आफैँले खनेको खाडलमा भासिंदै रामदेव


२४ जेठ, काठमाडौं । भ्रष्टाचारविरुद्धको आन्दोलन थालेर भारतको केन्द्र सरकारलाई हल्लाएका योगगुरु बाबा रामदेव स्वंयम संकटमा पर्ने देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हरिद्धारमा रहेको पतन्जली योग शिविर रहको जमिन र उनका प्रमुख सहयोगी नेपाली नागरिक आचार्य बालकृष्णका कारण रामदेवमाथि संकट आउन लागेको हो ।
दिल्लीस्थित रामलीला मैदानमा रामदेवको आमरण अनशन बल प्रयोग गरेर विथालेको केन्द्र सरकारले पछिल्लो समय रामदेवमाथि कारवाहीका लागि यस्तै विषय खोजिरहेको समाचारहरुमा उल्लेख छ । भ्रष्टाचार बिरोधी आन्दोलनलाई राजनीतिक रंग दिएको भन्दै कांग्रेस आई नेतृत्वको सरकारले रामदेवमाथि कानुनी अनुसन्धान सुरु गरेको छ भने विपक्षी भारतीय जनता दलले रामदेवको पक्षमा जनमत बनाउने प्रयास गरिरहेको छ ।
हरिद्धारमा रहेको पतन्जली योग शिविरको जमिनका विषयमा अदालतमा परेको मुद्धा विचाराधिन छ । जमिनको हकदार महन्त रोजेन्द्र दास हुन् । नियम अनुसार उक्त जमिन बेच्न वा कसैको नाममा ट्रान्फर हुन मिल्दैन । उनको मृत्युपछि उत्तराधिकारी महेन्द्रले पाउनु पर्ने थियो । तर, बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको नाममा बेचिएको छ । समाचारहरुमा जनाइएअनुसार अदालतमा यसलाई चुनौति दिन सकिनेछ ।
यता, नेपालको स्याङ्जा जिल्लामा जन्मिएका तर भारतीय पासपोर्ट प्रयोग गर्दै आएका आचार्य बालकृष्णमाथि पनि सरकारले सिबिआईमार्फत अनुसन्धान थालेको छ । उनको पासपोर्ट नक्कली भएको भन्दै सरकारले अध्ययन थालेको हो । रामलीला मैदानमा भएको सरकारी दमनपछि भूमिगत रहेका बालकृष्ण कांग्रेसले अपराधि भएको आरोप लगाएपछि मंगलबार हरिद्धारमा पत्रकार सम्मेलन गर्न केहिबेर सार्वजनिक भएका छन् । बालकृष्णले भने आफू नेपाली मूलको भारतीय नागरिक भएको बताए । उनले आफू गोप्य मिसनमा रहेकाले भूमिगत रहेको बताए । उनलाई कुनै पनि बेला भारतीय प्रहरीले पक्राउ गर्न सक्नेछ । कांग्रेस आईका महासचिव दिग्विजय सिंहले भने बालकृष्ण नेपाली भएको भन्दै भनेका छन्-’बालकृष्ण नेपाली हुन्, नेपालबाट भागेर आएका अपराधी हुन् ।’
भ्रष्टाचारविरोधी आन्दोलन थालेका रामदेव आफैँ कति स्वच्छ छवि भएका हुन् भन्ने प्रश्न उठ्न थालेको छ । सरकारले रामदेवको अथाह सम्पत्ति भएको भन्दै अनुसन्धान थालेपछि यो प्रश्न उठेको हो । सुरुमा सीबीआई र आयकर विभागले रामदेवको पतन्जली योगपिठ ट्रष्ट र दिव्य योग मन्दिरमाथि अनुसन्धान थालेको छ । सन् २००९/०१० का दुबै ट्रष्टमा गरेर कुल भारु. ११ सय करोड भन्दा बढी जम्मा भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार रामदेवका प्रमुख सहयोगी नेपाली आचार्य बालकृष्ण ३४ कम्पनीका डाइरेक्टर छन् । सबै कम्पनी सञ्चालनमा आएको करिव ५/६ वर्ष भएको छ । सबैको आम्दानी जोड्ने हो भने करौडौं हुनेछ । भारतको केन्द्र सरकारको कर्पोरेट मामिला सम्वन्धी मन्त्रालयका अनुसार यी कम्पनीहरुले औषधी, केष्मेष्टिक र उर्जा, संचारमाध्यम आदि क्षेत्रमा काम गरिरहेका छन् । आचार्य बालकृष्ण रियल इस्टेटमा पनि सक्रिय छन् । आचार्य बालकृष्ण डाइरेक्टर रहेको कम्पनीहरुमा पतंजलि आयुर्वेद लिमिटेड, दिव्य फार्मेसी योग आरोग्य हर्बल, झारखण्ड मेगा फुड पार्क, दिव्या र्फम, डायनामिक बिल्डकाम, बौद्धिक आस्था भजन ब्रोडकास्टिङ प्राइभेट लिमिटेड आदि छन् ।
भारतीय रुपैयाँ बिदेशमा लगेर राखेको भन्दै त्यसलाई फर्काउन माग गर्ने रामदेवको ट्रष्टले भने बिभिन्न मुलुकमा लगानी गरिरहेको छ । मोरिसस लगायतका देशमा उनको रिसोर्ट रहेको बताइएको छ । योगका माध्यमबाट बिश्वभर घुमिरहने उनले लाखौं रुपैयाँ अबैध माध्यमबाट भारत भित्राएको पनि सरकारको आरोप छ । योगमार्फत लाखौं अनुयायी कमाएका रामदेव राजनीतिमा लाग्नासाथ प्रसंसकहरु पनि बाँडिन थालेका छन् । पार्टी खोल्ने योजनाको पृष्ठभूमि बनाउन उनले अनाबश्यकरुपमा यो मुद्दालाई उठाएको भन्ने धेरैको आरोप छ । अर्कोतिर अहिंसाका पक्षपाती, अण्डा खानेलाई पनि गाली गर्ने रामदेवले बिदेशमा पैसा थुपार्नेलाई चाहिं मृत्युदण्ड दिन माग गरेका छन् । यसलाई पनि कतिपय प्रसंसकले आफ्नै सिद्धान्तविपरित भएको आरोप लगाएका छन् । (onlinekhabar)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :