए त्यसरी नै एकाग्र थिए करोडौँ जोडी आँखाहरू टीभी स्क्रीनमा । तिनले देख्दादेख्दै (नेपालमा साँझ् पौने सात बजे) युनाइटेड एयरलाइन्सको अपहरित विमान अर्को टावर (भवन) मा ठोक्कियो र केहीबेरपछि वल्र्ड ट्रेड सेन्टर गल्र्यामगुर्लुम्म ढल्यो । आगो र धुवाँको मुस्लो धुलोको कालो बादलभित्र हरायो । वासिङ्गटनमा अमेरिकन एअरलाइन्सकै अर्को अपहरित विमान अमेरिकाको सैनिक मुख्यालय ‘पेन्टागन’ मा जोतियो । स्थानीय समय बिहान १०ः३० बजे पिट्सवर्गनेर ठोक्किने चौथो अपहरित विमान थियो । भागाभाग भयो अमेरिकाभरि नै । राष्ट्रपति जर्ज बुशलाई समेत नेब्रास्काको परमाणु सुरक्षित आश्रय केन्द्रमा पु¥याए सुरक्षा अधिकारीहरूले । अमेरिकीहरूको सुरक्षित जीवनशैली सधैँजस्तो रहेन त्यो ‘कालो मङ्गलबार’ पछि । निरीह देखियो आतङ्कका अगाडि अमेरिकीहरूको अभेद्य सुरक्षा व्यवस्था ।
काठमाडौँको छटपटी स्वाभाविक मानवीय समवेदना थियो । न्यूयोर्कमा आफन्त कोही नभएकी कालिमाटीकी एक महिला पनि धुरुधुरु रोइन्, वल्र्ड ट्रेड सेन्टर धराशायी भइरहेको दृश्य टीभीमा देख्दा । तर धेरैजसो काठमाडौँका उच्च मध्यमवर्गीय परिवारहरूको चिन्ताको विषय भने सोझ्ै व्यक्तिगत थियो ।
चाबहिलमा एकजना सचिवकी श्रीमती रातभर सुतिनन् । उनका छोरी–ज्वाइँ र छोरा अमेरिकामा छन् । बुधबार बिहान तिनीहरूले नै फोन गरे । अमेरिकामा टेलिफोन सेवा अस्तव्यस्त भएको रहेछ, त्यसैले सम्पर्क स्थापित हुन समय लागेको रे ! पाटन बस्ने एउटा पत्रकार आफ्नी म्यानह्याटन बस्ने छोरीसित इन्टरनेट च्याट गर्न थाले, टेलिफोन सम्पर्क नभएपछि । ज्ञानेश्वरका एक वरिष्ठ इञ्जिनियर बस्टनमा काम गर्ने आफ्नो छोरोसँग कुरा गर्न पाएपछि मात्र ढुक्क भए । सञ्चारको विश्व ग्रामले बस्टन, वाशिङ्गटन, न्यूयोर्क र काठमाडौँलाई एकाकार गरेको हो नै रहेछ ।
वसुधैवकुटुम्बकम
‘वसुधैवकुटुम्बकम्’ अर्थात् संसार नै एउटा परिवार हो भन्ने अवधारणा मूलतः नैतिक हो । यसले जिम्मेवारी र कर्तव्यको बाटो सम्झउँछ । संस्कृतिहरूका बीच व्याप्त भिन्नताको सम्मान गर्दै व्यक्तिहरूको मानवीय मूल्य र मान्यताका आधारमा जोड्न चाहने प्रयास हो; पृथ्वीलाई नै परिवार मान्ने अवधारणा । सुन्दा उस्तै लाग्ने ‘विश्वव्यापीकरण’ भने योभन्दा अलि भिन्न हुन्छ । ‘विश्वव्यापीकरण’ ले जीवनप्रतिको प्रेममा एकताभन्दा पनि जीवनशैलीको एकरुपताको प्रक्रियालाई प्रमुख बनाउँदछ ।
अङ्ग्रेजी भाषा, इन्टरनेट र बजारमुखी अर्थतन्त्र एउटा विश्व धर्मका रूपमा विकसित हुँदैछ र यो नयाँ धर्मका आराध्यदेव हुन् पैसा र प्रविधि । नाम ‘विश्वव्यापीकरण’ भए तापनि यस धर्मको विशेषता भने ठ्याक्क उल्टो अर्थात् व्यक्तिकेन्द्रित छ– यसले आफ्ना अनुयायीहरूलाई नितान्त व्यक्तिवादी बनाउँछ । ‘म, मेरो र मलाई’ त्यो मूलमन्त्र हो जसको रटानबाट विश्वव्यापीकरणको नयाँ संस्कृति संसारभरि फैलिँदैछ ।
तर ‘फाइदा’ मा आधारित यो संस्कृति स्वभावतः अस्थिर छ । पूँजी र प्रविधिमा वर्चश्व स्थापित गरेकाहरू श्रम र प्राकृतिक स्रोतहरूलाई गौण ठान्दछन् । औजार प्रयोगले पूँजीमा अग्रसरता हासिल गरेकाहरू हतियार थुपारेर भए पनि आफ्नो प्रमुखतालाई निरन्तरता दिन खोज्दछन् भने श्रम र प्राकृतिक स्रोतमा जीवन आधार भएकाहरूलाई आफ्नो अस्तित्व नै खतरामा परेको महसूस हुन थाल्दछ । आतङ्कवादको जड मुख्यतः यही असमान प्रतिस्पर्धा हो । एकातिर छन् गुम्ने डर हुने सबथोक भएकाहरू भने अर्कोतिर केही पनि नभएका आकांक्षीहरू । माक्र्सले वर्ग सङ्घर्षको अपरिहार्यता त अनुमान गर्न सके तर त्यस्तो सङ्घर्ष वा प्रतिस्पर्धा चक्कु र परमाणु अस्त्र बीच होला भन्ने कल्पनाचाहिँ गर्न सकेका रहेनछन् ।
सञ्चार क्रान्ति र पूँजीप्रवाहले अन्तर्राष्ट्रिय उद्योग–व्यापारका साथै वञ्चित समूहहरूका असन्तुष्टिहरूलाई समेत विश्वव्यापीकरण गरेको छ । उदार अर्थतन्त्रको मारमा परेकाहरूको दुखेसोलाई हिंस्रक बनाउने मूलतः दुईथरि विचारधाराको उदय भएको छः वाम आतङ्कवाद र धार्मिक कट्टरपन्थ । वामपन्थी अतिवादीहरू यसै जन्ममा भूस्वर्ग देखाउने भ्रम बेच्दछन् भने धार्मिक कट्टरपन्थीहरू मरेपछि स्वर्ग पाइने सपनाको व्यापार गर्दछन् । सोभियत सङ्घको पतनपछि वाम अतिवाद पेरु र नेपालजस्ता अति कम विकसित मुलुकहरूमा सीमित हुन पुगेको छ भने साम्प्रदायिक कट्टरपन्थी आतङ्कवाद केही इस्लामिक राष्ट्रहरूको सहयोग र संलग्नतामा डढेलोजस्तो संसारभरि फैलिन थालेको छ ।
आतङ्कको प्रकृति र प्रवृत्ति
थोरै लागतमा धेरै क्षति पु¥याउन सक्नु आतङ्कवादको मुख्य आकर्षण हो । त्यसैले ‘आतङ्क कमजोरहरूको हतियार हो’ पनि भनिन्छ । तर ‘आतङ्कवाद’ अब प्रचारको सस्तो साधनभन्दा पनि चरम घृणाको अभिव्यक्ति हुन पुगेको छ । न्यूयोर्क र वाशिङ्गटनमा विध्वंश मच्चाउने आतङ्कवादीहरूले कुनै राजनीतिक वा आर्थिक माग तेस्र्याएनन् । तिनको लक्ष्य विनाश गर्नु मात्र भएको कुरा; कुनै पनि अतिवादी समूहले अहिलेसम्म जिम्मेवारी लिन अघि नसर्नुले पुष्टि गर्दछ । सङ्गठित आतङ्कवादीहरू त यस्ता सफल विध्वंसका घटनाहरूको प्रचारात्मक लाभ लिन अगाडि आइहाल्थे ।
साम्राज्यवाद विरोधी आन्दोलनहरू बाहेक झ्ण्डै आधा शताब्दीदेखि संसारको कुनै पनि कुनामा आतङ्कवादी अभियान सफल भएको दृष्टान्त छैन । विडम्बना के हो भने असफलताको यो श्रृङ्खलाले आतङ्कवादीहरूलाई झ्नै बढी भयङ्कर बनाउँदै लगेको छ । सन् सत्तरीको दशकताका प्यालेस्टिनीहरू हवाईजहाज अपहरण गर्दा आफ्ना माग प्रचार गर्थे, विश्व समुदाय र स्वयं अपहरितहरू समेतको सहानुभूति बटुल्थे । अपहरितहरूमा अपहरणकर्ताप्रति जाग्ने सकारात्मक धारणा (समभाव) लाई मनोवैज्ञानिकहरूले एउटा नाउँ नै दिएः ‘स्टकहोम सिण्ड्रोम’ । सोभियत सङ्घको विखण्डनपछि आतङ्कवादको लक्ष्य र स्वरुप बदलिएको छ । त्यसअघिसम्म राजनीतिक आदर्शद्वारा प्रेरित आतङ्कवादको ठाउँ अहिले धार्मिक र जातीय कट्टरतामा आधारित आतङ्कवादले ओगटेको छ ।
विश्वव्यापी असर
न्युयोर्क र वाशिङ्गटनका निर्मम घटनाहरूले द्वितीय विश्वयुद्धताका जापानका दुस्साहसी विमान चालकहरूको कामीकाजे (जापानी भाषामा दैवी वायु) शैलीलाई पनि सम्झएको छ । आत्मघाती औजारका रुपमा मानवलाई प्रयोग गर्ने काम श्रीलङ्कामा तमिल विद्रोहीहरूले पनि गर्दै आएका हुन्, तर कामीकाजेहरू जस्तै एकाग्र लक्ष्य, उच्चतम सीप, व्यवस्थित समन्वय एवं मानवीय जीवनलाई पूर्णतः बेवास्ता गर्दै बढीभन्दा बढी विध्वंस गर्ने दानवीय क्षमताको प्रदर्शन न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमाथिको आक्रमणमा देखियो । व्यक्तिगत घृणा वा सामूहिक असन्तुष्टिले मात्र यो प्रकृतिको विध्वंसलाई व्याख्या गर्न सकिँदैन । कहीँ कतै राक्षसी प्रवृत्ति अझ्ै हावी छ मानव मस्तिष्कमा भन्ने तथ्य स्वीकार गर्न बाध्य बनाउँछन् यस्ता अकल्पनीय मनुष्य निर्मित दानवीय प्रवृत्तिका घटनाहरूले ।
अमेरिकामाथि आइपरेको यस विपत्तिले एउटा सकारात्मक असर भने तत्काल जन्माएको छ; र त्यो हो आतङ्कवाद विरुद्ध विश्वव्यापी जनमतको निर्माण । विश्वका शक्तिशाली राष्ट्रहरू रूस र चीन सँगसँगै पाकिस्तान र प्यालेस्टिन समेत अहिले आतङ्कवादका विरुद्ध उभिन बाध्य भएका छन् । छिमेकी भारतले अफगानिस्तानका इस्लामिक कट्टरपन्थी तालिवानमार्फत् ओसामा विन लादेनलाई संरक्षण दिने पाकिस्तानको खोइरो खन्ने मौका पाएको छ । तर आतङ्कवाद विरुद्ध आर्जन गर्न चाहेको छविका निम्ति भारत आफैँले पनि अब आफ्ना छिमेकी मुलुकहरूमा हस्तक्षेप गर्दा बढी सतर्क हुनुपर्ने बाध्यात्मक परिस्थिति पनि सँगसँगै सृजना भएको छ ।
दोस्रो सकारात्मक प्रभाव हो नेपालजस्ता मुलुकहरूमा हुनेखानेहरूमा व्याप्त हाइसञ्चोको अन्त्य । २६ भदौको ‘कालो मङ्गलबार’ ले के देखायो भने आतङ्कवाद सरकार मात्रैको समस्या होइन । यो कुनै एउटा वर्ग, संस्कृति वा जातिको मात्र समस्या पनि होइन । यो शान्तिप्रिय जति सबैको साझ चुनौती हो । अपहरणकारीहरूको प्रहार सम्भवतः अमेरिकाको आर्थिक र सैन्य शक्ति थियो होला, तर त्यसले अमेरिकीसँगै बेलायती, भारतीय, चिनियाँ, मुसलमान, इसाई, हिन्दू, काला–गोरा, धनी–गरीब सबैलाई हिंसाको साझ चपेटामा पा¥यो । यही अनुभूतिले गर्दा होला, दुनैमा आतङ्क मच्चिँदा चुँइक्क बोल्न समेत खाँचो नदेख्नेहरू अमेरिकी जनताप्रति सहानुभूति देखाउन हतारिएका छन् । राष्ट्रपति बुशले भने झ्ैँ आतङ्कवाद अवश्य नै नयाँ शताब्दीको नौलो लडाइँ हो र यस सङ्घर्षमा आतङ्कका विरुद्ध जनमत सृजना हुनु दीर्घकालीन रूपमा एउटा ठूलो उपलब्धि सावित हुनेछ ।
अमेरिकाको यस विपत्तिका नकारात्मक प्रभावहरू भने आकलन नै गर्न नसकिने प्रकारका छन् । संसारको एक मात्र शक्तिशाली राष्ट्र अझ् बढी आक्रामक भयो भने विश्व भूराजनीतिमा त्यसको के असर पर्ला ? विश्वको सबभन्दा ठूलो अर्थव्यवस्थामा मन्दी आयो वा पश्चिमी एसियाद्वारा उत्पादित तेलको मोल बढ्यो भने त्यसको झ्ट्काले विश्व अर्थव्यवस्थामा कस्तो खाले असन्तुलन ल्याउला ? नेपाल आउने अमेरिकी पर्यटक अझ्ै घट्ने सम्भावना, तयारी पोशाक, गलैँचा, पश्मिना र चाँदीका गरगहनाको निर्यातमा कमी हुन सक्ने अड्कल र अमेरिकी जनता ‘विदेशी’ देखिने अरू समुदाय सहित नेपाली आप्रवासीहरू प्रति पनि अनुदार हुन सक्ने डरले दुवैतिर घरजम गर्न थालेका नेपालीहरू अहिले नै आक्रान्त भइसके । माओवादको अभिशाप खेपिरहेको जर्जर नेपाली समाजलाई सात समुद्रपारिको विपत्तिले समेत छुने भय साँच्चिकै अत्यासलाग्दो छ । विश्वव्यापी रूपमा आतङ्कवादको भत्र्सना एवं अमेरिकीहरूप्रति सहानुभूतिको लहर केही हदसम्म मानवीय समवेदनाले गर्दा भएको भए तापनि मूलतः अमेरिका सँगसँगै संसार नै पो डुब्ने हो कि भन्ने भयले गर्दा उब्जिएको पनि हो । आज अमेरिकाले एउटा यस्तो ‘राजनीतिक दैत्य’ को रुप धारण गरिसकेको छ कि, त्यसले खुट्टा मात्र हल्लायो भने पनि समसामयिक विश्व भूराजनीतिमा भुइँचालो जान्छ ।
अमेरिकीहरूले अनुसन्धान र अन्वेषण शुरु गर्नु अगावै शङ्काको सुई साउदी अरबपति विन लादेनतिर तेस्र्याइसकेका छन् । विन लादेनको उदय अमेरिकी सहयोगमा भएको हो– उनी सन् ८० ताका अफगानिस्तानमा सोभियत प्रभाव विरोधी अमेरिकी आतङ्कवादका उपज हुन् । सीआईएसँगको १० वर्षको उठबसमै उनी अनुमानित ३० करोड डलरको सम्पत्तिका मालिक बने । तर त्यसपछि अमेरिकी हालीमुहालीका कट्टर विरोधीमा रुपान्तरित भए । ४३ वर्षका विन लादेन त्यसपछिका दिनमा तालिवान नियन्त्रित अफगानिस्तान एवं सुडानका आफ्ना आश्रयस्थलहरूबाट अमेरिकाविरोधी धर्मयुद्ध (जेहाद) सञ्चालन गर्दै आइरहेका छन् । अमेरिकीहरू अहिले विन लादेनलाई विश्वव्यापी इस्लामिक धर्मयुद्धका प्रणेताका रूपमा चित्रित गर्दैछन् । तर आतङ्कवाद कुनै एउटा मनोरोगीको प्रतिशोध मात्र नभएर मानवजातिको अभिशाप हो र यसको कारकतत्व सामाजिक–आर्थिक उत्पीडन हो भन्ने वास्तविकता स्वीकार नगरेसम्म आतङ्कवादको प्रभावकारी प्रतिरोध सम्भव छैन ।
आतङ्कको प्रतिकार
आतङ्कवादीहरूको प्रतिकार गर्नका लागि सामाजिक एकता पहिलो र अनिवार्य शर्त हो । आतङ्कको शिकार भएका अमेरिकीहरूको एकता देखेर नेपालीहरूलाई चाहिँ इष्र्या लाग्नुपर्ने हो । विभाजित समाजले आतङ्कको सामना गर्न सक्दैन । पिट्सवर्गमा दुर्घटनाग्रस्त हुन पुगेको भनिएको अपहरित यात्रुबाहक विमानलाई अमेरिकी वायुसेनाले ध्वस्त गरेको हुन सक्ने सम्भावना औँल्याएर सङ्कटको बेलामा सरकारलाई थप अप्ठ्यारोमा पार्ने काम त्यहाँ कसैले गरेका छैनन् । आपतमा दुर्घटना हुन्छ, भयो होला । अमेरिकीहरू एकमतले आफ्ना सरकार प्रमुखका पछाडि उभिएका छन् । राजदरबार हत्याकाण्डको घडीमा नेपालमा पनि आम मानिसले त्यस्तै एकता र समर्थनको सपना देखेका थिए तर प्रतिपक्षका नेता ‘षड्यन्त्र’ मा फँसिने डरले राजाको आज्ञालाई अवज्ञा गर्नसम्म तत्पर हुनुभयो ।
आतङ्कको सामना गर्नैका लागि विश्वको जुनसुकै भागमा जोसुकैले जस्तोसुकै कारणका लागि आतङ्क मच्चाएको भए तापनि त्यसको विरोधमा उभिने संस्कार बसाल्न शुरु गरिनु पर्दछ । हिन्दू अतिवादीहरूले अयोध्यामा मस्जिद भत्काउँदा विरोध नगर्नेहरूले अफगानिस्तानमा तालिवानले वामियानका अद्वितीय बुद्ध मूर्तिहरू नाश गर्दा अतिवादिताको आलोचना गर्ने अधिकार गुमाउँछन् । अहिले अमेरिका माथि गरिएको आतङ्कवादी हमलाको भत्र्सना गर्नलाग्दा संसद बहिष्कार गर्ने माननीय लीलामणि पोखरेललाई भोलि अमेरिकाले नै सुडानमाथि बमबारी ग¥यो भने त्यसको विरोधमा एक शब्द बोल्न समेत गाह्रो हुनेछ ।
आतङ्कवादलाई व्यापकता दिने आर्थिक तथा संस्थागत आधार तस्करी, लागू पदार्थको ओसारपसार, अवैध हतियारको खरिदबिक्री तथा विदेशी मुद्राको गैरकानूनी व्यापार हो । जसरी प्रत्येक आतङ्कवादी आफूलाई विद्रोहीको रूपमा प्रतिष्ठित गर्न चाहन्छ त्यसरी नै हरेक तस्कर आतङ्कवादी बन्ने चाहना बोकेर बसेको हुन्छ । समाजले यस्ता प्रवृत्तिहरूलाई बेलैमा नियन्त्रण गर्न सकेन भने पूर्वमन्त्री मिर्जा दिलसाद वेग जस्ताहरू सम्साँझ्ै सडकमै मारिन्छन् र सामान्य नागरिकहरू अज्ञात त्रासमा बाँच्न बाध्य हुन्छन् ।
‘मिडिया’ आतङ्कवादसँग भिड्ने प्रभावशाली संयन्त्र हो । तर कहिलेकाहीँ मिडिया आतङ्कवादीहरूद्वारा प्रायोजित समाचार–विचारको संवाहक भएर तिनका मतियार बन्न पुग्दछन् । प्रचार आतङ्कवादको अक्सिजन हो र त्यो उपलब्ध गराउँछन् आतङ्कवादको विध्वंसक शक्ति नबुझ्ेका वा तर्सेका सञ्चारकर्मीहरूले ।
युद्ध जस्तै, आतङ्कवाद पनि मानव मस्तिष्ककै उपज हो । त्यसैले आतङ्कवाद विरोधी दीर्घकालीन आन्दोलन वैचारिक हुनु जरुरी छ । ‘कालो मङ्गलबार’ को घटनामा प्रयोग भएका हवाईजहाजहरू अमेरिकी थिए । तिनको अपहरण अमेरिकी भूमिबाट भएको थियो । अपहरणकर्ताको जातीयमूल जेसुकै भएको भएतापनि तिनीहरू अमेरिकाका बासिन्दा नै थिए । तापनि अमेरिकालाई क्षति पु¥याउने काममा कुनै विध्वंसकारीले आतङ्कवादीहरूका मस्तिष्कहरूलाई पुतली नचाउनेहरूले अदृश्य डोरीबाट नियन्त्रण गरेजस्तै निर्देशित गर्न सफल भए । अपहरणकारीहरू आत्मघात गर्ने हदसम्म प्रयोग हुन तत्पर भए । मस्तिष्कको त्यो कुन चाहिँ तन्तु हो जसले मान्छेलाई औजार बनाउन उत्प्रेरित गर्छ ? मानव मस्तिष्कलाई
सूचना र शिक्षाद्वारा आतङ्कवाद विरोधी नागरिकमा रुपान्तरित गर्नुपर्ने जिम्मेवारी सभ्य समाजहरूले बोक्नै पर्ने हुन्छ ।
विश्व समाजमा कहालीलाग्दो असमानता कायम रहेसम्म, शोषण र उत्पीडन जारी रहेसम्म, एवं कहिले धर्म त कहिले जाति र कहिले रङ्ग त कहिले वर्गका नाउँमा बलियाले कमजोरको अवहेलना गरिरहेसम्म आतङ्कको कालो छायाँबाट संसारले मुक्ति पाउन सक्ने छैनन् । ओसामा विन लादेन जस्ताका नयाँ नयाँ संस्करण जन्मिरहने छन् । तसर्थ, प्रजातान्त्रिक समाजवाद एवं नैतिक विश्ववादद्वारा बसुधैवकुटुम्बकम्को प्रतिष्ठापन आतङ्कवाद विरोधी आन्दोलनको अन्तिम लक्ष्य हुनु पर्दछ ।
अमेरिकी राष्ट्रपतिले ‘कालो मङ्गलबार’ को अपराधका मतियार र संरक्षकहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर आतङ्कवादको अब अन्त्य हुन्छ भन्ने कल्पना यथार्थमा आधारित छैन । निरन्तर तयारी हो आतङ्कवादको एक मात्र प्रभावशाली प्रतिकार । पाँच हजारभन्दा बढी मानिसहरूको सामूहिक हत्या गर्ने अमेरिकाविरोधी आतङ्कवादीहरू संसारका पचासाँैँ करोड जनतालाई भयभीत तुल्याउन तत्कालका लागि सफल भएका छन् । तर अमेरिकीहरू जस्तै अरु मानिसहरू पनि विस्तारै डरमुक्त हुँदै जाने छन् र आतङ्कवादका विरुद्ध विश्व जनमत तयार हुनेछ, त्यो भने
पक्का हो ।
नेपालको सन्दर्भमा भने आतङ्कवादको आगोलाई फैलाउने सहयोगी वातावरण बन्न पुग्ने गर्दछ– हुलको हिंसकता । भीडमा व्यक्तिहरूले अपेक्षाकृत कम व्यक्तिगत जोखिमको सम्भावना देख्दछन् र रीस पोख्नुपर्ने माथि जाइलाग्दछन् । भीडलाई उत्तेजित पार्न सिपालु आतङ्कवादीहरू हुलको हिंसक मनोदशालाई विध्वंसक बनाउँछन् कि भन्ने डरले हो अहिले ५ असोजको नाम सुन्नासाथ काठमाडौँका बासिन्दाहरू तर्सिने गरेका । आतङ्कवादको सबभन्दा डरलाग्दो स्वरुप भन्नु नै अनियन्त्रित भीडको अराजकता हो ।
कसैले ढोका ढक्ढकायो भने होस गरौँ । ढोकामा अन्तर्राष्ट्रिय आतङ्कवादको स्थानीय संस्करण उभिएको पनि हुन सक्दछ । निरन्तर भयमा बाँच्नु आधुनिक युगको अभिशाप बन्न पुगेको छ । तर आस के हो भने बिगार्ने भन्दा बचाउने जहिले पनि बढी शक्तिशाली हुन्छन् । हरेक युगको आ–आफ्नै रामायण हुन्छ । महाभारतको युद्ध लडिन्छ हरेक कालखण्डमा । र, सीता अन्ततः मुक्त हुन्छे । पाण्डवहरू लाक्षागृहबाट सकुशल निस्कन्छन् । अन्तिम जीत सत्यको हुन्छ । पराजय आतङ्कवादको अन्तरनिहित नियति हो । विजयी हुन्छ मानवीय जिजीविषा । अमेरिकाले खेपेको नृशंस आतङ्कवादको विश्वव्यापी पाठ पनि यही आदिम सत्य नै हो । सी.के. लाल, himalkhabar patrika, 2058 Bhadra

आतङ्कवादः अमेरिकाको पहिलो अनुभव
११ सेप्टेम्बर बिहानको स्वच्छ आकाशमा न्युयोर्क शहरको सबैभन्दा अग्लो विश्व व्यापार केन्द्रको गगनचुम्बी भवनको शिरबाट निस्किरहेको धुवाँको मुश्लो हेर्दाहेर्दै टिभी पर्दाको अर्को कुनामा फुत्त देखा परेको जहाज गएर सोझ्ै अर्को भवनमा जोतिँदा निस्केको आगोको लप्का विश्वभरिकै टिभी दर्शकहरूको मानसपटलमा धेरै कालसम्म रहिरहनेछ ।
एकै दिनमा अमेरिकाले यति ठूलो धनजनको क्षति डेढ सय वर्ष पहिलेको गृहयुद्धको एउटा भीषण सङ्ग्रामपछि प्रथम र दोस्रो विश्व युद्धमा पनि व्यहोर्नु परेको थिएन । प्रारम्भिक अनुमान अनुसार २६ भदौको आतङ्कवादी हमलामा कम्तीमा ५००० मान्छेको ज्यान गएको छ भने २० अर्ब डलरको क्षति भएको छ । धनजनको नोक्सानीको साथै संसारको सबैभन्दा शक्तिशाली राष्ट्रका लागि यो प्रतिष्ठाको चोट पनि बन्न पुग्यो यो घटना । आतङ्कवादीहरूले अमेरिकाको आर्थिक र सैनिक शक्तिको प्रतीकको रूपमा रहेका वल्र्ड ट्रेड सेन्टर र रक्षा मन्त्रालयको मुख्यालय (पेन्टागन) लाई नै लक्ष्य बनाएर यत्रो विशाल क्षति पु¥याए । यो आश्चर्यपूर्ण हवाई हमला अमेरिकी राष्ट्रको सामूहिक चेतनामा अमिट रहने निश्चित छ । अमेरिकी सिनेमा उद्योग हलिउडले युद्ध, हिंसा, जासुसी गतिविधि र विध्वंसका विशाल काल्पनिक फिलिम बनाउँछ तर ११ सेप्टेम्बरको टीभीका पर्दामा देखिइसकेको यथार्थलाई उछिन्न त्यहाँका खप्पिस डाइरेक्टरहरूलाई पनि हम्मे पर्नेछ ।
त्यस त्रासदीपूर्ण बिहान अत्यन्त नियोजित ढङ्गबाट विभिन्न अमेरिकी विमानस्थलबाट आन्तरिक सेवामा उडेका चारवटा ठूला यात्रुबाहक जेट विमान अपहरण गरिए । विमान अपहरण पछि अपहरणकारीहरूले आफ्ना माग राख्ने परम्पराजस्तै बनिसकेको छ । तर यसपटक त्यस्तो भएन । अपहरणकारीहरूले एकपछि अर्को गरेर विमानलाई वल्र्ड ट्रेड सेन्टरको आकाश छुने भवनमा जोतिदिए । यो विष्फोटको आवाज र दन्केको आगोले वरिपरि शहरमा सनसनी फैलियो । पत्रकार, टेलिभिजन पुगे, उद्धारकर्मीहरू आइपुगे । एउटा गगनचुम्बी भवनलाई धुवाँले ढाकेको हेर्दाहेर्दै १८ मिनेटपछि अर्को अपहरित विमान वल्र्ड टे«ड सेन्टरको दोस्रो भवनमा बज्रियो । यात्रुबाहक विमानलाई यसरी क्षेप्यास्त्रको रूपमा प्रयोग गरेको यो विश्वको प्रथम घटना हुनुपर्छ ।
वल्र्ड ट्रेड सेन्टरका ११० तल्ले जोडी भवनहरू न्युयोर्क क्षितिजका चिनारी स्तम्भ मात्र नभइकन अमेरिकी पूँजी र आर्थिक शक्तिका उत्कृष्ट नमूनाहरू पनि हुन् । यो विशाल केन्द्रमा संसारकै ठूला ब्याङ्क, कम्पनी, उद्योग र संघसंस्थाका सयौँ कार्यालयहरू छन् । त्यहाँ ४०,००० भन्दा बढी मान्छेहरू काम गर्छन् र वर्षेनि एक लाख भन्दा बढी पर्यटकहरू घुम्न पुग्दछन् । यी अग्ला घरहरूको माथिल्लो भागमा यात्रुसहित जहाज ठोक्किएपछि आगो सल्कियो, बिजुली बन्द भएकोले लिफ्टले काम गर्न छोड्यो । हजारौँ मान्छेहरू ज्यान बचाउन ७०–८० तल्ला भ¥याङ ओर्लेर भाग्न थाले । कोही उम्किए, अरुले भ्याएनन् ।
विमानमा भएको इन्धनबाट सल्केको आगो बढ्दै गएर विमान ठोक्किएको करीब एक घन्टापछि त्यत्रा विशाल स्टिल र कंक्रिटबाट बनेका भवनहरू मैनबत्ती पग्लेजस्तै गलेर ढले... यो नै सबैभन्दा भयावह दृश्य थियो । यति विशाल घर यति छिट्टै ध्वस्त भयो कि, समयमै तल ओर्लन नभ्याएका हजारौँ र उद्धार गर्न भनेर त्यहाँ पुगेका अत्यन्त बहादुर ३०० जना जति बारुणयन्त्रकर्मी र झ्ण्डै ७० जनाजति प्रहरीहरू त्यो भत्केको पहिरोमा एकैसाथ पुरिएर गए । त्यसपछि उत्पन्न भएको धुलो, छारो र धुवाँले न्युयोर्क शहरको यो भागलाई आणविक रणभूमि जस्तै बनाइदियो ।
थुप्रै थुप्रै कारुणिक र हृदयविदारक क्षण एवं दृश्यहरू एकाएक सामुन्ने आउँदै विलाउँदै गए । जुन तल्लामा विमान ठोक्कियो, सोभन्दा माथिल्लो भागमा काम गर्ने सबै तुरुन्त सङ्कटमा परिहाले । तलतिर सल्केको आगोले गर्दा भ¥याङबाट भाग्न सम्भव भएन, उता लिफ्ट पनि बन्द । आगोको लप्का माथि सर्न थालेपछि विपत्तिमा परेकाहरूसामु निर्मम निर्णयको घडी खडा भोः आगोले डढेर मर्ने कि सय तल्लामाथिबाट हाम फालेर मर्ने ? कैयौँले डढेर मर्नुको सट्टा हाम्फाल्दा बाँचिन्छ कि भन्ने आसमा ८०–९० वा सयौँ तलाबाट कुदेर निश्चित मृत्यु मरे ।
त्यस्तै कैयौँले मर्ने निश्चित देखेपछि; अपहरित विमानबाट; भत्किन लागेको अफिसबाट र आगोबाट डढेर मर्नुअघि मोबाइल फोनबाट आफ्ना परिवार र आफन्तहरूलाई दुई शब्द भन्न भ्याएछन् । “म शायद रहन्न होला, तिमी राम्रोसँग जिन्दगी बिताउनु,” भनेर प्लेनबाट एक जना पुरुषले आफ्नी श्रीमतीलाई भनेछन् । अर्को एक जना छोराले पोलिनुअघि “म तिमीहरू सबैलाई माया गर्छु” भनेर आमालाई फोन गर्न भ्याएछन् ।
न्युयोर्कमा यो सब हुँदाहुँदै तेस्रो अपहरित विमान अमेरिकाको राजधानी वासिङ्टन डी.सी. स्थित रक्षा मन्त्रालय भएको पेन्टागन भवनमा जुधेर विशाल आगो सल्कियो । पेन्टागन शायद संसारकै सबैभन्दा ठूलो कार्यालय भवन हो । यहाँ भएको हमलामा झ्ण्डै ८०० जना मरेको र सयौँ अरू घाइते भएको अनुमान छ । अपहरणकारीहरूले कब्जामा लिएको चौथो विमान कुनै निशानामा नपुगिकनै पेन्सलभेनियाको खेतमा ध्वस्त हुन पुग्यो । लक्ष्यमा पुग्नुअघि नै वायु सेनाका विमानले यसलाई ध्वस्त पारे वा आतङ्कवादीहरूको उद्देश्य
बुझ्ेर यात्रुहरूले प्लेनलाई फेरि आफ्नो कब्जामा लिएर निर्जन ठाउँमा लगेर खसाले, यसको निर्णय भएको छैन ।
यो अत्यन्तै अनपेक्षित हमलाले अमेरिकालाई ज्यादै मर्माहत र स्तब्ध तुल्याएको छ । अधिकांश नागरिकहरूले यस प्रहारलाई ज्यादै गम्भीर र मर्यादित रूपले व्यहोरेका छन् । देश प्रेम, एकता र सेवाको लहर पैदा भएको छ यो सङ्कटको घडीमा । हजारौँ हजार मान्छेहरू उद्धार कार्यमा जुटेका छन्, रक्तदान गर्न ५–७ घण्टा लामो लाइन कुर्नुपर्ने भएको छ र उद्धारलाई सहयोग गर्न मान्छेहरू धमाधम चन्दा उठाउँदै छन् । गिर्जाघर र अन्य पूजा प्रार्थना केन्द्रहरूमा मान्छेहरू ओइरिन थालेका छन्– दैविक सहारा र सामूहिक उपस्थिति खोज्न । यस अभिव्यक्तिमा सबै वर्ण, वर्ग र धर्मका समुदाय सहभागी छन् ।
अर्कोतिर क्रोध र बदलाको आगो पनि विस्तारै दन्कँदैछ । आत्मघाती अपहरणकारीहरू बाहेक यस आतङ्कमा कसको हात रहेको छ भन्ने प्रमाणित भइसकेको छैन, तैपनि यहाँको संचार माध्यम र सरकारी पक्षले मध्यपूर्वी इस्लामिक सङ्गठन वा शक्तिको हात भएको मान्यता राख्दै पूर्ण युद्धको तयारी गर्दैछ । अमेरिकी सरकारले ‘आतङ्कवादमाथिको विश्वव्यापी युद्ध’ घोषणा गरिसकेको छ । एक मात्र महाशक्ति राष्ट्रको पहिलो क्रोधको निशाना विन लादेन र अफगानिस्तान हुन जाने निश्चित नै मानिन थालेको छ । त्यसो भएमा ‘नौलो युद्ध’ का केही छिटाहरू दक्षिण एसियामा पर्ने निश्चित छ ।
अफगानिस्तानको नियति कस्तो रहेछ, जसले गर्दा यसले प्रत्येक महाशक्ति राष्ट्रको आक्रमणलाई निम्त्याउँछ ? १९ औँ शताब्दीमा अङ्ग्रेजको आक्रमण, २० औँ शताब्दीमा पहिला रुसी त्यसपछि अमेरिकी हमला ! २१ औँ शताब्दीको हमला अफगानीहरूको लागि यस मानेमा मात्र नौलो हुनेछ– वर्तमान र भूतपूर्व महाशक्ति अमेरिका, बेलायत र रुसले यसपटक संयुक्त रूपमा आक्रमण गर्नेछन् । ऐतिहासिक विडम्बना यो पनि छ कि अमेरिका विन लादेन र अफगानिस्तानीहरू मिलेर रुसी सेनालाई अफगानिस्तानबाट भगाएका थिए मात्र १२ वर्ष पहिले । पुराना मित्र अहिले शत्रु, शत्रुहरू मित्र । मानवशास्त्री लेभी स्ट्राउसले दक्षिण एसियालाई ‘शहीद बनाइएको उपमहादेश’ भनेर उल्लेख गरेका थिए । यो उपमा अफगानिस्तान बाहेक अहिले अरू कसलाई सुहाउला र ?
अमेरिकी सञ्चारमाध्यमले यो विभत्स घटनाबारे कहाँ, कहिले, के कसरी भन्ने प्रश्नहरू त निकै सफलताका साथ खोजी ग¥यो, तर ‘किन’ भन्ने पक्ष अद्यपि अपूरो र अधूरै छ । राष्ट्रपति जर्ज बुशले भनेझ्ैँ पक्कै पनि यो ‘२१ औँ शताब्दीको प्रथम युद्ध’ हो, तर त्यसका कारणहरू पुरानो शताब्दीमा जेलिएका हुन सक्छन् । यत्रो वितण्डा मच्चाउने अपराधीहरूलाई आवश्यक कानूनी र सैनिक कार्वाही गर्नु विल्कूल जायज छ । तर कारकतत्वलाई निर्मूल गरेर मात्र समस्या समाधान नहुन सक्छ, आत्मघाती हमला गर्न प्रेरित गर्ने कारणहरूलाई समेत बुझ्ेर बृहत् नीतिगत उपाय पहिल्याइएन भने अमेरिका, अफगानिस्तान र विश्वले यस्ता विभत्स आक्रमण र दुर्दान्त आतङ्कवादीहरूलाई बारम्बार व्यहोर्नुपर्ने हुन्छ ।  himalkhabar patrika, 2058 Bhadra

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :