महिला नेतृत्वका अधिकांश सहकारी नाफामा
Posted by
purwanews
Published on
Tuesday, October 19, 2010
पाँच वर्षअघि सम्म पनि सुनसरीका गाउँहरुमा बचतका नाममा एक पैसा पनि जम्मा गर्नें बानी थिएन । जसको कारण घरको गर्जौ टार्नै देखि लिएर छोरा–छोरीले बिद्यालय जाने बेलामा पैसा माग्दा समेत दिन सक्ने क्षमताका थिए ।
तर आज त्यो अवस्था छैन । महिलाहरु पछिल्लो समयमा आएर बचत गर्नै देखि लिएर आफै सहकारी दर्ता गरि सञ्चालन गर्नै अभियानमा कम्मर नै कसेर लागि परेका छन् ।
पछिल्लो समयमा सुनसरी जिल्लाका इटहरी, इनरुवा तथा हाँसपोसा गाविसमा रहेका महिलाहरु सहकारी संस्था नै स्थापना गरेर राम्रो मुनाफा गर्न थालेका हुन् । बितेको दुई वर्षको अवधिमा सुनसरीका विभिन्न ठाउँमा गरी दुई दर्जन बढि सहकारी तथा सयौको सँख्यामा बचत संस्थाहरुले छोटो समयमा नै रामे्रा मुनाफा आर्जन गर्न सफल भएका छन ।
इटहरी– २ शान्तिनगरकी मिठु कार्कीलाई अहिले हाइ सञ्चो छ । केहि समय अघिसम्म आफ्नो घरको दैनिक गर्जो टार्न समस्या हुने गरेको उनलाई सहकारीमा बचत गर्न थालेपछि पैसाको कुनै चिन्ता छैन ।
उनले आफ्नो शान्तिनगर नारी बचत तथा ऋण सहकारी संस्थाबाट लिएको २० हजार रुपैयाबाट कुखुरा पालन सुरु गरेकी उनलाइ अहिले पैसाको खासै समस्या नहुने गरेको बताउँछिन् ।
इटहरी–२ शान्तिनगरमा महिलाले लगानी गरेर स्थापना गरेको संवृृद्धि वचत तथा ऋण सहकारी संस्थाले १७ महिनाको अवधीमा नै करिब सात लाख रुपैया मुनाफा आर्जन गरेको छ ।
‘सहकारी सम्बन्धि खासै जानकारी नभएका कारण स्थापना गरेको केहि समय निकै झण्झट बेर्होनु प¥यो र केहि महिना घाटा पनि खाइयो ।’ –संस्थाकी व्यवस्थापक गायत्री आलेले भनिन्, ‘अहिले निकै राम्रो छ ।’
शत् प्रतिशत महिलाहरुले थोरै–थोरै रकम सङ्कलन गरेर स्थापना गरेको शान्तिनगर नारी बचत तथा ऋण सहकारी संस्थाले पनि डेढ वर्षको अवधिमा करिब ७० हजार रुपैया खुद मुनाफा गरेको जनाएको छ । यस सहकारीको सञ्चालक समितिदेखि लिएर पैसा सङ्कलन गर्ने सम्मका काममा महिला सक्रियता छ ।
३३ जना महिलाहरु सङ्गठित भएर स्थापना गरेको नारी बचमा अहिले १ सय ४८ जना महिलाहरु सेयर सदस्य रहेका छन् ।
‘गाउँ–गाउँमा सहकारी छन् सोहि भएकाले पनि भने जत्तिको उन्नती गर्न सकेका छैनौं ।’ सो संस्थाकी अध्यक्ष गङ्गाकुमारी गुरुङले बताइन् । गरिब तथा कम आयस्रोत भएका महिलालाई समेत ऋण प्रवाह गर्न स्थापित सो सहकारीले हालसम्म १२ लाख १९ हजार ७ सय ६३ रुपैया निक्षेप सङकलन गरिसकेको छ भने ५ लाख ६७ हजार ९ सय ८० रुपैया निक्षेप फिर्ता गरिसकेको छ ।
यता सुनसरीको हाँसपोसा २ तरहरामा स्थापना भएको महिला शसक्तिकरण समुहले पनि ग्रामिण क्षेत्रका महिलालाई लक्षित गरेको स्थापना गरेको एक दर्जन बढी बचत संस्थाबाट पनि सयांै महिलाहरुले आफनो जीवनस्तर सुधार्र्दै गएको शसक्तिकरण समुहकी अध्यक्ष राधा घिमिरेले बताएकी छिन ।
गरिब तथा विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर स्थापना भएको सो समुहले बचतका साथ–साथै महिलाकै लागि विभिन्न आयमुलक तथा व्यवसायमुलक कामहरु गर्र्दै आएको छ ।
‘सुरु–सुरुमा महिलाहरुलाइ बचत गर्नै बानी बसाउनका लागि पनि धेरै गाह्रो प¥यो ।’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर अहिले आफूसँग भएको अलिकति पैसा पनि बचत समुहमा राख्ने गरेका छौं ।’ हाँसपोसा गाविसका नौ वटै वडाहरुमा तीन सय बढी महिलाहरु महिला शसक्तिकरण समुहको पूर्ण रुपमा १९ ओटा उपसमुह स्थापना गरीै बचत गर्न लागि परेको उनले बताइन् ।
एकजना पुरुष व्यक्ति शिक्षित भए ऊ मात्र सक्षम हुन्छ, तर एक जना महिला शिक्षित भए, ऊ लगायत उसको परिवार तथा समाज नै शिक्षित हुन्छ भन्ने नेपालीमा उखान नै छ । आर्थिक विकासको लागि महिलाहरुले गरेको प्रयासलाई राज्यले प्रोत्साहन गर्नु जरुरी छ ।
पवन अधिकारी
प्रतिक्रिया दिनुहोस् >>