आर्थिक क्रान्तिका लागि हातेमालो आवश्यक
Posted by
purwanews
Published on
Thursday, June 30, 2011
मोरङ सिजुवा ७ घर भएका पौडेल एकिकृत नेकपा माओवादी कोचिला राज्य समिति सचिवालय सदस्य र विराटनगर नगर कमिटिको सह इन्चार्ज समेत हुन् । प्रस्तुत छ उनीसंग पर्यटन विकासका बारेमा पूर्वन्युजका लागि विराटनगरका पत्रकार मोहन भट्टराईले गर्नुभएको कुराकानीको सार :
भर्खरै अध्यक्षमा नियुक्त हुनुभएको छ, अब तपाईको पहिलो प्राथमिकता के हुने छ ?
तत्काल त हामी पुरानो समिति र मन्त्रालयले तय गरेका विगतका योजनाहरु यो अन्तिम आवरमा तीब्र गतिमा कार्यान्वयनको चरणमा गइरहेका छौं । त्यस अन्तरगतका सकारात्मक योजनाहरु जस्तो ः पर्यटकीय स्थलको पहिचान गराउने विराट दर्पणको प्रकाशनलाई परिमार्जन सहित निरन्तरता दिनेछौं ।
अरु सकारात्मक काममा टुरिस्ट गाइड बुक, बुकलेट निकाल्ने, विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सम्बन्धित क्षेत्रसंग छलफल, अन्तरकृयालगायतका विषयमालाई कार्यान्वयनमा ल्याउन अगाडि बढिरहेका छौं ।
तपाई राजनीतिक ब्याक ग्राउण्डबाट आउनु भएको छ, फरक विषयको पर्यटन क्षेत्रको विकास र नेतृत्व कसरी हुन सक्छ ?
पहिलो कुरा त नेपाल सरकारले ल्याएका नीति, कार्यक्रम र योजनालाई कार्यान्वयन गर्ने क्षमतासंग भर पर्छ । त्यसको उत्कृष्ट कार्यान्वयन गर्नेसंग यो जोडिन्छ । यस सन्दर्भलाई म कसरी लिन चाहन्छु भनें पर्यटन मन्त्रि जो हुनुहुन्छ, उहाँचाहिं पर्यटन सम्बन्धि छुट्टै विषय लिएर अध्ययन गर्नु भएको त हैन । उहाँले पर्यटन सम्बन्धि नीति, योजना र कार्यक्रम बनाउने हो । त्यसैको माध्यमले त त्यही पर्यटकीय क्षेत्रलाई विकास गर्दै नेपालको आर्थिक क्रान्तिलाई अगाडि बढाउने हो । ती नीति कार्यक्रम र योजनाको स्टेजलाई कार्यान्वयन गर्न सक्षम व्यक्तिलाई सरकारले चयन गर्छ । त्यही प्रकृयाबाट हामी पनि नियुक्त भएका हौं ।
पर्यटन वर्ष २०११ चलिरहेको छ, पूर्वाञ्चलमा आन्तिरिक र बाह्य पर्यटक भित्रयाउने के के योजनाहरु छन् ?
पहिलो नम्बर त हामी पूर्वाधार विकासको क्रममा छौं । पर्यटनका आधारहरु हामीसंग विगतदेखि नै थिए । प्राकृतिक हिसाबले, सांस्कृतिक हिसाबले, ऐतिहासिक, जैविक विविधताको हिसाबले यी सबैलाई हेर्दा नेपाल पर्यटनको लागि विश्वभरी नै एउटा उपलब्धिमूलक ठाउँ हो भन्ने पुष्टी हुन्छ । अहिले चालु पर्यटन वर्ष २०११ भरीमा १० लाख पर्यटक भित्र्याउने लक्षका साथ सरकार अगाडि बढी रहेको छ । यसै सन्दर्भमा विराट क्षेत्र पर्यटन प्रबद्र्धन समिति पूर्वी तराई क्षेत्रको पर्यटनको विकास गर्ने धारणाका साथ आएको हो । यो समितिले झापा, मोरङ, सुनसरी तीन वटा जिल्ला मात्र हेर्छ । यी तीनवटा जिल्लामा प्राथमिकताका आधारमा कहाँ कसरी योजना लैजाने त्यो काम गर्छ ।
विदेशी पर्यटकका लागि जहिले पनि सगरमाथाको देश भनेर मात्र चिनाइन्छ । यसभन्दा पृथक कुराहरु केही छैनन् ?
पर्यटनका हिसाबले सगरमाथाका साथै धार्मिक हिसाबले लुम्बीनी छँदैछ । त्यसबाहेक पनि हाम्रो देशमा प्राकृतिक विविधता छ । त्यसैगरी सांस्कृतिक, ऐतिहासिक, भौगोलिक विविधताहरु छन् । यी सबै चिजहरुलाई प्रमुख आधार बनाएर अगाडि बढ्न सक्छौं । विषेशगरी विराट क्षेत्र अन्तरगतका तीन जिल्लाहरुमा पनि ती आधारहरु देखिएका छन् । जस्तो : किचकबध, जामुनखाडी, दोमुखा, अर्जूनधारा, कोसीटप्पु बन्यजन्तु आरक्ष, विराटराजाको दरबार यस्तै ऐतिहासिक स्थलहरु पनि यिनै ३ जिल्लामा छन् । यी स्थानहरुलाई अगाडि ल्याउने र प्रबद्र्धन गर्ने काम हामी गर्ने छौं । तिनका पूर्वाधार तयार गर्ने र विकास गरेर लाने योजना छ ।
पर्यटक आकर्षित गर्ने नाममा वर्षैभरी विभिन्न महोत्सव गर्ने लहडै चल्छ, महोत्सवपछि भनें ती स्थानको कुनै चर्चा हुदैन । पर्यटनलाई व्यवसायीक बनाउन किन नसकिएको होला ?
त्यसका कारणहरु धेरै छन् । विगतका सरकारले यहा यत्रो आधार र सम्भावनाहरु हुँदाहुँदै पनि ठोस योजनाहरु बनाएर अगाडि बढ्न नसक्दा नेपालमा पर्यटनको विकास गर्न सकिएको छैन । धार्मिक, सामाजिक, आर्थिक र चेतानाको अभावका कारणले यसलाई दीर्घकालिन रुपमा आम्दानीको श्रोत बनाउन नसकिएको हो । अहिले छिटोछिटो गतिमा यसको विकास भइरहेको छ । पर्यटन वर्षमा स्थानियस्तरका बासिन्दा र राष्ट्रलाई समेत फाइदा पुग्ने गरी पर्यटक आकर्षित गर्नुपर्छ । त्यसका लाग सकारात्मक सोचका साथ प्रचार प्रसार गर्नु पर्छ ।
आर्थिक क्रान्तिका लागि २/३ वटा मेजर विषयहरु जस्तो, कृषि, पर्यटन, जलश्रोत हुन् । यी प्राथमिकतामा परिसकेपछि सरकारले पनि पर्यटनलाई त्यही हिसाबले प्लान बनाएर बजेट छुट्याउनु पर्छ । यसको प्रबद्र्धन र विकास भन्ने वित्तिकै बजेटिङका कुरा जोडिएर आउँछ । अर्को कुरा, पर्यटक भनेको पाहुना हो । पाहुनालाई गरिने संस्कारको पनि त कमी होला । आम नागरिकमा पनि त्यो बुझाईको स्थिति नहोला । आम जनचासो र जनचेतना जगाउनु जरुरी छ । रिक्सावाला देखि ट्याक्सी, सामान्य पसले, होटल व्यवसायी सबैले पाहुनालाई सम्मान गर्नुपर्छ ।
नेपालमा दीर्घकालिन रुपमा चाहेजति पर्यटनको विकास हुन नसक्नुको कारण के होला ?
नेपालको तत्कालिन राजनीतिक स्थितिले गर्दा यस्तो भएको हो । चार महिना, ६ महिनामा सरकार परिवर्तन भइरहन्छन्, सरकारसंगै समितिका पदाधिकारी पनि फेरिन्छन् । एउटै मान्छे यो समितिमा बसिरहे पनि त्यसको अथै छैन, किनकी राजनीतिक स्थायित्व विना कुनै पनि क्षेत्र अगाडि बढ्न सक्दैन । सरकारले ठोस नीति ल्याई त्यसलाई तुलनात्मक हिसाबले कार्यान्वयन गर्नु पर्छ अनि मात्र लक्ष अनुसार प्रगति हुन्छ ।
विराट क्षेत्रमा पर्यटकको गन्तव्य स्थान कुन कुन हुनसक्छन् ?
गन्तव्य स्थानहरु धेरै छन् । पूर्वबाट आउँदा झापाको अर्जूनधारा, किचकबध, जामुनखाडी छ । मोरङको सुनबर्सी पोखरी, बेतीनी ताल, विराट राजाको दरबार, बेतना सिमसार क्षेत्र, शिवपावर्ती गुफा र सुनसरीको बुढासुब्बा, कोसी टप्पु वन्यजन्तु आरक्ष, बराहक्षेत्र यी स्थानहरु पर्यटकीय केन्द्रका रुपमा रहेका छन् ।
पर्यटन वर्षका उपलब्धिहरु के के हुन् ?
पर्यटन नेपालको दीगो आर्थिक विकासको आधार हो भन्ने आम जनतामा चेतनाको विकास भएको छ । यहाँका पर्यटकीय स्थलहरुको देश बाहिर चिनाउने अवसर हो । नेपालको आर्थिक क्रान्तिको मुख्य आधार यो पर्यटन भएकोले सरकार, सम्बन्धित पक्ष र आम जनता हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस् >>