झलनाथलाई झापु (हालसम्मका घटनाहरुको सचित्र वर्णन)



‘नेताले देश बर्बाद पारे’ : रेग्मी
‘भुसुना कुरा’ : खनाल सुनसरी, माघ ६


कार्यक्रम सामान्य रुपमा नै चलिरहेको थियो । चार सय जनाभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रमको लागि स्वयं पार्टी अध्यक्ष झलनाथ खनाल नै सुनसरीको इटहरी आइपुगेका थिए । उनका भव्य स्वागत गरिएको थियो ।
खनाललाई इटहरी चौकदेखि कार्यक्रम स्थलसम्मको करीब एक किलोमिटर दुरीसम्म विशेष प्रदर्शन गर्दै र्यालीको आयोजना गरिएको थियो । कार्यक्रम सामान्य तरिकाले चलिरहेको थियो । पार्टी प्रवेश गर्ने युवा, महिला तथा वृद्धहरुको लहर मञ्चमा देखिइरहेको थियो ।
त्यही समयमा सुनसरीको भरौल निवासी देवीप्रसाद  रेग्मी मञ्चमा उक्ले । पार्टी प्रवेश गर्नेहरुको लाइनमा बसेर उनले खनालबाट टिका थापे । के सुर चल्यो कुन्नि फरक्क फर्केर खनालको देब्रे गालामा झापड हाने । अपेक्षा नै नगरिएको झापड खाएपछि खनाल झस्के । उनको चस्मा भुईमा झ¥यो ।

सुनसरीको इटहरीमा विहीबार आयोजित कार्यक्रममा रेग्मीले कार्यक्रमका बिचमा नै खनाललाई झापड हानेपछि एमाले कार्यकर्ताहरु तातिए । उनले थप्पड प्रहार गरेपछि कार्यक्रममा केहीबेर तनाव उत्पन्न भएको थियो । पार्टी अध्यक्षमाथि आक्रमण भएपछि एमाले कार्यकर्ताहरुले रेग्मीमाथि समेत मुक्का प्रहार गरेका थिए । एमाले कार्यकर्ताहरुले रेग्मीलाई कुट्न थालेपछि स्थितीलाई सामान्य बनाउन कार्यक्रमस्थलमा खटिएका प्रहरीहरुले रेग्मीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखेका थिए ।

नेताहरुले देश बर्बाद पारेकाले झापड हानेँ

नेताहरुले देश बर्बाद पारेकोले थप्पड हानेको रेग्मीले प्रतिक्रिया दिए । प्रहरी कार्यालयमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै रेग्मीले नेताहरुले सहमतीको भन्दा स्वार्थको राजनीति गरेको जनाउँदै नेताहरुकै कारण देश बिग्रेको आरोप लगाए ।
‘जहिले पनि सहमतीको कुरा मात्र गर्छन् ।’ ‘मर्नुभन्दा बहुलाउनु ठिक लागेर झापड हानेँ ।’ आम नेपालीहरुको तर्फबाट खनाललाई थप्पड हानेको जनाउँदै उनले देशका जनताहरु नेताहरुबाट वाक्क भएको सन्देश दिन खोजेको बताए ।



Interview: हो, मैले झलनाथलाई झापड हानेँ: देवीप्रसाद रेग्मी
  • तपाइँको पेशा के हो ? 
म सामान्य किसान हुँ अहिले ५३ वर्षको भएँ। खेतीपाती गरेर परिवार चलाएको छु। यहाँ बिजुलीको बिल तिर्न आएको थिएँ। भेला देखेर भित्र पसेथेँ।
  • मुलुककै तेस्रो दलको अध्यक्षलाई झापड हान्न डर लागेन ?
सधैँ तटस्थ बसेर (झलनाथ खनाल) देशलाई अनिर्णयको बन्दी बनाएको पनि मलाई थाहा छ। किसान मान्छे भए पनि मलाई नेपालको माया छ। राजनीतिमा मलाई चासो लाग्छ। नेपालका राजनीतिक दलका नेताले देशलाई बिगारेको पीडा सहन सकिनँ। हो, मैले झापड हानेँ। कानुन अनुसार मलाई कारवाही गरेहुन्छ।
  • नेताहरु काम गर्दैछन् त। संविधान लेख्दैछन्, मुलुकमा गणतन्त्र संस्थागत हुने प्रक्रियामै छ।
टेलिभिजनमा हेर्छु जहिले पनि मिठा र चिप्ला कुरा गर्छन्। यिनलाई आफ्नो स्वार्थभन्दा केही मतलब छैन। नेपालीका छोराछोरीले पाएको दुःख नेतालाई मतलबै छैन। खाली वेरोजगार युवालाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तटस्थ बस्ने ? यस्तो पनि हो राजनीति ? यस्ता पनि हुन् नेता ? मैले धैर्यता गुमाए आवेसमा आएर खनाललाई चड्काइदिएँ। यही कारण मलाई जस्तोसुकै कारवाही भए पनि भोग्न तयार छु। खनाललाई कुटेको अभियोगमा मलाई मारे पनि हुन्छ तर देशका सबै नागरिकले हाँसीखुशी बाँच्न पाउन्।
  • देशका नेता र कानुनप्रति किन यति धेरै बिचलिन हुनुभएको ? 
मेरो जेठो छोरा केशव सशस्त्र प्रहरीमा छ। कान्छो २० दिन भयो काठमाडौं गएको। देशका नेता खाली झुटो बोल्छन्। भनेको केही गर्ने हैनन्। देशलाई तन्नम बनाइसके। देशको यो अवस्थाले मेरो कान्छो छोरोले जागिर पाउन सकेको छैन। यस्ता त कति छन् कति। सात वर्षअघि माओवादीको जगजगी हुँदा सोलुमा मेरो भाइको हत्या भयो। तर कसैले हत्यारा पत्ता लाउन सघाएनन् कारवाहीको कुरा त त्यस्तै हो । न्याय दिलाउन कुन नेताले सघाए ? मलाई घृणा छ यो देशका नेताप्रति। तर आज मैले कसैको उक्साहटमा लागेर हात छाडेको हैन। सारै चित्त नबुझ्दो कुरा कति दिन सहने हामीले ? हामीलाई जे जे गरे पनि हुन्छ नेताले ?
  • यसअघि पनि कसैमाथि यसरी जाइलाग्नु भएको थियो ?
तपाइँले बुझ्नु भए हुन्छ। मेरो घर यहीँ (सुनसरी) भरौल-१ वडामा पर्छ। एमालेकै नेताहरुलाई सोधे हुन्छ मेरो पृष्ठभूमि कस्तो हो भनेर। म कसैको केही नबिगारी आफ्नो सुतीथाती काम गरेर बसेको मान्छे हुँ। आजसम्म मैले कसैको गाइगोरुलाई समेत हात हालेको छैन। यो देशको दुर्दशा सहन नसकेर खनाललाई चड्काएको हुँ। Interview by Mysansar.com)


एमालेको प्रतिक्रिया : छानविन हुन्छ

थप्पड प्रहार भएको विषयमा छानविन गर्नको लागि एमाले जिल्ला उपसचिव मोतिराज सुनुवारको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरिएको छ ।
समितिका सदस्यहरुमा जिल्ला कमिटि सदस्य केशव विष्ट र नन्दकुमार बस्नेत रहेका छन् । समितिले सात दिनभित्र छानविन सक्ने जनाएको छ ।
एमाले जिल्ला कमिटिले रेग्मीको विरुद्ध शुक्रबार प्रहरीमा निवेदन दिने सुनुवारले बताए । निवेदन कुन प्रकारको दिने भन्ने बारेमा भने वकिलहरुसँग सल्लाह गरेर कडा कारवाही हुने किसिमले मुद्धा दायर गर्ने जनाए ।
नेकपा एमालेका सुनसरी अध्यक्ष रेवतीप 81;रसाद भण्डारीले घटना सुनियोजित भएको भन्दै छानविन गरिने जनाए । भण्डारीले रेग्मी आफ्नो पार्टी सम्बद्ध नभएको समेत दावी गरेका छन् ।
भण्डारीले राज्यले समेत घटनाको विषयमा छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने जनाएका छन् । भण्डारीले रेग्मी एमाले सम्बद्ध नभएको भनेतापनि पार्टीसम्बद्ध विश्वस्त सुत्र तथा स्थानियले भने रेग्मी एमालेकै कार्यकर्ता रहेको दावी गरेको छ ।
खनालको प्रतिक्रीया : भुसुना कुरा
थप्पड प्रहारको घटनाको बारेमा एमाले अध्यक्ष खनालले कुनै प्रतिक्रिया दिन चाहेनन् । प्रतिक्रिया लिनको लागि पत्रकारहरुले बारम्बार सोधेतापनि खनालले घटना ‘भुसुना कुरा’ भएको संक्षिप्त प्रतिक्रिया दिए । मञ्चमा झण्डै एक घण्टा भाषण गरेका खनालले थप्पडको बारेमा कुनै कुरा बोलेनन् ।
कार्यक्रमस्थलबाट बाहिर निस्कदै गर्दा पत्रकारले बारम्बार अनुरोध गरेपछि उनले दुई शब्दमा घटनाबारे प्रतिक्रिया दिएका हुन् ।
थप्पड हानिएको घटनापछि कार्यक्रमस्थलमा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । खनालले मञ्चमा बोल्दै गर्दा समेत निकै बाक्लो सुरक्षा घेरा तयार गरीएको थियो भने उनलाई कार्यक्रमस्थलबाट नजिकै रहेको होटलमा लग्दासम्म दुई तर्फ साङ्ला बनाएर निकै कडा सुरक्षा बिच लगिएको थियो ।
प्रहरीको प्रतिक्रिया : जाहेरी दर्तापछि हेरौंला ।
खनालमाथि मञ्चमै आक्रमण गर्ने रेग्मीमाथि जाहेरी अनुसार कारवाही हुने सुनसरी प्रहरी प्रमुख भुपाल भण्डारीले बताए । उनले जाहेरी परीनसकेको हुनाले भोली पीडितले दर्ता गर्ने जाहेरी अनुसार कारवाही गरिने उनले बताए । अनुसन्धान र कारवाहीका लागि शुक्रबार रेग्मीको म्याद थप गरीने समेत उनले जानकारी दिए ।
अन्य दलहरुको प्रतिक्रिया
झापडको विषयलाई लिएर एमाले बाहेकका अन्य दलहरुले मनमनै खुच्चिङ भनेपनि बाहिर प्रतिक्रिया दिँदा भने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । विचरा नेताहरु, कतै भोली आफ्नै पार्टीका नेताले थप्पड खाने हुन् कि भन्ने पिरलो पनि त छ ।
इटहरीका एमाओवादी र काँग्रेस लगायतका दलका प्रतिनिधिहरुले घटनाको छानविन गरीनुपर्ने तथा आगामी दिनमा यस्ता आक्रमण नियन्त्रण गर्न प्रशासन सक्रिय हुनुपर्ने बताएका छन् । ओठे प्रतिक्रिया यस्तो भएपनि इटहरीका चिया पसलमा हुने गफहरुमा भने अन्य दलले खुच्चिङ भन्ने गरेका छन् ।
पार्टीकै कमजोरी


पार्टी प्रवेश गर्नेहरुको लाइनमा बसेका खनालतिर सुरुमा कसैले ध्यान नै दिएन । उनको नाम कार्यक्रममा उच्चारण गरियो वा गरिएन भन्ने विषयमा पनि कसैलाई हेक्का छैन ।
एउटा जिम्मेवार राजनीतिक दलको पार्टी प्रवेश कार्यक्रममा सहभागिहरुबाटै दलका अध्यक्ष भरिएको मञ्चमा कुटिनुमा पार्टीकै कमजोरी छ । आफ्नो पार्टीमा को प्रवेश गर्दैछ, त्यसले कस्तो असर पार्छ, पार्टीका कार्यकर्ताहरुको मनस्थिती कस्तो छ भन्ने नबुझि एकोहोरो पार्टी सुदृढिकरण 25;ो नाममा चिन्दै नचिनेका व्यक्तिलाई नामका आधारमा पार्टी प्रवेशको घोषणा गर्नु कत्तिको ठिक हो ?
त्यसमा पनि त्यो समयमा मञ्चको सुरक्षामा पार्टीकै कार्यकर्ताहरु सक्रिय थिए । यस अर्थमा प्रशासनको भन्दा पनि पार्टीकै कमजोरी देखिन्छ ।
व्यक्ति एक : चर्चा अनेक
सुनसरीको भरौलमा सामान्य खेती किसानी गरेर बसेका रेग्मी रातारात चर्चित भए । उनको विषयलाई लिएर सकारात्मक तथा नकारात्मक दुवै टिप्पणीहरु भइरहेका छन् ।
पार्टीभित्र व्यापक गुटबन्दी भइरहेको समयमा थप्पड काण्ड चर्चामा आएपछि एमाले भित्र र बाहिरको राजनीतिक सरगर्मी बढेको छ । एमाओवादीलाई लिएर अघि बढ्नुपर्ने विचार राख्ने झलनाथ पक्ष र काँग्रेससँग सहकार्य गर्नुपर्ने विचार राख्दै आएका माधवकुमार नेपाल र केपी ओली बिचको अन्तर्संघर्षको प्रतिफलको रुपमा यो घटना भएको भन्ने मानिसहरु एकातर्फ छन् । अर्का तर्फ भने यो पार्टीगत रिसइबीका कारण माओवादीको निर्देशनमा रेग्मीले झापड हानेको हल्ला चलेको छ । तर रेग्मीले भने स्वविवेकले झापड हानेको बताउँदै आएका छन् ।
खनालको भन्दा रेग्मीको पल्ला भारी
राजनीतिक विवाद र नेताहरु बिचको झगडाका कारण झापड हानेको प्रतिक्रिया दिएका रेग्मी रातारात चर्चित भए । उनको पक्षमा अनलाइन सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन साइटहरुमा विभिन्न व्यक्तिहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
विभिन्न न्युज साइट, फेसबुकहरुमा प्राप्त प्रतिक्रियामार्फत् अधिकांशले रेग्मीको साहसिक कदमको प्रशंसा गर्दै नेपालका सबै नेताहरुलाई झापड हान्नुपर्ने विचार व्यक्त गरेका छन् ।
तर अराजकताको नमुना भएको भन्दै यस्ता घटनालाई निरुत्साहित गर्नुपर्ने केहीको भनाई छ ।
जे होस्, राजनीतिक झमेलाका कारण नेपाली जनताहरु वाक्क दिक्क भइसकेका छन् भन्ने पुष्टि यो काण्डले गरेको छ । नेपालका नेताहरुलाई बेलैमा सद्बुद्धि आओस् ।

घटनाको विरोधको रुप
७ गते / एमालेसम्बद्ध अनेरास्ववियु प्रारम्भिक एकाइ कमिटि जनता बहुमुखी क्याम्पसले शुक्रबार विहान आधा घण्टाको लागि इटहरी चौक ठप्प पारी नारा जुलुस लगायो । जुलुसमा सहभागिहरुले एमाले जिन्दावाद, माओवादी मुर्दावाद् भन्दै नारा लगाएका थिए ।
सो अघि कमिटिले जनता बहुमुखी क्याम्पसदेखि इटहरी चौकसम्म जुलुस समेत प्रदर्शन गरेको थियो । जुलुसले सुरक्षा दिन नसकेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्यामल सुब्बाको समेत राजिनामा माग गरेको थियो ।
शुक्रबार साँझ नै एमाले सम्बद्ध प्रजातन्त्रिक राष्ट्रिय युवा संघले पनि रेग्मीलाई चाडो कारबाही हुनुपर्ने माग राख्दै राँके जुलुस प्रदर्शन गरेको छ ।

रेग्मी विरुद्ध मुद्धा दायर
रेग्मीविरुद्ध शुक्रबार सार्वजनिक ऐन अन्तर्गत मुद्धा दर्ता भएको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेर एमालेका सुनसरी कार्यालय सचीव ग 79;विन्द कार्कीले मुद्धा दर्ता गराएका हुन् ।
एमाले जिल्ला कमिटिको तर्फबाट कार्कीले मुद्धा दर्ता गराएका हुन् । मुद्धा दर्ता गराएपछि प्रहरीले कानुनी प्रक्रिया सुरु गर्ने जनाएको छ । सार्वजनिक ऐन अन्तर्गत मुद्धा दर्ता गरेपछि रेग्मीमाथि दुई वर्ष कैद वा नगद २८ हजार जरिवाना हुनसक्ने नियम रहेको सुनसरी प्रहरी प्रमुख  भुपाल भण्डारीले जानकारी दिए ।

थप्पडबारे दलका बैठकमा चर्चा
माघ ८ - खनालमाथि भएको आक्रमणले देशका ठूला नेताहरु पनि झस्केछन् । नेताहरूले घटनाको आपत्ति जनाउँदै यो सबैमाथिको प्रहार भएको बताएका छन् । शुक्रबार भएका तीन दल र २८ दलका विषयमा खनाललाई बिहीबार इटहरीमा थप्पड हानेको विषयबारे चर्चा भएको थियो । दुवै बैठकले घटनाको निन्दा गर्दै नेताहरूको सुरक्षाप्रति चासो जनाएका छन् ।
'यो हामी सबैमाथिको आक्रमण हो,' कांगेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, 'घटना आपत्तिजनक छ ।' एमाले नेता केपी ओलीले पनि खनालप्रति भएको घटना निन्दनीय भएको बताए । 'राजनीतिक दलप्रतिको आक्रोशभन्दा पनि यो राजनीतिक संस्कारविपरीत हो, कसैलाई पनि भौतिक आक्रमण गर्न पाइँदैन,' ओलीले भने, 'यसप्रति म निन्दा गर्छु ।' २८ दलको बैठकमा अन्य दलका नेताले जिज्ञासा राखेपछि खनालले घटना विवरण सुनाएका थिए । त्यसपछि अन्य दलका नेताहरूले सुरक्षाबारे सरकार संवेदनशील हुनुपर्ने बताएका थिए ।

'धरौटी तिर्ने चिन्ता छ ।'
Devi's Home
एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हानेर चर्चा पाएका सुनसरी भरौलका देवीप्रसाद रेग्मीको परिवारले रिहाइको माग गरेको छ ।
देवीलाई प्रहरीले पक्राउ गरेपछि उनको परिवारका सदस्यहरुमा सोक छाएको छ । रेग्मीले एमाले अधयक्ष खनाललाई झापड हानेपछि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर गरिएको छ र उनी हाल प्रहरीको नियन्त्रणमा छन् । दयनीय आर्थिक अवस्थाका रेग्मी भने कानुनी प्रक्रिया अन्तर्गत अझै १५ दिन थुनामा रहने निश्चित भइसकेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीले १५ दिन थुनाामा राख्ने आदेश दिइसकेका छन् । अब उनलाई प्रमुख जिल्ला अधिकारीले सादा तारिखमा छाड्ने वा बढीमा २८ हजार रुपैयासम्म धरौटी लिन अधिकार हुनेछ । तर, रेग्मी धरौटी तिर्न सक्ने अबवस्था छैन् ।


आमाको प्रतिक्रिया : 'जे गर्‍यो ठिकै गर्‍यो’


Devi's Mother
देवीकी आमा ७५ वर्षिया तिलकुमारी रेग्मी अहिले रोएर दिन बिताउने गरेका छन् । एउटा छोरा सात बर्ष अघि सोलु हत्या भएको र जेठो छोरा १६ बर्षकै उमेरमा मरेको पीडा रहदा रहदै बुढेसकालको माइलो छोरा देवीलाई प्रहरीले नियन्त्रणमा लिएकोमा उनी शोकमा छिन् । देवीलाई प्रहरीले पक्राउ गरेदेखि उनको आँखामा आँशु ओभाएको छैन । उनले रुँदै भनिन्, ‘तर पनि छोराले जे गर्‍यो ठिकै गर्‍यो ।’


श्रीमतीको प्रतिक्रियाः श्रीमानप्रति गर्व छ
Devi's wife
यता देवीकी श्रीमती शोभा रेग्मीले पनि लोग्नेले देश विग्राने नेतालाई झापड हान्दा गर्व पनि लागेको बताइन् ।
गाउँलेले पनि रेग्मीका लागि धरौटी राख्ने पैसा संकलन गर्ने अभियानमा लागेका छन् । स्थानीय राजु बस्नेतले भने, देवी दाई गाउँ समाजको एकदमै राम्रो मान्छे भएको त्यसमा पनि एमालेको पूर्व कार्यकर्ता भएकाले गर्दा छाड्नका लागि पनि पार्टीले गम्भीर रुपमा लिइनु पर्छ ।’ रेग्मीलाई छाड्ने बिषयमा एमालेले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन् । सार्वदलीय वैठक नै बहिरस्कार गर्दै हिड्छ ।
प्रशासनको समितिप्रति असहमत
नेकपा एमाले नगर कमिटिले प्रशासनले गठन गरेको छानविन समितिप्रति असहमती प्रकट गरेको छ ।
देशकै ठूलो दलको प्रमुख नेतामाथि भएको दुव्र्यवहारको घटनाको विषयमा छानविन गर्नको लागि उपल्लो तहको छानविन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।
प्रशासनले हिजो (शुक्रबार) कोशी अञ्चल प्हरी प्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेकोथियो ।

रेग्मीको विषयमा एमालेभित्रै मतभेद
घटनाको बारेमा छानविन गर्न समिति गठन भएलगत्तै रेग्मीको पार्टीगत संलग्नतासम्बन्धि एमाले नेता तथा कार्यकर्ताहरुबीच नै कुरा बाझिएको छ ।
रेग्मी एमालेसम्बद्ध भएको उनको गाउँ भरौल गाविसका स्थानिय एमाले नेताहरुले जनाएतापनि एमालेको जिल्ला कमिटि तथा इटहरीको नगर समितिले भने रेग्मीको नाम आफ्नो कुनैपनि संगठनमा दर्ता नभएको जनाएको छ । एमाले सुनसरी प्रचार विभाग प्रमुख लक्ष्मी गौतमले रेग्मी एमालेको कार्यकर्ता भनी सञ्चार माध्यमले गरेको प्रचारप्रति असन्तुष्टि जनाउँदै रेग्मी शुभचिन्तक सम्म हुनसक्ने जनाइन् तर एमाले नगर कमिटिले जारी गरेको विज्ञप्तीमा रेग्मी एमालेको शुभचिन्तक समेत नभएको भनी किटान गरेर लेखिएको छ ।
यस्तै एमाले सुनसरी सचीव रेवती भण्डारीले एमाले भित्रकै केही व्यक्तिहरुको उक्सावटको कारण घटना भएको खुलासा भएको जनाएका छन् भने इटहरी अध्यक्ष याम सुब्बाले भने अन्य पार्टीले रेग्मीलाई उक्साएको प्रारम्भिक अनुसन्धानबाट देखिएको दावी गरेका छन् ।
रेग्मी एमालेको पूर्व कार्यकर्ता समेत नरहेको एमाले नेताहरुले दावी गरेतापनि मदन भण्डारी तथा मनमोहन भट्टराईको मृत्युको समयमा किसानको भेषमै गरिरहेको काम छाडेर रेग्मी काठमाडौ पुगेका उनका समकक्षीहरुले बताएका छन् ।
आफ्नै दलका कार्यकर्तालाई कार्यकर्ता भन्न हिच्किचाएको भन्दै एमाले नेताहरुको आलोचना समेत गरेका छन्।

झापड हान्ने रेग्मी धरौटीमा छुटे

११ माघ / एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेपछि चर्चामा आएका देवीप्रसाद रेग्मी सोमबार रिहा भएका छन् । तर उनले माफि मागेको व्यहोराको विज्ञप्ती बारे मत बाझिएको छ ।
एक हजार रुपैयाँ धरौटी लिई एक महिनाको तारेखमा उनलाई सुनसरी जिल्ला प्रशासन कार्यालयले छाडेको हो । रेग्मीले आत्मालोचना गरेपछि स्वविवेक प्रयोग गरी रेग्मीलाई रिहा गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए । थपलियाले आफूलाई कुनै पनि राजनीतिक दलबाट दवाब भने नआएको बताए । ‘घटनाको प्रकृति, हालको अवस्था र सबै परिस्थिति विचार गरेर मैले निर्णय गरेको हुँ,’ थपलियाले भने । 

 

विज्ञप्ती??? 

रेग्मी छुटेसँगै रेग्मीले माफी मागेको व्यहोराको विज्ञप्ति सार्वजनिक भएको छ । अज्ञानताबश आफूबाट भूल भएको भन्दै क्षमा याचना गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँजस्तो राष्ट्रिय व्यक्तित्व, श्रद्धेय नेता, जसले सहमतिको कुरा उठाउँदै आउनुभएको छ, उहाँप्रति अज्ञानताबश गरेको कुकार्यप्रति पश्चातापमा परेको छु । उहाँजस्तो महान् नेताले मजस्तो साधारण कृषकले गरेको भूलप्रति क्षमा गर्नुहुनेछ भन्ने आशाका साथ यो विज्ञप्तिमार्फत् सार्वजनिकरुपमा माफी माग्न चाहन्छु ।’

 थपलियाले आफूलाई विज्ञप्तिबारे केही थाहा नभएको बताए । उनले सोमबार एमालेका कुनै पनि नेताहरुसँग भेट नै नभएको पनि बताए ।
उता खनालले पनि माफि दिएको व्यहोराको विज्ञप्ती सावर्वजनिक भएको छ । खनालले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरी–प्रशासनलाई पनि रेग्मीका गल्तीê6;्रति माफी दिन आग्रह गरेका छन् । सार्वजनिक कार्यक्रममा थप्पड खाएयता खनालले यसबारे कुनै टिप्पणी गरेका थिएनन् ।
विज्ञप्तिमा माघ ६ गते इटहरीमा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्न आयोजित समारोहमा आफ्नो हातबाट टीका ग्रहण गरिसकेपछि रेग्मीबाट भएको अभद्र व्यवहारबाट आफू आश्चर्यचकित र दुःखी भएको उल्लेख छ । आफू देश, जनता र देवीप्रसाद रेग्मीजस्ता किसान जनताकै निम्ति जीवनभर संघर्ष गर्दै आइरहेको हुनाले सो घटनाबारे त्यसै सभामा बोल्दा पनि कुनै टीकाटिप्पणी गर्न नचाहेको खनालको विज्ञप्तिमा उल्लेख छ । ‘म उहाँको बुद्धि सही दिशामा फर्कनेछ भन्ने आशा र अपेक्षामा थिएँ, नभन्दै आज उहाँको हस्ताक्षरसहितको प्रेस विज्ञप्ति मेरो हातमा आएको छ ।’ खनालले विज्ञप्तिमा भनेका छन् । रेग्मीलाई क्षमा दिनु उचित ठानेर व्यक्तिगत र पार्टी पंक्तिकै तर्फबाट उनलाई क्षमा गरेको विज्ञप्तिमा उल्लेख छ । 
गत बिहीबार अध्यक्ष खनाललाई इटहरीमा आयोजित कार्यक्रममा मञ्चमै पुगेर झापड हानेपछि चर्चामा आएका रेग्मीको समर्थनमा देश तथा विदेशमा विभिन्न सहयोग समिति बनेका थिए । एमालेले भने रेग्मीलाई कडा कारवाही गर्न माग गर्दै आएको थियो । रेग्मी घर पुगेपछि सोमबार उनलाई भव्य स्वागत गरिएको थियो । उनलाई फूलमाला लगाएर कालाबन्जार घुमाइएको थियो । उदाहरणीय कार्य गरी गाउँको इज्जत राखेकाले उनलाई सम्मान गरिएको स्थानीय बासिन्दाले बताए ।
यता दुई तर्फी विज्ञप्तीहरु सार्वजनिक भइरहँदा रेग्मीले भने आफूले कसैसँग माफी नमागेको जनाएका छन् । बेलुका घर पुगेका रेग्मीले गाउँलेलाई प्रतिक्रिया दिँदै आफूले माफी नमागेको जनाए । ‘कसरी त्यस्तो कुरा आयो,
मलाई थाहा छैन,’ उनले गाउँलेलाई भने । 

यता सुनसरी प्रमुख थपलियाले पनि आफूलाई कुनै राजनीतिक दलबाट दवाब नआएको बताए । ‘घटनाको प्रकृति, हालको अवस्था र सबै परिस्थिति विचार गरेर मैले निर्णय गरेको हुँ,’ थपलियाले भने । थपलियाले आफूलाई विज्ञप्तिबारे केही थाहा नभएको बताए । उनले सोमबार एमालेका कुनै पनि नेताहरुसँग भेट नै नभएको पनि बताए ।

 

११ माघ/ अनुमान सही ठहरियो । रेग्मीले विज्ञप्ती निकालेका होइन रहेछन् । (हेर्नुहोस् भिडियो) रेग्मीले आफूलाई कागजमा सही गराइएतापनि कागजमा के लेखिएको थिये भन्ने बारेमा भने केही थाहा नभएको बताए । ‘मलाई कागज पढ्न दिइएन ’ उनले भने, ‘मैले त सही गर्नुपर्ने होला भनेर गरेँ । माफी मागिएको पत्र हो भन्ने थाहै भएन ।’ 

 

 



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :