कुखुराको तस्करी बढेपछि नेपाली कृषक मारमा


इटहरी/खुला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैद्य रुपमा कुखुरा तथा चल्ला आयात हुन थालेपछि पुर्वी नेपालका कुखुरापालक कृषकहरु पेशा पलायन हुने अवस्थामा पुगेका छन् ।
भारतीय सस्तो कुखुरा छ्याप्छ्याप्ती पाइन थालेपछि कुखुरापालकहरु पेशा नै परिवर्तन गर्ने अवस्थामा पुगेका छन् । पछिल्ला केही दिनमा कुखुराको मासुको मुल्य घटेपछि सुनसरीका करिब दुई हजार किसानहरु मारमा परेका हुन् । सुनसरीको हाँसपोसा तथा इटहरीमा समेत कुखुराको मासु एक सय ६० रुपैया प्रतिकिलो समेत पाइन थालेको छ ।
चैतको अन्त्य सम्ममा २ सय ६० देखि ३ सय रुपैया सम्म प्रति केजिका दरले बोइलर कुखुराको मासु बेच्दै आएका ब्यापरीहरुले अहिले प्रति केजि मासु १ सय १६० रुपैयामानै बिक्री गर्न थालेका छन् ।
हासपोसामा कुखुरा पालेर आफै मासु काटेर बेच्दै आएका गोपाल श्रेष्ठले पनि भारतिय कुखुराका चल्ला भित्रिएपछि आफुहरुलाइ घाटा हुने अवस्था आएको बताए । हाँसपोसामा नेवा फे्रस हाउस समेत सञ्चालन गर्दे आएका उनले भारतिय चल्लाका कारण कृषकहरु घाटामा पर्ने गरेको बताए । हाँसपोसाकै रुक्मिणी गिरीले समेत कुखुरा पालनबाट कुखुरा हुर्काउन लागेको दानाको लागत पनि नउठ्ने अवस्था सृजना भएको बताइन् । उनले सिमा सुरक्षा व्यवस्था कडा बनाएर अनुगमन थाल्नुपर्ने माग समेत गरिन् ।
भारतिय चल्ला पुर्बि नेपालमा भित्रिन थालेपछि पुर्वाञ्चलका हयाचरि समेत मारमा परेका छन् । सत्यसाइ हयाचरी पकलीका सञ्चालक लक्ष्मण चौलागाइले भने तिन महिना अघि हयाचरीहरुले कृषकलाइ पर्याप्त चल्ला दिन नसकेका कारण कृषकले भारतका चल्लाहरु पालेको र त्यसको असर अहिले आएर परेको बताए । पुर्बको झापा, बिराटनगर पकली लगायतका ठाउमा मात्रै झण्डै आधा दर्जन बढि ठुला हयाचरी छन् ।
नेपाल भारत खुला सिमाबाट दैनिक सयौंको संख्खामा कुखुरा तथा चल्लाहरु स्वदेश भित्रिने गरेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले समेत स्वीकार गरेको छ । सरकारले पंक्षी वा पंक्षीजन्य वस्तुहरु भारतीय बजारबाट भित्र्याउन निषेध गरेपनि नक्कली बिल बनाइ भारतबाट चल्ला आयात गर्ने गरीएको कार्यालयले नै खुलासा गरेको छ ।
गत चैतमा सुनसरीको धरानबाट तीन हजार वटा कुखुरा तथा चल्लाहरु जिल्ला पशु सेवा कार्यालयले नियन्त्रणमा लिएको थियो । व्यवशायीले देखाएको कागजपत्र कसैले पनि प्रमाणित नगरेपछि कुखुरा तथा चल्लाको नक्कली बिल बनाएर आयात गर्ने गरिएको पुष्टि भएको हो । तस्करहरुले भारतबाट चल्ला भित्र्याउँदा डाक्टरको नक्कली सर्टिफिकेट, क्रेता तथा बिक्रेताको नक्कली बिल बनाउने गरेको समेत खुलासा भएको हो । बरामद गरिएका नक्कली कागजपत्र देखाउँदै जिल्ला पशु सेवा कार्यालय सुनसरी प्रमुख महिनारायण चौधरीले भने, ‘मगाउनेले पनि मगाएको होइन भन्यो, छाप रहेको डाक्टरलाई सोध्दा समेत आफुले जाँचेकै होइन भन्यो ।’ आफूहरु तस्करी नियन्त्रण गर्न लागिपरेको जनाउँदै अहिले भइरहेको तस्करी मोरङ र नेपालको पश्चिमी नाकाबाट भएको समेत दावी गरे ।
कार्यालयले मासिक सुनसरी भित्रीने कुखुरा तथा चल्लाको संख्या अनुमान गर्न नसकेपनि यसरी भित्रिने पंक्षीहरुले नेपालका कृषकलाई नोक्सान गर्ने चौधरीले बताए । उनले यसरी भित्रिने तस्करीका सस्ता कुखुरा तथा चल्लाहरुबाट स्वदेशी कृषक मारमा पर्नुका साथै बर्डफ्लु भित्रिन सक्ने समेत खतरा हुने जानकारी दिए । उनले सुरक्षा व्यवस्था कडा बनाएको दावी गर्दै तस्करी भएको पाइए पक्राउ गरी कारवाही गर्ने समेत जनाए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :