विश्वमै दुर्लभ शल्यक्रिया वीर अस्पतालमा
Posted by
purwanews
Published on
Friday, July 8, 2011
घुँडासँग जोडिएको नलीहाडको माथिल्लो भागमा रहेको क्यान्सर उपचारमा विश्वमै दुर्लभ शल्यक्रिया बिहीबार वीर अस्पतालमा सफल भएको छ। गोरखा ध्याच्चोकका १२ वर्षे विक्रम गुरुङको क्यान्सर भएको हड्डीको भागलाई बाहिर निकालेर रेडियोविकिरणले सेकाई किटाणु मारेर फेरि त्यही ठाउँमा जोडिएको छ।
यस्तो शल्यक्रिया यसअघि इन्डोनेसियामा मात्रै भएको थियो। वीरका वरिष्ठ अर्थोसर्जन डा. अशोक बज्राचार्य नेतृत्वको चिकित्सक टोलीले करिब ६ घन्टा लगाएर शल्यक्रिया गरेको हो।
चार वर्षयता नेपालमा क्यान्सर भएको हड्डी निकाल्ने र खाली ठाउँ र जोर्नीमा कृत्रिम धातु वा प्लास्टिक राख्ने प्रविधिको शल्यक्रिया हुँदै आएको थियो।
कृत्रिम वस्तु राखेर शल्यक्रिया गरिँदा पछि खुट्टा खुम्च्याउन मिल्दैन। बिहीबार भएको शल्यक्रियामा खुट्टा खुम्च्याउन मिल्नेमात्र होइन, खर्चसमेत कम लाग्छ।
अघिल्लो प्रविधिबाट शल्यक्रिया गर्दा भन्दा नयाँ प्रविधिबाट ७ देखि १० लाख खर्च कम हुने, खुट्टा पहिलेझँै चल्ने र शल्यक्रियापछि शरीरमा क्यान्सरप्रतिरोधी क्षमतासमेत विकास हुने चिकित्सक बताउँछन्।
मारिएका क्यान्सरका कोषले खोपको काम गर्ने वैज्ञानिक आधार भएको बज्राचार्यले बताए। 'कृत्रिम हड्डी हाल्दा खर्चिलो हुन्छ, त्यसको पनि निश्चित आयु हुन्छ, तर नयाँ प्रविधिबाट गर्दा खर्च कम र आफ्नै हड्डी कायम हुन्छ,' उनले भने, 'हड्डीको क्यान्सर उपचारमा नयाँ क्रान्ति हो।'
बज्राचार्यका अनुसार नेपालभर प्रत्येक वर्ष करिब ८० जना यस्ता बिरामी हुन्छन्।
यो प्रविधिबाट शल्याक्रिया गर्दा ट्युमर भएको भागलाई केही समय केमोथेरापी गरेर शल्यक्रिया थालिन्छ। ट्युमरग्रस्त नलीहाडको सम्पूर्ण भाग वरिपरि केही क्यान्सर नभएको भागसमेत ढाकिएकै अवस्थामा निकालिन्छ र त्यसलाई ३० हजार र्याडभन्दा बढी रेडियो विकीरणमा एक घन्टा १५ मिनेटसम्म सेकाइन्छ। 'यसरी विकिरणले सेकाएपछि सबै क्यान्सर कोष मर्छ, अनि त्यसलाई पहिलेकै ठाउँमा पुनः जोडिन्छ।' 'यस्तो सर्जरी गर्दा हाडसँगै नशा र अन्य अंगसमेत पुनर्संरचना गरी जोडिने' उनले बताए।
बज्राचार्यका अनुसार ती बालक तीन महिनापछि खुट्टाले टेकेर हिँड्न र पहिलेजस्तै घुँडा मोड्न सक्छन्।
२२ वर्षदेखि ट्युमर भएको भागलाई मात्र काटेर निकाल्ने र खाली ठाउँमा अन्य ठाउँबाट काटेर निकालिएको हाडले पुर्ने प्रविधिले खुट्टा काट्नुपर्ने बाध्यता हटाएको थियो। तर, शल्यक्रियापछि खुट्टा खुम्च्याउन भने सम्भव थिएन।
दुर्लभ शल्यक्रियाअघि अस्पतालका करिब दर्जन चिकित्सक र नर्सको टोलीले एक महिनादेखि तयारी गरेको थियो। त्यसका लागि अर्थोपेडिक विभागले अस्पतालको इथिकल बोर्ड र बिरामी पक्षसँग सहमति लिइएको थियो।
'यसको पूर्ण सफलता हेर्न अझै केही समय लाग्छ, त्यसपछिमात्र हामी यस्ता थप शल्यक्रिया गर्नसक्छौं,' बज्राचार्यले भने।
मंसिरमा एक्कासि खुट्टा सुन्निन थालेपछि विक्रमलाई उनका मामाले गोरखा अस्पताल ल्याएका थिए। गोरखाबाट भरतपुर, त्यहाँबाट वीरमा रिफर गरिएका उनको क्यान्सर पुष्टि भएपछि तीन महिनादेखि केमोथेरापी चलाइएको थियो।
'केमो चलाएपछि नै हिँड्नसक्ने भएका थिए,' मामा सञ्जयले भने, 'डाक्टरले अब पूरै निको हुन्छ भनेका छन्।' शल्यक्रियाका लागि उनलाई तीन साताअघि वीरमा भर्ना गरिएको थियो।
नयाँ खालको शल्यक्रियामा ठूलो संख्याका चिकित्सक र नर्सले चासो दिएका थिए। विभिन्न औषधि कम्पनी र सामाजिक संघसंस्थाले औषधि एवं शल्यक्रियाका सामग्री उपलब्ध गराएका थिए।
यसअघि उपचारमा ३ लाखभन्दा बढी खर्च गरिसकेको विक्रमको परिवारले यसपटक शल्यक्रिया गरिएको भाग अड्याउने पाता किन्न ३० हजारमात्रै खर्च भएको बतायो। यो पाता केही समयपछि निकालिने चिकित्सकले जनाएका छन्। nagariknews असार २४
प्रतिक्रिया दिनुहोस् >>
